News 24 Television
डोटी छाडेर आएका प्रेम आलेलाई नयाँको डर कि पुरानाको ?

कैलाली । सुदूरपश्चिमको राजधानी रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ चर्चाको क्षेत्रका रुपमा रहेको छ । ७९ को निर्वाचनमा एकीकृत समाजवादीबाट डोटीमा निर्वाचित प्रेमबहादुर आले उम्मेदवार रहेका कारण पनि यो क्षेत्र चर्चामा छ । 

आले नेकपाबाट उम्मेदवार छन् । आलेको प्रतिष्पर्धामा मुख्य दुई ठूला दल कांग्रेस र एमालेका उम्मेदवार नै मुख्य प्रतिष्पर्धी मानिएको छ । १५ जना उम्मेदवार मैदानमा रहेको यो क्षेत्रमा तीन ठूला पार्टीका उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ । 

कैलाली–५ मा काँग्रेसका नरनारायण शाह, नेकपा एमालेका यज्ञराज ढुङ्गाना उपाध्याय, नेपाली कम्युनिष्ट पार्टीका प्रेमबहादुर आले चुनावी प्रतिष्पर्धामा छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबहादुर चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाही, नेकपा माओवादीका बबरजंग बहादुर सिंह, उज्यालो नेपाल पार्टीका चन्द्र साउँद चुनावी मैदानमा छन् । 

यस्तै, नागरिक उन्मुक्ति पार्टीका जगन्नाथ चौधरी, नेपाल मजदुर किसान पार्टीका तृष्णा पुन मगर, आमजनता पार्टीका देवसिंह विष्ट, जनमत पार्टीका धनबहादुर चौधरी, मितेरी पार्टीका राधिका कुमारी कार्की, राष्ट्रिय जनमोर्चाका शोभामणी जोशी तथा प्यारेलाल राना र इश्वरी विष्टले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

चुनावी प्रतिष्पधामा रहेका प्रमुख ३ दलकै उम्मेदवारहरुले घरदैलो अभियान शुरु गरिसकेका छन् । जनताको हित तथा यस क्षेत्रको दीगो विकास प्राथमिकता रहेको बताउदै आएका तीनै जना उम्मेदवारले जित्ने दाबी गरिहेका छन् । 

नयाँ उम्मेदवारको चुनौती

एक मात्र उपमहानगरपालिका रहेको यो क्षेत्रमा प्रमुख ३ दलका उम्मेदवारहरुबीच नै प्रष्पिर्धा हुने दाबी गरिए पनि उनीहरुका लागि नयाँ दलका उम्मेदवार चुनौतिका रुपमा खडा भएका छन् ।  

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डाक्टर आनन्दबहादुर चन्द चुनावी प्रतिष्पर्धामा छन् । उनले पनि चुनावी प्रचार स्वरुप घरदैलो कार्यक्रम गरिरहेका छन् । खासगरी पुराना दलका उम्मेदवारहरुको आलोचना गरेर नै नयाँ उम्मेदवारहरुले मतदाताहरु फकाइरहेका छन् । पार्टीको चुनावी घोषणापत्र आइनसके पनि उम्मेदवारहरु आ–आफ्नो एजेण्डा बाकेर घरदैलो गरिरहेका छन् । 

२०७४ सालको निर्वाचनमा आरजु राणा देउवा यहि क्षेत्रमा एमालेका नारदमुनी रानासँग झण्डै ५ हजार मतान्तरले पराजित भएकी थिइन् । तर ७९ को निर्वाचनमा भने आरजुको सट्टाका कांग्रेसका डिल्लीराज पन्त प्रतिष्पर्धामा थिए ।

७४ को निर्वाचनमा विजयी भएका एमालेका नारदमुनीलाई डिल्लीराजले झिनो मतान्तरले हराएका थिए । तर स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपी हमालले जितेको कारण पनि यो क्षेत्रमा नयाँ दल तथा स्वतन्त्र उम्मेदवारको पनि उत्तिकै चर्चा छ । तर कसले बाजी मार्छ भन्ने कुरा फागुन २१ को नतिजा पर्खिनुपर्नेछ । 

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update