सर्लाही । आगामी प्रतिनिधि सभा निर्वाचनमा सर्लाही ३ मा उम्मेदवारहरुले शिक्षा, कृषि, रोजगार,स्वास्थ्य सुधारदेखि युवाको बेरोजगारीको समस्यालाई मुख्य एजेण्डा बनाएका छन् ।
र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार नारायणकाजी श्रेष्ठ भने मिटरब्याजको समस्या लिएर चुनावी मैदानमा छन् । कांग्रेस र एमालेबाट पनि पहाडी समुदायकै व्यक्ति उम्मेदवार बन्नु र यसअघिका माओवादीका उम्मेदवार रास्वपाबाट श्रेष्ठको प्रतिद्वन्द्वी बनेपछि सर्लाही ३ को चुनाव प्रतिस्पर्धा रोचक बन्ने देखिएको हो ।
ंप्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र न. ३ मा हरिवन, बागमती, चक्रघट्टा, हरिपुर, बरहथवा, कविलासी नगरपालिका साथै बसबरिया गाउँपालिका रहेका छन् ।
हरिवन, बागमती, चक्रघट्टाका सबै वडाहरू यो निर्वाचन क्षेत्रमा पर्दा हरिपुरको १ नम्बर वडा मात्र पर्छ । बरथहवाको ५, ६, ७, ८, ९, १०, ११, १२ र १६, १७, १८ गरी ११ वटा वडा यही क्षेत्रमा पर्छन् । कविलासी नगरपालिकाका ३, ४, ५, ६, बसबरियाका ४, ५, ६ नम्बर पनि सर्लाही ३ मा पर्छन् । क्षेत्र नम्बर ३ मा १ लाख ३४ हजार ४१२ मतदाताका लागि ७६ मतदानस्थलमा १५९ केन्द्र स्थापना गरिएको छ ।
मिटरब्याज पीडितको समस्या समाधान गर्ने वाचासहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार नारायणकाजी श्रेष्ठ गाउँबस्ती पुगिरहेका छन् । २०६४ को पहिलो संविधानसभामा मनोनीत सदस्य रहेका उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुर–३ मा एमालेका सुवासचन्द्र ठकुरीसँग पराजित हुन पुगे । २०७४ को चुनावमा श्रेष्ठ गृह जिल्ला गोरखा–२ बाट डा बाबुराम भट्टराईसँग पराजित भए ।
२०७६ मा राष्ट्रियसभा सदस्य बनेर संसद् प्रवेश गरेका श्रेष्ठले उपप्रधान तथा गृह, भौतिक पूर्वाधार र परराष्ट्र मन्त्रालय सम्हाले । जुन बेला श्रेष्ठले तत्कालीन प्रधानमन्त्री प्रचण्डसँग मिलेर भ्रष्टाचार नियन्त्रण गर्न केही महत्वपूर्ण कदम समेत चालेका थिए ।
सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा वर्षौंदेखि व्याप्त रहेको मिटरब्याजको समस्या आफूले धेरै हदसम्म समाधान गरेको बताउदै उनले आएका छन् । आफूले चुनाव जिते बाँकी रहेका समस्या समाधान गर्ने र सहुलियतपूर्ण ब्याज दरमा ऋण पाउने वित्तीय संस्था गाउँगाउँ स्थापना गर्ने प्रतिबद्धता गरेका छन् ।
संविधान सभा निर्वाचन २०७० मा यो क्षेत्रमा हरि उप्रेतीले एमालेबाट चुनाव जितेका थिए । २०७४ को निर्वाचनमा माओवादीका रामेश्वर राय यादव निर्वाचित भएका थिए भने प्रतिनिधिसभा निर्वाचन २०७९ मा सर्लाही–३ बाट एमालेकै हरि उप्रेती विजयी भएका थिए ।
त्यो प्रतिनिधि सभाले पूर्ण कार्यकाल काम गर्न नसके पनि उप्रेती भने त्यस्ता भाग्यमानी सांसद हुन् जो दुई कार्यकाल मन्त्री हुन पाए ।
यिनै उप्रेतीले यसपाली पनि सर्लाही क्षेत्र नम्बर ३ मा उमेदवार छन् । गत निर्वाचनमा कांग्रेस, माओवादी, लोसपाको गठबन्धनलाई पराजित गरेका तत्कालीन एमाले–जसपा गठबन्धनका उम्मेदवार उप्रेती अहिले पनि जित्ने दाबी गर्छन् । सबै दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा रहेको भन्दै उप्रेतीले आफ्नो जित निश्चित भएको दाबी गरे ।
यस्तै २०७९ मा सर्लाही ३ मा माओवादीबाट उम्मेदवार बनेका नरेन्द्र साह रास्वपाबाट उम्मेदवार बनेपछि श्रेष्ठ दबाबमा देखिन्छन् ।
माओवादीको मताधार भएको सर्लाही ३ आइपुगेका श्रेष्ठलाई अहिले पूर्वकार्यकर्ता नरेन्द्र नै टाउको दुखाइ बनेको देखिन्छ । अहिले रास्वपाका नरेन्द्र साह २०७० सालमा स्वतन्त्रबाट संविधानसभामा मनोनीत भएका थिए र २०७४ र २०७९ सालमा भने पराजित भएका थिए ।
रास्वपाले मधेसी समुदायका बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएपछि मधेस तरंगित छ । युवा पंक्ति रास्वपाप्रति आकर्षित देखिँदा पुराना र मधेसवादी दलका उम्मेदवार दबाबमा देखिन्छन् । रास्वपा उम्मेदवार नरेन्द्र साह जनताको समस्या, सपना र भविष्यको नारा दिएर चुनावी मैदानमा छन् ।
यता कांग्रेस उम्मेदवार विनोद खनाल पनि चुनाव जित्नेमा आफू ढुक्क रहेको बताउँछन् । सर्लाही ४ मा सभापति गगन थापा उम्मेदवार बनेकाले ३ नम्बरमा त्यसको प्रभाव देखिने उनको बुझाइ छ । सभापति थापा मधेस झरेपछि कांग्रेसको पक्षमा जबर्जस्त माहोल बनेको भन्दै सर्लाहीका चारै जना उम्मेदवार विजयी हुने खनालले दाबी गरे ।
सर्लाही ३ मा २०७९ को निर्वाचनमा एमालेका हरिप्रसाद उप्रेती ३२ हजार ९३८ मत ल्याई विजयी भएका थिए भने तत्कालीन माओवादी केन्द्रका नरेन्द्र साह ३२ हजार १६८ मत ल्याएर दोस्रो भएका थिए ।
२०७९ मा समानुपातिकतर्फ माओवादीले १५ हजार ४ सय ७१, एमालेले १५ हजार ६, जसपाले १२ हजार ७९, कांग्रेसले ९ हजार ९ सय ७९, रास्वपाले ६ हजार ९ सय ६२, जनमतको ६ हजार १ सय ३१, तत्कालीन एकीकृत समाजवादीले २ हजार ६ सय ५५ मत ल्याएका थिए ।
नेकपासँग विगतको समानुपातिक मत १८ हजार १२६ देखिए पनि श्रेष्ठ, उप्रेती र खनाललाई रास्वपा उम्मेदवार साहको व्यक्तिगत र बालेनको प्रभाव रोक्न भने त्यति सजिलोे छैन । श्रेष्ठले सर्लाही ३ मा आफ्नो पक्षमा अझै माहोल बढाउन सक्छन् या सक्दैनन्, निर्वाचनको नतिजा त्यसैले तय गर्ने देखिन्छ ।
