काठमाडौं । फागुन २१ गतेका लागि तय निर्वाचनका लागि अझै ३० दिन बाँकी छ । निर्वाचन आयोग र सरकारले निर्वाचनको सबै तयारी सकिएको भन्दै समयमा नै निर्वाचन हुने बताइरहेको छ । तर, अहिले ठुला दलका नेताहरुले भने तोकिएकै समयमा निर्वाचन हुने बिषयमा अझै शंका रहेको बताउँदै आएका छन् । यस्तो स्थितिमा चुनाव तोकिएको समयमै सम्पन्न होला ? जनतामा संसय देखिन्छ ।
फागुन २१ गतेका लागि तय निर्वाचन सम्पन्न हुन अब ३० दिन मात्रै बाँकी छ । ३० दिन भित्र निर्वाचनमार्फत संसद पुर्नस्थापना गर्ने तयारी सरकार र निर्वाचन आयोगको छ । तर पछिल्लो केही दिन याता ठुला दलका नेताहरुले नै समयमा निर्वाचन हुन नसक्ने अभिव्यक्ति दिएपछि जनतामाझ निर्वाचनको विषयलाई लिएर शंकाहरु उत्पन्न भएका छन् ।
केही दिन अगाडी एमाले अध्यक्ष केपी ओलीले निर्वाचन समयमै हुन नसक्ने दाबी गरेका थिए । उनले अदालतमा विचाराधिन रहेको संसद विघटन सम्बन्धि मुद्धाको चाँडै फैसला हुनु पर्ने समेत बताएका थिए ।
त्यसैगरी नेपाली कांग्रेस उपसभापति पुष्पा भुषाले पनि सरकार र निर्वाचन आयोगले निर्वाचनको वातावरण तयार पार्नु भन्दै चुनावका लागि वातावरण बन्न नसकेको संकेत गरिहरेकी छन् ।
दलहरुले निर्वाचनको वातारण बनाउनु पर्ने बताई रहदाँ सरकारले भने निर्वाचनको वातावरण बनाउने काम गरिरहेको दाबी गरिरहेको छ ।
चुनावमा दलहरुले शंका गरिरहेको बेला सरकारले पनि दुई चरणको चुनावको सम्भावना भन्दै चुनाव तोकिएको समयमै हुनेमा शंका बढाउने काम गरिरहेको छ ।
निर्वाचनको विषयलाई लिएर शंकाहरु उत्पन्न भै रहेको अवस्थामा निर्वाचन आयोगले भने निर्वाचनकालागि आयोगकोतर्फबाट गर्ने सबै काम धमाधम गरिरहेको जनाएको छ । मतदाता शिक्षाका लागि ५ लाख समानुपातिक र ५ लाख प्रत्यक्ष तर्फको मतपत्र छपाई गरेर जिल्ला जिल्लामा पु¥याई सकिएको छ भने एक सय वटा निर्वाचन क्षेत्रमा आवश्यक पर्ने मतपत्र छपाई गरीसकेको र बाँकी छपाईको काम धमाधम भै रहेको जनाएको छ ।
मतपत्र छपाई सकेर फागुन पहिलो साता भित्र नै जिल्ला जिल्लामा मतपत्र पठाउने तयारी निर्वाचन आयोगको रहेको छ । फागुन २१ का लागि तोकिएको चुनाव मौसम लगायतका कारण देखाएर सार्न खोजिदै गर्दा यसको भूराजनीतिक प्रभावदेखि दलहरुले चाहेको जस्तो परिणामका निम्ति समेत चलखेल हुने खतरा भने उत्तिकै देखिन्छ ।
