News 24 Television
पुराना दल किन तालमेल गर्न खोज्दैछन ? जोखिम बढाउने शक्ति को ?

काठमाडौं । चुनाव संघारमै रहेको बेला पुराना दलहरु अघोषित तालमेलको प्रयासमा जुटेका छन् । एक्लाएक्लै चुनावमा होमिएका दलहरु शीर्ष नेताहरुले नै चुनावमा सकारात्मक परिणाम आउने स्थिति बन्दैन कि भन्नेमा त्रसित देखिन्छन् । जसकारण सहकार्यका प्रस्तावहरु आन्तरिक रुपमा चलिरहेका छन् । 

मुलुक निर्वाचनको संघारमा छ । निर्वाचन सम्मुखमै आएको बेला राजनीतिक दलका शीर्ष नेताहरु चुनावी सहकार्यदेखि एकतासम्मका विषयमा बहसमा देखिन्छन् । जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक परिस्थितिलाई केन्द्रमा राख्दै नेताहरुले जित्दै आएका क्षेत्रमा समेत खतरा देखिन थालेपछि सहकार्यका अनेक मोडालिटीमा तयारी चलिरहेका छन् । जसमा शीर्ष नेताहरु कसले कहाँ यस्ता प्रयास गरे त ?

१. केपी ओली

एमाले अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी ओलीले झापा ५ मा चुनावी तालमेलको प्रयास गरिरहेका छन् । अघिल्लो पटक समेत राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ लिएर चुनावमा होमिएका ओली यो पटक पनि जित निकाल्ने दाउमा छन् । काठमाडौं महानगरपालिकाका पुर्वमेयर तथा रास्वपा वरिष्ठ नेता बालेन्द्र साह ’बालेन’ले ओलीलाई चुनौती दिएपछि ओलीले यस्तो तयारी अघि बढाएका हुन् । 

जसमा ओलीले राप्रपाको साथ पाउने सम्भावना कम देखिन्छ । यसअघि राजावादी आन्दोलनदेखि राजसंस्थाको पक्षमा वकालत गर्ने राप्रपाविरुद्ध निर्मम पेश भएकाले पनि सहकार्य सहज देखिन्न । यद्यपी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको तजविजीमा राप्रपाले निर्णय लिने स्थितिमा भने लिङ्देनको चुनावी सम्भावनाले पनि काम गर्नेछ । तर, त्योभन्दा पनि ओलीले नेपाली कम्युनिस्ट पार्टीका नेताहरुसंग समेत चुनावी तालमेलको प्रस्ताव गरेको खुलेको छ । 

ओलीले चुनावी तालमेल गरेर जान प्रस्ताव गरेपनि नेकपाका उम्मेदवार रञ्जित तामाङले तयारी धेरै अघि बढाइरहेकाले सम्भावना तत्काल देखिन्न । यो विषय पछिल्लो समय चर्चामा छ ।

३. पुष्पकमल दाहाल ’प्रचण्ड’

नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड रुकुम पूर्वबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् । माओवादीको गढ मानिने रुकुम पूर्वमा एमालेले प्रगतिशिल लोकतान्त्रिक पार्टीका सन्दीप पुनलाई समर्थन गर्ने निर्णय रद्द गरेर बसेको अवस्थामा एमाले अध्यक्ष ओली र प्रचण्डबीचको रोचक सहकार्यको चर्चा चलिरहेको छ । 

प्रचण्ड अन्य उम्मेदवारको सवालमा सुरक्षित रहेको भनिएपनि कांग्रेस, एमालेसंगको भिडन्तमा प्रलोपाले नेकपाकै मत काट्ने भएकाले नेताहरु आन्तरिक परामर्शमा देखिन्छन् । रुकुम पूर्व र झापा ५ मा भन्दा पनि माधव नेपाललाई रौतहटमा सघाउने गरि समेत छलफल अघि बढ्न सक्ने दाबी चलिरहेको छ । तर, नेकपाले चुनावी गठबन्धनको समय नभएको भनिरहेको छ ।

२. गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंहसहितका नेताहरुसंग चुनावी प्रतिष्पर्धामा छन् । थापाले पनि सर्लाहीबाट आफू पराजित हुने स्थिति नबनोस भन्ने हिसाबले तालमेल गर्नसक्ने चर्चा चलिरहेको छ । 

उसोतः रुखबाहेक अन्यत्र भोट हाल्नै नपर्ने एजेण्डाले पार्टी नेतृत्वमा पुगेका थापालाई चुनावी सहकार्य सहज नभएपनि राजनीतिक परिस्थितिको विश्लेषण भन्दै यस्तो हुनसक्ने सम्भावना रहेको बताइन्छ । राष्ट्रियसभा निर्वाचनमा एमालेसंग सहकार्य गर्दै नतिजा आफ्नो पक्षमा पारेका गगनलाई यो चुनावमा सिमित स्थानमा सहकार्यको मोडालिटीमा काम गर्ने गरि प्रस्तावहरु पुगिरहेको दाबी गर्ने गरिएको छ ।

तीन शीर्ष नेताको हकमा मात्रै नभई जेनजी आन्दोलनपछि मतदाताको मनोविज्ञान, सामाजिक सञ्जालमा देखिने अनेकखाले विषयवस्तुले पनि ठूलो प्रभाव पारिररहेको छ । जसकारण पनि पुराना दलका शीर्ष नेताहरुको चुनावी परिणाम अनिश्चयतर्फ धकेलिएको देखिन्छ । यस्ता विषयका कारण पनि अनेकखाले तालमेलका प्रस्तावहरु आउनसक्ने भन्न थालिएको छ । 

किन हुँदैछ तालमेलको प्रस्ताव ?

जेनजी आन्दोलनपछि राजनीतिक परिस्थिति नै फेरिन पुगेको छ । फेरिएको राजनीतिक परिस्थितिमा हुन लागेको चुनावमा पुराना दलहरुले ठूलो चुनौतीको सामना गरिरहेका छन्। उनीहरुले भूराजनीतिक परिस्थितिदेखि सरकारमाथि नै दोषारोपण गरिरहेपनि विश्वासको वातावरण बन्न नसक्दा रक्षात्मक स्थिति बन्न पुगेको छ । 

समााजिक सञ्जालदेखि अन्य प्रविधिका क्षेत्रमा समेत भइरहेका प्रक्षेपणले पुराना दलहरु तालमेलको ढोका खोल्न बाध्य हुने अवस्था बन्दै गएको देखिन्छ । सत्ता र शक्तिबिहीनताको कल्पना गर्न नसक्ने राजनीतिक संस्कारका कारण समेत खतरा देखिन थालेको बेला यस्ता प्रस्तावहरु अघि बढेका छन् । तर, राजनीतिक तालमेलमा मतदाताको रुझान समेत खास नभएको बेला सहज र सम्भव भने देखिन्न ।

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update