News 24 Television
पूर्वमा फेरि देखियो बालेन क्रेज, जहाँ पुग्यो त्यही भीड

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा ५ नम्बर क्षेत्रका उम्मेदवार बालेन शाहको क्रेज सुनसरीमा समेत देखिएको छ । बुधबार बिहानैबाट मोरङ र सुनसरीका बिभिन्न शहरमा आइपुगेका बालेनलाई हेर्न जम्मा भएको भीडका कारण सडक नै जाम भएको थियो । बालेन मोरङको उर्लाबारी, सुनबर्सी, रंगेली, विराटनगर हुँदै सुनसरीको इटहरी हँुदै पुर्वी जिल्लाहरुको भ्रमणमा निस्किएका हुन् । 
  
बुधबार बिहानैबाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा ५ नम्बर क्षेत्रका उम्मेदवार बालेन शाह पुर्वका विभिन्न जिल्लामा मतदाता भेटघाटमा निस्किएका छन् । बालेन मोरङको उर्लाबारी, सुनबर्सी, रंगेली, विराटनगर हुँदै सुनसरीको इटहरीमा आइपु्ग्दा बालेनका समर्थक र रास्वपाका कार्यकर्ताहरु उनको स्वागतको लागि सडकमा भेला भएका थिए । 

जसको कारण पूर्व पश्चिम राजमार्ग जाम नै हुन पुगेको थियो । समर्थक र कार्यकर्ताको भिड नियन्त्रण गर्न सुरक्षा निकायलाई हम्मेहम्मे पारेको थियो । इटहरीमा आएका बालेनले सुनसरी र मोरङका बिभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारसँग भेटघाट समेत गरेका छन् । 

उनले देशव्यापी रास्वपाको माहोल राम्रो बनेको बताउदै उत्साहजनक रुपमा मतदाताहरुमाझ पुग्न र जित हासिल गर्न उम्मेदवारलाई सुझावसँगै शुभकामना पनि दिएका थिए । इटहरीको पाल्पसा होटलमा खाना खाएर बालेनले सुनसरी र मोरङका उम्मेद्धवारसँग छोटो अन्तरकृया गरेका थिए । 

अन्तरकृया पश्चात उनी इटहरी हुदै सुनसरी सदरमुकाम इनरुवा जाने कार्यक्रम तय भएपनि सडकमा समर्थक र कार्यकर्ताहरुको अत्याधिक भिडका कारण त्यता नगइए चतरा हँुदै उदयपुर जिल्लातर्फ लागेका छन् ।

सुनसरीमा बालेनलाई स्वागत र हेर्नको लागि मात्र भएपनि भेला भएको भिड झापा पछिको सबैभन्दा ठूलो हो । इटहरी मुख्य चौकदेखि पश्चिम टेप्पे स्ट्याण्डसम्मको भिड छिचोल्न बालेनको सबारीलाई एक घण्टा बढी समय लागेको थियो । बालेनलाई हेर्न र स्वागत गर्न जम्मा भएका समर्थक र कार्यकर्ताहरुले अबको भाबी प्रधानमन्त्री बालेन साह नै भएको प्रतिकृया दिए । पुराना दलका कारण देश भ्रष्टाचार र गरिबीमा डुबेको र तिनै नेताहरुलाई यो निर्वाचनले सबक सिकाउने उनीहरुको भनाई छ । 

जनता सबैभन्दा ठूलो शक्ति भएको कारण जनतालाई दुखकष्ट दिने दल र नेताहरुको अस्तित्व सकिने र नयाँ वैकल्पीक दलको उदय हुनेमा आफुहरु विश्वस्त बनेको उनिहरुको धारणा थियो ।

जिल्ला दौडमा सुनसरी आएका बालेन शाहले कतै पनि सम्बोधन गरेका छैनन् । उनी आफु चढेको गाडीबाटै आफ्ना पार्टी रास्वपाको घन्टी हल्लाएर बालेनले समर्थकहरूको स्वागत ग्रहण गर्ने गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update