काठमाडौं । नेकपा एमालेले सहकार्यको प्रयास अन्तिम समयसम्म पनि चल्ने भनिरहेको छ । चुनावी नतिजा आफ्नो पक्षमा पर्नेमात्रै नभई शीर्ष नेताहरु नै जोखिममा परेपछि एमालेले रणनीति फेर्ने प्रयास गरिरहेको छ । यस्तोमा नेपाली कम्युनिस्ट पार्टी पनि सकेसम्म निर्वाचन नतिजा आफ्नो पक्षमा पार्न अघि बढ्ने संकेत दिदै आएको छ ।
नेकपा एमालेले चुनाव हुने नहुनेमै शंका व्यक्त गरिरहेको छ । एमालेले चुनाव हुने नहुनेमा शंका व्यक्त गरिरहेको बेला एमालेले चुनावी कमाण्डर बनाएका रामबहादुर थापा ’बादल’ले सहकार्यको प्रयास फागुन २१ सम्म नै हुने बताएका छन् ।
ओलीको विश्वासपात्र बनेका नेकपाका संयोजक प्रचण्डका पूर्वसहकर्मी बादलले प्रचण्डविरुद्ध रुकुम पूर्वमा लिएको निर्णय पनि फिर्ता गराएका छन् । रुकम पूर्वमा एमालेका उम्मेदवार र पार्टीको आन्तरिक विषय भन्दै बादलले प्रगतिशिल लोकतान्त्रिक पार्टीकी दुर्गा सोबसंगको हस्ताक्षरमा प्रलोपाका उम्मेदवारलाई सघाउने निर्णय फिर्ता लिइएको भनिएको छ।
एमालेले प्रचण्डविरुद्ध उम्मेदवारी दिएका प्रलोपाका उम्मेदवारलाई किन समर्थन गरेन ? यसको कारण हो, रुकुम पूर्वबाट उम्मेदवार नै नेकपाका संयोजक प्रचण्ड हुनु ।
प्रचण्डलाई नै समर्थन नगरेको जस्तो देखिदा राजनीतिक वातावरण बिग्रिन सक्ने भन्दै एमालेले बादलको निर्णयलाई उल्ट्याएको छ । तर, ओलीले दिएको निर्देशनभन्दा केहि समय गुजारेर बादलले यो निर्णय लिएका छन् । उसोतः ओलीले एमालेका उम्मेदवार लीलामणी गौतमलाई आफ्नो निवास गुण्डुमै बोलाएर चुनावको तयारी गर्न निर्देशन नै दिएका थिए ।
ओलीले यो निर्देशन दिएको लामो समयसम्म पनि बादलले औपचारिक पत्र ढिला गरि सार्वजनिक गरेका छन् । यसको कारण हो, एमाले अध्यक्ष केपी ओली नै झापा ५ मा खतराको जोनमा पर्नु ।
ओलीमात्रै नभई एमालेका हेविवेट उम्मेदवारहरु जोखिममा परेपछि एमालेले अघोषित नै भएपनि सहकार्यको प्रयास गरिरहेको छ । यसैको छेकोमा ओलीले प्रचण्डलाई भेटि सकेका छन् ।
प्रचण्डसंग भेटेका ओलीले चुनावी सहकार्यको प्रस्ताव राखेपछि प्रचण्ड सकारात्मक बनेपनि युवा पुस्ताका नेताहरुले यसलाई स्वीकार गर्न नसक्ने अवस्था बन्ने खतरा देखिएपछि एकतासम्मको चर्चा चलेको बताइन्छ । तर, चुनावअघि यो सम्भव भने देखिन्न । उसोतः प्रचण्डले पनि संकटबाट बाहिर निस्किन एमालेलाई एकतामा आउन अपिल गर्दै आएका छन् ।
प्रचण्डले एकताको आह्वान गर्दै जाने र ओलीले नेकपाप्रति कुनैखाले टिप्पणी नगर्नुले पनि उनीहरुको सम्वाद गहिरिदै गएको प्रष्ट हुन्छ । तर, यो सम्भव होला ? प्रश्न र चासोहरु देखिन्छन् । यद्यपी संकट नजिकिदै गएकाले सहकार्यको मोडालिटीमा काम नहोला भन्न सकिने स्थिति भने छैन् ।
