News 24 Television
देउवाभन्दा राम्रो परिणाम ल्याउन नसके गगनमाथि किन लाग्न सक्छ  असक्षमको आरोप ?

काठमाडौं । कांग्रेसको आन्तरिक राजनीतिमा देखिएको बदलावपछि चुनावी प्रचारको विषयमा समेत अनेकखाले अपेक्षा गरिएका छन् । कांग्रेस सभापति बनेका गगन थापाले यो चुनावबाट कस्तो परिणाम निकाल्छन भन्ने चासो बढेको बेला चुनौती समेत थपिएको छ । तर, कांग्रेसले चुनावी तयारीलाई मधेसबाट शुरुवात गर्ने तयारी गर्दै फरकपनाको महशुस गराउने प्रयास गरिरहेको छ । नेपाली कांग्रेस फागुन २१ का लागि तय निर्वाचनलाई प्रभावकारी र नतिजामुखी कसरी बनाउने भन्नेमा केन्द्रित बनेको छ । 

चुनावि तालमेल वा गठबन्धन गर्नै नहुने जगबाट अघि बढेको कांग्रेसमा गगन थापालाई अघिल्ला परिणामभन्दा ठूलो संख्यामा परिणाद दिनुपर्ने बाध्यता छ । यस्तोमा कांग्रेसले चुनावी कार्यक्रमलाई मधेसबाट अघि भढाउन खोजेको छ । 

चुनावी सभा कहिले ?

कांग्रेसले यहि फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको अवसर पारेर मधेसबाट चुनावी सभा अघि बढाउने भएको छ । २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ। यहि दिन पारेर कांग्रेसले गर्न लागेको चुनावी सभा मधेसको जनकपुरबाट शुरु हुनेछ । कांग्रेस सभापति गगन थापा पनि सर्लाही ४ बाट उम्मेदवार बनेका छन् ।

जहाँ कांग्रेसकै पूर्व नेता तथा रास्वपाका अमरेश सिंहसंग प्रतिष्पर्धा गर्दैछन् । केहि समय पहिले रास्वपाले पनि जनकपुरबाटै चुनावी सभा गरिसकेको छ । यस्तोमा जनकपुरको सभामा गगन र विश्वप्रकाश शर्माले सम्बोधन गर्ने गरि तय गरिएको छ । 

देश दौडाहामा को–को ?

आसन्न चुनावी सभालाई सम्बोधन र विभिन्न कार्यक्रममा सहभागी हुन समय मिलेसम्म गगन थापा र विश्वप्रकाश शर्मा नै सहभागी हुने बताइएको छ । 

जसमा विश्वप्रकाश शर्मा यो पटकको चुनावमा उम्मेदवार समेत बनेका छैनन् । यसकारण पनि गगन पुग्न नसक्ने ठाउँमा विश्व पुग्नेछन् । 

कांग्रेसले चुनावी कमाण्डरको रुपमा विश्वप्रकाशलाई अघि सारेको छ । विश्वले जिम्मेवारी सुम्पिनेक्रममा समेत पार्टी एकताको पक्षलाई ध्यान दिइरहेका छन् । पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरुलाई जिल्लाको जिम्मेवारी दिइरहेका छन् । यसले पनि नतिजा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ। 

नतिजामा चमत्कार गर्नुपर्ने बाध्यता

कांग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन माओवादीसंग चुनावी सहकार्य गर्दै कांग्रेसलाई पहिलो पार्टी बनाइसकेका छन् । राष्ट्रियसभा चुनावमा पनि देउवाले एमालेसंगको सहकार्यका कारण ठूलो पार्टी निर्माण गरेका छन् । तर, उनै देउवालाई विशेष महाधिवेशनबाट विस्थापित गरेपछि नेतृत्व र शैली बदलेको दाबी गरिरहेका गगनले अब चुनावी नतिजा पनि देउवा नेतृत्वको भन्दा अब्बल बनाउनुपर्ने चुनौती देखिन्छ । 

देउवालाई अपदस्थ गरेका गगनले परिणाम देउवाकोभन्दा माथि लैजान नसके उनीमाथि अनेक प्रश्नहरु उब्जिनेछन् । मतदाताले कहाँ मत दिन्छन भन्नेभन्दा पनि नतिजा कस्तो आयो भन्ने कुराले संसदीय राजनीतिमा अर्थ राख्ने भएकाले गगनले आफू सक्षम रहेको देखाउन पनि नैतिक बलकै रुपमा समेत उल्लेख्य निर्वाचन क्षेत्रमा जित निकाल्नुपर्ने बाध्यता छ । अर्को पक्ष भनेको जेनजी आन्दोलनपछि परिस्थिति बदलिएको छ । 

जेनजी आन्दोलनपछिको मतदाताको मनोविज्ञान र गगनप्रतिको सदासयतालाई समेत यो समयमा पुँजीको रुपमा अघि बढाउन नसके गगनको नेतृत्वमाथिका प्रश्नहरु पेचिला बन्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update