News 24 Television
रास्वपा भर्सेस् एमाले, ओलीको आरोप ‘सरकार चुनावबाट भाग्दैछ’

काठमाडौं । निर्वाचनको मिति नजिकिदैं जाँदा एमाले अध्यक्ष केपी ओलीले सरकारमाथि दबाब बढाउँदै रास्वपा माथिको प्रहारलाई तीव्र बनाइरहेका छन् । मौसमको कारण केही स्थानमा निर्वाचन हुन नसके दुई चरणमा निर्वाचन हुने प्रधानमन्त्रीको भनाईपछि ओली नराम्रोसँग चिढिएका छन् । 

प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिलाई उनले गम्भिर षडयन्त्र भन्दै सरकार चुनावबाट भाग्न खोजेको आरोप लगाएका छन् भने संसद पुर्नस्थापनाका मुद्दालाई समेत जोडतोडले उठाई रहेका छन् । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका कमजोरी र रास्वपाका कमजोरी औल्याउँदै भाषणमार्फत् आगो ओकल्ने काम गरिरहेका छन् । रास्वपाका नेता तथा कार्यकर्ताहरुले ओलीलाई जेनजी हत्याराको आरोप लगाउँदै निरन्तर प्रहार गरेपछि ओलीले पनि प्रतिउत्तरमा जवाफी फायर खोलेका हुन् । ओलीले सरकार र रास्वपा माथि समेत दबाब बढाउने गरी अभिव्यक्ति दिन थालेका छन् । 

ओली सहित सिङ्गो एमालेलाई अहिले भदौँ २३ गते जेनजीहरुको हत्या गरेको आरोपसहित तत्कालिन प्रधानमन्त्री रहेका ओलीमाथि कारबाही हुनुपर्ने माग सहित रास्वपाका नेता तथा कार्यकर्ताहरुले सञ्जाल तताई रहेको देखिन्छ । 

निरन्तर रुपमा रास्वपाका नेता तथा कार्यकताहरुले ओली र एमाले माथि प्रहार केन्द्रीत गरेपछि ओली र एमाले नेताहरुले समेत रास्वपालाई देश जलाउनेहरु भनिरहेका छन् भने सरकार देश जलाउनेहरुले बनाएको आरोप लगाइरहेका छन् । केही दिन अगाडी ओलीले आफुसँग प्रतिष्पर्धामा उत्रिएका बालेन र रास्वपालाई केन्द्रीत गर्दै बतासे अण्डाले चल्ला नकाढ्ने अभिव्यत्ति दिएका थिए । 

ओलीले मात्रै होइन एमाले नेता तथा कार्यकर्ताहरुसमेत विभिन्न माध्यमबाट पछिल्लो समय रास्वपाका समर्थकहरुलाई देश जलाउनेहरुले देश बनाउनेहरुमाथि आक्रमण गरेको बताई रहेका छन् । 

बुधबार नेकपा एमालेको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा समेत एमाले निर्वाचन कमाण्डर रामबहादुर थापा बादलले रास्वपातर्फ केन्द्रीत गर्दै देश जलाउनेहरुको समूह भने । 

रास्वपा र सरकार माथिको प्रहार रणनीति कि अशान्त मनोदशा !

सरकारले मौसमका कारण समयमा निर्वाचन हुन नसक्ने बताएपछि ओलीले देश भर एकै दिनमा निर्वाचन हुनु पर्ने भन्दै सरकार माथि दबाब बढाएका छन् भने यस्तो अभिव्यक्तिलाई गम्भिर षडयन्त्रको व्याख्या गरिरहेका छन् । अध्यक्ष ओलीका पछिल्ला धेरै अभिव्यक्तिहरु आक्रामक मात्रै होइन, विवादित पनि बनिरहेका छन् । 

उनका कतिपय अभिव्यक्तिहरु आफु बाहेक अरुले देश हाँक्नै नसक्ने भन्ने किशिमका पनि छन् । त्यस्तै केही अभिव्यक्तिहरुमा ओली सामुदायिक र भूगोल केन्द्रीत पनि बनिरहेका छन् । यद्यपी ओलीका पछिल्ल्ला केहस् असंयमित अभिव्यक्तिहरु सुन्दा उनी भित्रभित्रै निकै विचलित भइरहेको जस्तो देखिन्छ । ओली सहित एमालेका अन्य नेताहरुको समेत पछिल्लो समय यस्तै अभिव्यक्ति सुन्न थालिएको छ । 

उनीहरुको अभिव्यक्ति रास्वपा लक्षित नै छन् । यसले ओली र एमाले अशान्त बनेको देखिन्छ । तर यसलाई अर्को पक्षबाट हेर्दा एमालेको नयाँ रणनीतिको रुपमा समेत लिन सकिन्छ । रास्वपाका नेताहरुले एमाले अध्यक्ष ओली माथि हत्यारा भएको करार गरीरहदाँ एमाले नेताहरुले पनि त्यसलाई काउण्टरका रुपमा देश जलाउनेहरुको समूह  भन्दै अगाडी बढेको देखिन्छ । 

एमालेको काउन्टर 

बालेनलाई एमाले नेताहरुले लुसिफर भन्दै तिव्र प्रहार गरेपछि बालेन रास्वापाको राजनीतिमा जोडिएको चर्चा हुने गरेको छ । जेनजी आन्दोलन पछि बालेनलाई प्रधानमन्त्री बन्न भनिएपनि उनी मानेनन् । त्यसपछि सुशीला कार्कीलाई प्रधानमन्त्रीका रुपमा अगाडी सारिएको थियो । 

यसैगरी ओली र एमाले माथि जेनजी हत्याराको आरोप लगाउँदै रास्वपा समर्थक अगाडी बढेपछि एमालेले काउण्टर प्रहार अगाडी सारेको देखिन्छ । एमालेका केही नेताहरुले अनौपचारीक कुाराकानीका क्रममा ओली र एमाले माथि नै प्रहार गर्ने गरी अगाडी बढेको समुहलाई समेत पहिचान गरी एमाले उनीहरु माथि आक्रमक रुपमा अगाडी बढ्ने तयारीमा रहेको बताउँछन् । 

बुधबारको पत्रकार सम्मेलनमा बोल्ने क्रममा रामबहादुर थापा बादलले समेत देश जलाउनेहरु र उनीहरुले निर्माण गरेको सरकारलाई नंङ्याउने र भण्डाफोर गर्ने काम भै रहेको भन्दै त्यसतर्फ इंकित गर्न खोजेको देखिन्थ्यो । 

एमाले र रास्वपाको भिडन्तले मुलुक अशान्त 

तर यस्ता पछिल्ला परिदृश्यले राजनीतिक रुपमा आलोचना गर्नेभन्दा पनि एमाले र रास्वापा दुवै तर्फका नेता तथा कार्यकर्ताहरु व्यक्तिगत रुपमै आरोप प्रत्यारोपमा उत्रिदाँ मुलुक नै थप अशान्त बन्नेको छ । 

राजनीतिक चरित्र देखाउँदै मुलुकको भविष्यको आकाशमा देखिएको कालो बादल हटाउँदै देशलाई शान्तीको बाटोमा हिडाउनु पर्नेमा दुवै पक्षले संयमता गुमाएको देखिन्छ । यसले भविष्यमा मुलुकलाई थप द्वन्द्व र हिंसाको बाटोमा नलैजाला भन्न पनि सकिन्न । 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update