News 24 Television
फागुन २१ मै देशभर चुनावः सरकार, दल र नेताहरुको आशय र त्रास के ?

काठमाडौं । सरकार चुनाव तोकिएको समयमै सम्पन्न गर्ने गरि अघि बढेको छ । अन्तरिम सरकारले तोकिएको समयमै चुनाव सम्पन्न गराएर सत्ता हस्तान्त्रण गर्ने भनिरहेको छ । तर, मौसमको कारणदेखि विभिन्न पक्षले चुनाव हुने नहुने आशंका व्यक्त गरिरहेको बेला सरकार भने दृढताका साथ अघि बढ्ने संकेत दिन थालेको छ । 

चुनाव मौसमका कारण दुई चरणमा गर्नुपर्ने भन्दै प्रधानमन्त्री सुशीला कार्कीले नै अभिव्यक्ति दिएपछि दलहरुले भन्दै आएको समय सार्ने प्रस्तावको चर्चा चल्न थालेको थियो । 

चुनाव फागुन २१ मा नभए संवैधानिक रिक्तता सिर्जना हुने र यसले ठूलो क्षति गराउने विश्लेषण चलिरहेको बेला एमाले अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी ओलीले बिहीबार बिहान प्रधानमन्त्री सुशीला कार्कीसंग दुई घण्टा छलफल गरे । ओलिले चुनावी सुरक्षादेखि विभिन्न विषयमा कुराकानी गरे । 

ओलीको मुख्य चासो चुनावी सुरक्षा, सरकारमाथि लागेका आरोप, र सरकारले नै दुई चरणमा चुनाव गर्ने भन्दै दिएको अभिव्यक्तिसहितका विषय समावेश भएको बताइन्छ । एमालेले चुनाव एकै चरणमा गर्नुपर्ने अडान राख्दा प्रधानमन्त्री पनि सहमत भएपछि सरकारले पनि चुनाव एकै चरणमा हुने भनेको छ ।

सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री अर्यालले चुनाव एकै चरणमा हुने जिकिर गरेका छन् । भने प्रधानमन्त्री कार्कीले पनि चुनाव एकै चरणमा गरेर जननिर्वाचित सरकारलाई सत्ता हस्तान्त्रण गरेर घरमा आराम गरेर बस्न इच्छा व्यक्त गरेकी छन् । 

सरकारले चुनावी सुरक्षामा उठेका प्रश्नमा समेत जवाफ दिने प्रयास गरेको छ । नेपाली सेना पनि चुनावी सुरक्षामा तैनाथ हुने भन्दै सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन हुने सरकारको भनाई छ्।

सरकारले चुनाव फागुन २१ मै हुने भन्दै भनेको विषयलाई एमाले अध्यक्ष केपी ओलीले पनि संकेत गरिसकेका छन् । सम्भवतः भन्ने शब्दावलीको प्रयोग गर्दै ओलीले फागुन २१ मै चुनाव हुने भनेका छन् । 

चुनाव एकै चरणमा हुनुपर्नेमा नेपाली कम्युनिष्ट पार्टीदेखि नेपाली कांग्रेस पनि दृढ देखिन्छन् । यस्तो स्थितिमा चुनाव एकै चरणमा हुने भन्नुको अर्थ राजनीतिक परिस्थिति फेरिएको बेला हिमाली जिल्लामा दोश्रो चरणमा चुनाव भएमा प्राप्त नतिजा नै फेरिने र जित्नेहरुले संकटमा पार्ने खतरा देखेपछि दलहरु एकै चरणको चुनावमा जोड दिन थालेका हुन्। 

सरकारले पनि दुई चरणको चुनाव गराउने मनशाय राख्दा सरकारमाथि नैतिक प्रश्न उठ्ने र राजनीतिक पक्षधरता लिएको आरोप लाग्ने खतरा बढेपछि चुनाव फागुन २१ मै हुने स्थिति बन्न थालेको देखिन्छ ।

 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update