News 24 Television
नयाँ माथि शीर्ष नेताको आक्रमण ! प्रचण्ड र गगन कड्किदाँ ओली नरम

काठमाडौं । चुनावी सरगर्मी बढ्दै जाँदा शीर्ष तीन दलका शीर्ष नेताहरुले फरक–फरक स्थानबाट आक्रामक अभिव्यक्ति दिएका छन् । 

जसमध्ये नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्तिका नाममा होहल्ला भइरहेको भन्दै आफुलाई नयाँ भन्नेहरु दलालका एजेन्ट हुन् भनेका छन् ।

उता, पोखराबाट नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा उत्तेजना फैलाउने काम भइरहेको दाबी गरेका छन् भने झापा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा नाती पुस्ता आउँदा आफुलाई खुशी लाग्ने प्रतिक्रिया दिएका छन् । 

नेकपा संयोजक प्रचण्डले आफुलाई अक्सर नयाँ दलहरु प्रति सद्भाव राख्ने नेताका रुपमा उभ्याउँदै आइरहेका थिए । रास्वपा र रवि लामिछानेप्रति उनले सार्वजनिकरुपमै सद्भाव देखाउने गरेका थिए । 

रवि जेलमा रहँदा प्रचण्ड भेट्न समेत पुगेका थिए । त्यसो त जेनजी आन्दोलनप्रति पनि उनको वैरभाव थिएन । जेनजीहरुले जे माग राखेर आन्दोलन गरेका थिए, त्यो आफुहरुले वर्षौदखि राख्दै आएको भन्दै प्रचण्ड जेनजी आन्दोलनमा पक्षमा खुल्थे । तर केही दिनयता प्रचण्डले युटर्न लिएका छन् । 

उनी नयाँ भनिएका दलहरुप्रति आक्रामक सुनिन थालेको छन् । शुक्रवार मात्रै पनि उनले निकै आक्रामक अभिव्यक्ति दिए । उनले रास्ववालाई लक्षित गर्दै नयाँ शक्तिका नाममा होहल्ला मात्रै भइरहेको जिकिर गरेका छन् । 

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापन गर्ने र उत्पीडित वर्गको हकअधिकार स्थापित गर्ने मुलुकको सबैभन्दा नयाँ र प्रगतिशील पार्टी आफ्नो रहेको उनको दाबी छ । अझा आक्रामक बन्दै उनले आजकाल नयाँ भनेर सोसल मिडियामा होहल्ला गर्नेहरु दलाल पुँजीपति र विचौलियाहरुको इसारामा चल्ने करार गरिदिएका छन् ।

उता, कास्कीको सभालाई सम्बोधन गर्दै रास्वपाप्रति कांग्रेस सभापति गगन थापाले पनि आक्रामक अभिव्यक्ति दिएका छन् । नयाँको नाममा देशमा उत्तेजना मात्रै फैलाउने काम भइरहेको सभापति थापाको भनाइ छ । 

अहिले देशलाई धैर्यपूर्वक निकास दिने शक्तिको आवश्यकता रहेको गगन बताउँछन् । नागरिकमा राज्यका विभिन्न संरचनाहरुप्रति चरम आक्रोश र अविश्वास रहेको भन्दै उनले यस्तो संवेदनशील अवस्थामा जिम्मेवार राजनीतिक शक्तिको खाँचो रहेको उल्लेख गरेका छन् । 

पोखराबाटै उनले अबी बार सय पार नारा सहित चुनावी अभियानमा खट्न पार्टीपंक्तिलाई निर्देशन दिदै बहुमत ल्याउन घरघर पुग्न आग्रह गरेका छन् । 

अक्सर आक्रामक देखिने एमाले अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्र झापा ओर्लिदा शुक्रवार केही नरम देखिएका छन् । भद्रपुर विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले राजनीतिमा नयाँ पूस्ता आउँदा आफुलाई खुशी लाग्ने बताएका छन् । बालेनलाई इंकित गर्दै उनले राजनीतिमा केही सिक्छु भन्दै नाति पूस्ताका मानिस आफुसँग भिड्न आउँदैमा नराम्रो मान्न हुने बताए । 

ओलीसँग प्रतिष्पर्धा गर्न काठमाडौँको मेयरबाट राजीनमा दिएर बालेन झापा ५ पुगेपछि यो निर्वाचन क्षेत्र आशन्न निर्वाचनका लागि देशकै सबैभन्दा चासो र हाईप्रोफाइल भिडन्त क्षेत्रका रुपमा चिनिएको छ । 

उनले आफू लामो राजनीतिक अनुभव, पार्टी संगठन र विकासका एजेन्डासहित चुनावी मैदानमा उत्रिएको उल्लेख गर्दै मतदाताले स्थायित्व, स्पष्ट दृष्टिकोण र राष्ट्रिय नेतृत्वको आवश्यकता बुझ्ने दाबी गरेका छन् ।

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update