News 24 Television
म्याग्देली जनताले ‘वाह’ भन्ने गरी काम गर्छु : हरिकृष्ण श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हरिकृष्ण श्रेष्ठले आफू निर्वाचित भएमा म्याग्देली जनताले ‘वाह’ भन्ने गरी जिल्लाको विकास र समृद्धिमा खटिने प्रतिबद्धता व्यक्त गरेका छन्। 

शुक्रबार नेकपा एमाले म्याग्दी–काठमाडौं सम्पर्क मञ्चले राजधानीमा आयोजना गरेको उम्मेदवारसँगको विशेष भेटघाट कार्यक्रममा बोल्दै श्रेष्ठले आफ्नो सम्पूर्ण ऊर्जा, अनुभव र शक्ति जिल्लाको रुपान्तरणमा लगाउने बताएका हुन्।

आफ्नो राजनीतिक यात्राको स्मरण गर्दै श्रेष्ठले वि.सं. २०५४ सालमा तत्कालीन अर्थुङ्गे गाविस अध्यक्षका रूपमा पहिलो पटक जनप्रतिनिधिको जिम्मेवारी सम्हालेको र सोही समयदेखि नै बेनीलाई व्यवस्थित सहरको रूपमा विकास गर्ने जग बसालेको उल्लेख गरे। 

गाविस अध्यक्ष हुँदा बेनी नगरपालिका निर्माणको आधार तयार पार्ने, नक्शा पासको परिपाटी सुरु गर्ने र बजारमा सडकको मापदण्ड निर्माण गर्ने जस्ता दूरगामी महत्वका कामहरू आफ्नै नेतृत्वमा भएको उनले बताए।

वि.सं. २०५६ सालमा बेनी बजार संरक्षण समिति बनाएर म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न नदी नियन्त्रणका कामहरू अघि बढाएको र बेनीमा रिङरोडको अवधारणा ल्याएको उनले स्मरण गरे। 

२०५९ सालपछि जनप्रतिनिधिको पदमा नरहे पनि आफू निरन्तर समाज सेवामा तल्लीन रहेको र पदभन्दा माथि उठेर जनताको सुखदुःखमा साथ दिएको उनको भनाइ थियो।

myagdi-2-1770448668.jpg
नेपाल रेडक्रस सोसाइटी म्याग्दीको सभापति रहँदा संस्थागत विकासका लागि रेडक्रस भवन निर्माण गरेको र जिल्लाका गाउँ(गाउँमा उपशाखा विस्तार गरेर मानवीय सेवालाई जनस्तरसम्म पुर्‍याएको श्रेष्ठले बताए। विशेष गरी जिल्ला अस्पताल बेनी भित्र आफ्नै विशेष पहल र म्याग्देलीहरूको सहयोगमा ‘ब्लड बैंक’ स्थापना गरेको र त्यसले जिल्लामा रगतको अभावमा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गरेको उनले दाबी गरे। 

यस्तै, बेनी खानेपानी उपभोक्ता संस्थाको नेतृत्व गर्दा बेनी बजारका घर(घरमा शुद्ध पिउने पानी पुर्‍याएको अनुभव उनले सुनाए। २०४२ सालदेखि निरन्तर जिल्लामै बसेर नागरिकको सेवामा लागेको बताउँदै उनले सेवाको काममा कहिल्यै दल र व्यक्तिको आधारमा विभेद नगरेको प्रष्ट पारे।

विगतको निर्वाचनको चर्चा गर्दै उनले २०७९ सालको निर्वाचनमा प्राविधिक कारणले परिणाम आफ्नो पक्षमा नआए पनि यसपटक म्याग्देली जनताले आफ्नो इमान्दारी र विगतको कामको मूल्यांकन गरेर मतदान गर्ने विश्वास व्यक्त गरे। 

‘मैले जीवनभर कमाएको सम्पति भनेकै मेरो इमान्दारी र निष्कलंक छवि हो, आजसम्म सामाजिक संघसंस्थाको नेतृत्व गर्दा ममाथि कुनै प्रश्न उठेको छैन,’ श्रेष्ठले भने,  ।

उनले आफू म्याग्दीका हरेक वडामा पटक–पटक पुगेको र जिल्लाको समस्या तथा सम्भावनालाई नजिकबाट बुझेको बताउँदै हिमालले घेरिएको म्याग्दीलाई पर्यटनको विश्वव्यापी हब बनाउने योजना रहेको सुनाए। 

संसद्मा पुगेपछि नीति निर्माण मात्र नभई पर्यटन, कृषि र उद्योगलाई जोडेर स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने गरी काम गर्ने उनको अठोट छ। 

आफूले प्रचारमा भन्दा काममा विश्वास गर्ने बताउँदै श्रेष्ठले हावादारी गफभन्दा पनि कार्यान्वयन गर्न सकिने व्यवहारिक घोषणापत्र सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिए। कार्यक्रममा समानुपातिक उम्मेदवार नरदेवी पुनले श्रेष्ठ जस्तो सादगी र विकासप्रेमी नेता पाउनु म्याग्दीका लागि गौरवको विषय भएको बताइन्। 

पूर्वमन्त्री थममाया थापाले जनताको वास्तविक पीडा बुझ्ने नेता श्रेष्ठ नै भएको भन्दै उनलाई विजयी गराउन अपिल गरिन्। 

सम्पर्क मञ्चका अध्यक्ष तमबहादुर गुरुङले देशभरको घेराबन्दीका विरुद्ध कार्यकर्ताहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update