News 24 Television
हेविवेटको विद्रोहलाई चुनौती दिन प्रचण्ड–माधव सिन्धुलीमाः नतिजा उल्टिन सक्ने सम्भावना कति ?

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको विवाद केहि जिल्लामा चर्को देखिन्छ । यसमा पर्ने जिल्ला हो, सिन्धुली । सिन्धुलीमा हेविवेट नेता हरिबोल गजुरेलले नै विद्रोह गरेपछि सिन्धुलीमा नेकपाका उम्मेदवारलाई निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न कठिन हुने विश्लेषण भइरहेको छ । पार्टीमा देखिएको विवादलाई समाधान गर्न नसक्दा सिन्धुलीमा भएको विद्रोह र मतदातालाई सन्देश दिन पुगेका माधव–प्रचण्डको प्रयासले सार्थकता पाउला ? यो विषय चासोमा छ । 

नेपाली कम्युनिस्ट पार्टी सिन्धुलीको विवाद राष्ट्रिय तहमै ठूलो विषय बन्न पुगेको छ । पटक–पटक मन्त्री बनिसकेका नेता हरिबोल गजुरेलले नेकपाबाट बागी उम्मेदवारी दिएका महेश्वर दाहाललाई साथ दिएपछि स्थिति बदलिन पुगेको छ । जिल्ला पार्टीले ददिएको म्याण्डेटविपरित पार्टी हेडक्वाटरले पेलेको भन्दै भएको विद्रोहले सिन्धुलीमा नेकपालाई जित सहज नहुने अवस्था बनेको विश्लेषण भइरहेको छ ।

सिन्धुलीमा चुनाव पेचिलो बन्ने देखिएपछि संयोजक प्रचण्ड सहसंयोजक माधव नेपाललाई लिएर सिन्धुली पुगेका हुन् । प्रचण्डले सिन्धुलीमा हरिबोललाई टिकट दिन खोज्दा अस्वीकार गरेको र पार्टीले सिफारिस गरेका लेखनाथ दाहाल ’राजन’लाई टिकट दिएको दाबी गरेका छन् । 

प्रचण्डले पार्टी विवाद मिलाउने प्रयास सम्भव नभएको दाबी गरेपनि नेकपाको कारबाहीमा परेका सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार महेश्वर दाहाल भने सर्वसत्तावादकाविरुद्ध आफू उभिएको र यसले देशभर सन्देश दिने दाबी गरिरहेका छन् । यस्तै, प्रचण्डले सफेद झुट बोलेको महेश्वरले आरोप लगाइरहेका छन् ।

उसोतः नेकपाका उम्मेदवार लेखनाथ दाहाल राजन भने पार्टीको विश्वास फागुन २१ मा देखिने दाबी गरे । उनले फागुन २१ गते मतमार्फत जिल्लाको बुझाई सार्वजनिक हुने उनको भनाई छ । 

सिन्धुलीमा तत्कालीन माओवादीले गठबन्धनमार्फत दुईमध्ये एक क्षेत्र जित्दै आएको जिल्ला हो । यसअघि पनि विभिन्न नेताहरुले विजयी प्राप्त गर्दै आएकाले प्रचण्डलाई समेत सिन्धुली लैजाने चर्चा चलेको थियो । तर, पार्टीको आन्तरिक विवाद र जनाधारको विश्लेषणपछि प्रचण्ड रुकुम पूर्व पुगे । तर, सिन्धुलीमा भएको विद्रोहको प्रभाव भने विभिन्न जिल्लामा पर्ने हरिबोलले दाबी गर्दै आएका छन् ।

सिन्धुलीको रोचक इतिहास

सिन्धुलीमा २०६४ को निर्वाचनमा तत्कालीन माओवादीका उम्मेदवार लीलामणी पोखरेललाई सहीद शेरमान कुँवर पत्नी निरु कुमारी कुँवरले पराजित गरेकी थिइन् । त्यो बेला नेता पोखरेललाई टिकट दिएपछि निरुले बागी उम्मेदवारी दिएकी थिइन् । बागी उम्मेदवारले सहीद पत्नीलाई विजयी गराएको थियो । 

यसकारण अहिले पनि महेश्वर पक्षले यो तथ्यलाई बलियो ढंगले पेश गरिरहेको छ । तत्कालीन माओवादीको कारबाहीमा परेकी निरु पछि कारबाही फुकुवापछि सक्रिय बनेकी थिइन् । अहिले पनि सिन्धुलीमा यहि स्थितिको परिणाम आउने दाबी विद्रोही समूहले गरिरेको छ ।

जनमत र तालमेलको अभ्यास

सिन्धुलीमा नेकपाको जनमत केहि बलियो देखिएपनि २०७४ मा तत्कालीन एमालेसंगको सहकार्यमा एउटा क्षेत्रबाट हरिबोल गजुरेल निर्वाचित हुँदा अर्को क्षेत्रमा एमालेका गणेश कुमार पहाडी जित निकालेको थियो भने २०७९ को चुनावमा तत्कालीन माओवादी कांग्रेस गठबन्धनकोतर्फबाट लेखनाथ दाहाल ’राजन’ र कांग्रेसबाट श्यामकुमार घिमिरेले निर्वाचनमा जित निकालेका थिए । 

प्रतिष्पर्धामा भने एमाले देखिएको थियो । यो पटकको विद्रोहका कारण पार्ने प्रभावले निर्वाचन परिणाम भने सुखद् आउन नसक्ने डर देखिन्छ । 

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update