काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी चुनावी जित आफ्नो पक्षमा पर्न नसके जेनजी विद्रोहभन्दा ठूलो विद्रोह हुने चेतावनीमा उत्रिन थालेको छ । मत दिनुलाई छोरी दिनुसंग जोड्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावबाट वार पार हुने भन्दै धम्कीपूर्ण भाषामा मत माग्न थालेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा उम्मेदवार परिचयको कार्यक्रम राख्यो । यसमा नेताहरुले राप्रपाको आवश्यकता, राजसंस्थाको माग र हिन्दु राष्ट्रसहित पार्टीले राख्दै आएको विचारमा आधारित रहेर मत माग्ने जिकि गरे । त्यसमा अधिकांश नेताहरु राप्रपालाई मत किन भन्नेमा आफ्नो धारणा बडो रोचक ढंगले पेश गरेका छन् ।
उम्मेदवारहरुले मत माग्न आफ्नो शैली र राजनीतिक आधार पेश गर्दै गर्दा काठमाडौं २ की प्रतिनिधिसभा उम्मेदवार कुन्ति पोखरेलले देशको जितका लागि हलो चिन्हमा मत माग्नुपर्ने भनिन् ।
यसरी नै मत माग्न आएका वरिष्ठ उपाध्यक्ष समेत रहेका उम्मेदवार रवीन्द्र मिश्रले राजसंस्था अतिआवश्यक भइसकेको तर्क गरे। आफूले जित्ने आधार तयार भइसकेको दाबी पनि गरे ।
मिश्रले राजसंस्थाको वकालतसंगै राप्रपालाई मत नदिए मुलुक फेरि संकटमै रहने दाबी गरिदिए । त्यसपछि अन्तिममा सम्बोधन गरेका अध्यक्ष राजेन्द्र लिङ्देनले भने उत्तेजक अभिव्यक्ति दिए । आसन्न निर्वाचनमा आफ्नो पार्टी विजयी नभए देश जेनजी आन्दोलनको भन्दा ठूलो दुर्घटनामा फस्ने चेतावनी दिए ।
उसोतः अध्यक्ष लिङ्देनले कुन्ति पोखरेलको घरदैलो कार्यक्रममा समेत राप्रपा कसैको जुठो खाएर जन्मिएको पार्टी नभएको चेतावनीसहित कडा अभिव्यक्ति दिए ।
काठमाडौंका उम्मेदवारको परिचयात्मक कार्यक्रम भनिएपनि नेताहरुले उत्तेजक अभिव्यक्ति मात्रै दिएनन्, जेनजी आन्दोलनपछि देशको स्थिति सुधार्ने पार्टी राप्रपा मात्रै भएको दाबी समेत गरे । प्रायः नरम बोल्ने लिङ्देन पछिल्लो समय भने चर्किन थालेका छन् । धम्कीपूर्ण र चेतावनीमुलक अभिव्यक्तिका कारण पनि चुनावी अन्योलता भने बढ्न थालेको छ।
