News 24 Television
रेशमलाई सर्वोच्चको झड्का, उम्मेदवार बन्न नपाउने भएपछि के भने ?

काठमाडौं । प्रतिनिधिसभा उम्मेदवार बन्न चाहेका रेशम चौधरीलाई सर्वोच्च अदालतले अन्तरिम आदेश अस्वीकार गरेपछि उनी उम्मेदवार बन्न नपाउने भएका छन् । मुद्दाको अन्तिम किनारा लाग्नेबेला निर्णय आउने नै भएपनि निर्वाचन कार्यालयले गरेको निर्णयविरुद्ध अदालत गएका रेशमले अन्तरिम आदेश नपाएपछि अर्को उम्मेदवार तयार पारेको पाइएको छ । 

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अन्तिम फैसलामा ब्याख्या हुने भन्दै अन्तरिम आदेश अस्विकार गरेको हो । 

योसंगै रेशम प्रतिनिधिसभामा उम्मेदवार बन्न नपाउने भएका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका रेशमलाई निर्वाचन आयोगले उम्मेदवारी खारेज हुने निर्णय गरेको थियो । 

टीकापुर घटनामा दोषी ठहर भइ राष्ट्रपतिबाट सजाइ माफी मिनाहामा परेको भन्दै उम्मेदवारी खारेजी गरिएको थियो । रेशमसम्बन्धि कर्तव्य ज्यान मुद्दामा तीनै तहका अदालतले फैसला गरिसकेका छन् । 

के भने रेशमले ?

सर्वोच्चले आफ्नो पक्षमा निर्णय नदिएपछि रेशमले विभेद भएको भन्दै आक्रोश पोखेका छन् । रेशमले सामाजिक सञ्जालमा लेखेका छन्, ’हामी अझै बिभेदित भयौँ । यो बिभेदको बदला ब्यालेतबाट लिनुपर्छ । सबै नेपाली दाजुभाईलाई अनुरोध – बिभेदको एक भोट जाँतोमा । संघर्ष जारी छ । 

पहिचानको आन्दोलनलाई अझै शसक्त बनाउने प्रतिबद्धता सहित भोलिबाट चुनावी अभियानमा होमिन्छुँ । कैलाली क्षेत्र न १ मा मेरो बिकल्पमा मैले फागुराम चौधरीलाई उठाएको छुँ । उहाँको चुनाव चिन्ह ढेँकिमा (ढिकि)छाप लगाएर अन्याय बिरुद्धको आवाजमा सहमति (ढिकि(ढिकि)जनाउँदै अत्याधिक बहुमतले बिजय गराऔँ ।’ 

आफ्नो उम्मेदवारी खारेजीपछिको तयारीमा समेत रेशमले काम गरेको पाइएको छ । रेशमले अब ढिकी चुनाव चिन्हमा फागुराम चौधरीलाई उम्मेदवार बनाएको बताएका छन्। 

रेशमले आफ्नो पक्षमा निर्णय नआएपछि भावुक बन्दै हिन्दीमा दुखेसो पोखेका छन् । उनले भनेका छन्, ’हमे तो अप्नोंले लुटा गैरोमे कहाँ दम था ।   मेरि किस्ति डुबि वहिँ जहाँ पानी कम था । जय नागरिक ।’

उम्मेदवार बन्ने पटक–पटकको प्रयास

रेशम २०७९ को निर्वाचनमा समेत उम्मेदवार बन्न चाहेका थिए । डिल्लीबजार कारागारबाटै पार्टी स्थापना गरेका रेशम उम्मेदवार बन्न नपाएपछि वुवा लालबीर चौधरीलाई अघि सारेका थिए । यो पटक पनि उम्मेदवार बन्ने र देशको महत्वपूर्ण जिम्मेवारीमा पुग्ने भन्दै आएका रेशम अब सर्वोच्चबाट अन्तिम फैसला नआउन्जेल पार्टीको सदस्यता लिन समेत योग्य ठहरिने छैनन् । 

यस्तै, २०७४ को चुनावमा भने उनले वारेसमार्फत उम्मेदवारी दिएर चुनावको प्रचारमै नआइ चुनाव जितेका थिए । त्यो बेला सांसदको सपथ लिएपछि उनलाई पुनः जेल चलान गरिएको थियो । अहिले पनि उनले आफूमाथि अन्याय र विभेद भएको दाबी गर्ने गरेका छन् ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update