काठमाडौँ । अघिल्लो सरकारको नेतृत्वमा रहँदादेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रास्वपा तथा त्यसका सभापति रवि लामिछाने र तत्कालीन काठमाडौँ महानगरका मेयर बालेनप्रति कठोर एवं अनुदार देखिन्थे । जेनजी आन्दोलनबाट सत्ताच्युत भएपछि र आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रमुख प्रतिस्पर्धी नै रास्वपा, रवि र बालेनहरु देखिएपछि ओलीको आक्रामकता थप बढेको छ । काँग्रेस–एमाले गठबन्धनविरुद्ध रविको साथ पाएका प्रचण्ड भने जेनजी आन्दोलन र त्यसको केही समयपछिसम्म रवि र रास्वपाप्रति उदार नै देखिन्थे । तर हाल निर्वाचन प्रचारका क्रममा प्रचण्ड पनि रास्वपा र त्यसका नेताहरुप्रति आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् । यसले आगामी दिनमा ओली–प्रचण्डबीच सहकार्य हुनसक्ने र रास्वपा लगायत नयाँ शक्तिहरु प्रमुख प्रतिस्पर्धी हुने संकेत गर्दछ ।
एमालेका अध्यक्ष ओलीले रास्वपाका वरिष्ठ नेता बालेनप्रति लक्षित गर्दै निरन्तर शब्दवाण प्रहार गर्दै आएका छन् । ओलीका शब्दमा बालेन र उनको पार्टी देशमा आगो लगाउने, भ्रम छर्ने र स्टन्टमा रमाउनेवाला हुन् । तर आफूलाई देश बनाउने र राष्ट्रवादी रुपमा उनले प्रस्तुत गर्ने गरेका छन् । बालेनलाई लक्षित गर्दै ओलीले मंगलबार पनि देशमा आगो लगाएर परिवर्तन नहुने बताए । साथै बालेनले आफ्नै निर्वाचन क्षेत्र (काठमाडौँ)मा विश्वास गुमाएकाले नयाँ क्षेत्रको खोजीमा झापा पुगेको टिप्पणी गरे । काठमाडौँमा जितिसकेको मान्छेले त्यहाँबाटै लड्ने आँट किन नगरेको ? भन्दै ओलीले प्रश्न गरे । आफूले काम गर्न नसकेपछि अरु नयाँ ठाउँमा जानुपर्ने बाध्यता आइलागेको उनको भनाइ छ ।
आफ्नो भने झापाको गौरीगञ्जसँगको सम्बन्ध वि.सं. २०२६ सालदेखि नै रहेको स्मरण गर्दै ओलीले २०२६, २७, २८, २९ सालसम्म आफू त्यहीँको संगठनमा खटिएको बताए । ३० सालमा जेल परेपछि केही समय आउन नपाएको तर ४७ सालको अन्तिमदेखि फेरि उक्त ठाउँसँगको यात्रा निरन्तर रहेको उनको भनाइ छ । उनले गौरीगन्ज क्षेत्रमा भएको कायापलटको चर्चा गर्दै विगतको गौरीगञ्ज र वर्तमानको ‘सेल्फी रोड’ बनेको गौरीगञ्जमा आकाश–जमिनको फरक रहेको बताए । विकासका पूर्वाधारबारे चर्चा गर्दै ओलीले हुलाकी राजमार्ग आफ्नै पहलमा बनेको बताए । कन्काईको एउटा पुलबाहेक अधिकांश काम सम्पन्न भइसकेको र रतुवा र कमला नदीका पुलमा देखिएका प्राविधिक समस्या समाधानको चरणमा रहेको उनले बताए ।
उता नेकपाका संयोजक प्रचण्डले सामाजिक सञ्जालमा हुने प्रचार र वास्तविक धरातलको अवस्था फरक रहेको बताएका छन् । पछिल्ला दिनमा देखिएको ‘स्टन्ट’ र ‘हल्ला’को प्रभाव जनताले बुझिसकेको भन्दै उनले पार्टीका नेता–कार्यकर्ताहरूलाई तर्कसहित त्यसको खण्डन गर्न र आगामी निर्वाचनमा केन्द्रित हुन निर्देशन दिए । रास्वपालाई लक्षित गर्दै उनले सामाजिक सञ्जालको भरमा गरिने राजनीतिलाई ‘स्टन्टबाजी’ को संज्ञा दिए । तर फिल्डमा भने त्यस्तो प्रभाव नरहेको उनले स्पष्ट पारे । जहाँ पहिला रास्वपाका नेताहरुले जितेका थिए, त्यहाँ अहिले उनीहरूको प्रभाव ओरालो लागेको प्रचण्डको टिप्पणी छ । नयाँ स्थानहरूमा भ्रम दिन सजिलो हुने भए पनि जनताले नेताहरूको काम र क्षमताको मूल्याङ्कन गरिसकेको उनको भनाइ छ । उनले काठमाडौँ उपत्यका लगायतका क्षेत्रमा पुराना र अनुभवी नेताहरूलाई जनताले हेरिसकेको र अब स्टन्टबाजहरूको हल्लाखोर प्रवृत्तिको भ्रम मुक्त भइसकेको दाबी गरे । जहाँ जनताले अझै कुरा बुझ्न पाएका छैनन्, त्यहाँ मात्र यस्ता प्रचारको प्रभाव देखिएकोले ती भ्रमहरूलाई तर्कद्वारा चिर्न उनले आग्रह गरे ।
प्रचण्डका अनुसार आगामी २४–२५ दिन निकै महत्वपूर्ण रहने छन् । चुनौतीपूर्ण अवसरलाई सदुपयोग गर्दै देश जोगाउने र राजनीतिलाई सहजीकरण गर्ने भूमिकामा आफूहरु सधैँ अगाडि रहने उनको प्रतिबद्धता छ । ओलीले पनि राष्ट्रिय एकता बलियो बनाउँदै लहैलहै र फेसनका आधारमा होइन, सही पार्टी र नीतिका आधारमा देशलाई समृद्ध बनाउन सकिने बताए ।
