काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । केहि ढिला गरि प्रतिबद्धतापत्र सार्वजनिक गरेको नेकपाले आर्थिक बृद्धिदरदेखि नेपालको परराष्ट्र नीति र लिपुलेक र कालापानीबारे बोलेको छ । वार्षिक डेढ लाख रोजगारी सिर्जना गर्ने दाबी गरेको नेकपाले प्रत्यक्ष निर्वाचित कार्यकारीमा समेत जाने जिकिर गरेको छ । तर, के यो प्रतिबद्धता अनुसारका काम होलान ? त्यो भने चुनावी परिणाम, सरकारको नेतृत्व र शैलीले नै प्रष्ट पार्नेछ ।
एक कार्यक्रम आयोजना गर्दै नेपाली कम्युनिस्ट पार्टीले पेरिसडाँडामा प्रतिबद्धतापत्र अर्थात घोषणापत्र सार्वजनिक ग¥यो । नेकपाका संयोजक प्रचण्डले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै देशलाई निकास दिन मतको अपिल पनि गरे । प्रचण्डले प्रतिबद्धता पत्रमा विचार, सिद्धान्त र कार्यक्रमलाई संक्षेपमा समावेश गर्ने प्रयास गरेको दाबी गरे ।
उसोतः प्रचण्डले प्रतिबद्धतापत्रमा थप प्रकाश पार्दै आर्थिक वृद्धिदरदेखि रोजगारी सिर्जनामा समेत जोड दिइएको जिकिर गरे ।
यस्तै नेकपाले सार्वजनिक गरेको प्रतिबद्धातापत्रमा कृषि, रोजगारी, पर्यटन, शिक्षा, स्वास्थ्यदेखि परराष्ट्र नीतिमा समेत विभिन्न कुरा उल्लेख गरिएको छ ।
मुख्य प्रतिबद्धता के छन ?
राजनीतिक स्थिरता र शासकीय स्वरूपमा आमूल परिवर्तन जसमा प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान पहल गर्ने
भ्रष्टाचार नियन्त्रण र सुशासनको ग्यारेन्टीका लागि लोकपाल गठनको प्रस्ताव
आर्थिक सुधारः १० प्रतिशतको आर्थिक वृद्धि र ५ लाख रोजगारी
कृषि र भूमि व्यवस्थामा क्रान्तिकारी कदम
– निःशुल्क स्वास्थ्य, गुणस्तरीय शिक्षा र खेलकुद विकास
– पूर्वाधार, ऊर्जा र पर्यटनको विकास
– सामाजिक न्याय, समावेशिता र परराष्ट्र नीति
– राजनीतिक स्थिरता र शासकीय सुधार
– सामाजिक न्याय, शिक्षा र स्वास्थ्य
– लिपुलेक, कालापानी सीमा विवाद कुटनीतिक माध्यमबाट समाधान गर्न पहल गर्ने
नेकपाले प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेको छ भने अन्य दललाई समेत फागुन ३ गतेसम्म प्रतिबद्धतापत्र सार्वजनिक गर्दै निर्वाचन आयोगमा बुझाउन आयोगले निर्देशन नै दिएको छ ।
एमाले, कांग्रेस, रास्वपासहितका अन्य दलहरुले घोषणापत्र सार्वजनिक कहिले गर्छन भन्ने विषय अझैं खुलेको छैन् ।
