झापा । निर्वाचनको मिति नजिकिदै जाँदा झापा क्षेत्र नं. ५ को चुनावी माहोल झन झन तातिदैं गइरहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह चुनावी प्रतिष्पर्धामा उत्रिएपछि चर्चा र चासोको शिखरमा पुगेको यो क्षेत्र ओली र बालेन लगायतका उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा सक्रिय हुँदा थप चुनावी माहोल तातेको हो ।
झापा–५ एमालेको परम्परागत गढ हो । यस क्षेत्रबाट ओली ६ पटक निर्वाचित भइसकेका छन् । यसै क्षेत्रबाट जितेर ओली ४ पटक देशको प्रधानमन्त्री समेत भइसकेका छन् । उनै ओली झापा–५ बाट पुनः निर्वाचित हुने रणनीतिसहित घरदैलो, टोलस्तरीय भेटघाट र कार्यकर्ता भेलामा व्यस्त छन् ।
विकास, स्थायित्व र अनुभवलाई मुख्य एजेन्डा बनाउँदै उनी मतदातासँग प्रत्यक्ष संवादमा केन्द्रित देखिन्छन् । यता, रास्वपाबाट उम्मेदवार बनेका बालेन शाह भने ‘पुरानो राजनीतिको विकल्प’को नारासहित मतदातामाझ पुगिरहेका छन् । काठमाडौं महानगरको नेतृत्व सम्हालेको अनुभवलाई उदाहरण दिँदै उनले झापा–५ मा नयाँ राजनीतिक संस्कार स्थापित गर्ने दाबी मतदाता माझ गर्ने गरेका छन् ।
ओलीले मतदातासंगको भेटघाटमा झापा–५ ले सधैं परिवर्तन र स्थायित्वको सन्देश दिएको बताउँदै आफुले सुरु गरेका विकासका कामलाई निरन्तरता दिन यसपटक पनि मतदाताको साथ आवश्यक रहेको बताउँछन् ।
उनले मतदातामाझ पूर्वाधार विकास, दमक क्षेत्रको शहरीकरण र रोजगारी सृजनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहो¥याए । आफुमाथि षडयन्त्र गरेर बालबालिका र युवा मा¥यो भन्ने भ्रम छरिएको तर वास्तविकता त्यस्तो नरहेको उनी दाबी गर्छन् ।
यता बालेनले भने, “देशलाई नयाँ सोच र काम गर्ने शैली चाहिएको बताउँदै आएका छन् । उनले सुशासन, पारदर्शिता र युवामुखी नीति आफ्नो प्राथमिकता रहेको बताउँछन् । उनले आफू देश बनाउने अभियानमा जोडिएको बताउँदै त्यसमा सबैको साथ आवश्यक रहेको बताउँछन् ।
एमालेले टोलस्तरमा संगठन सुदृढ गर्दै चुनावी समिति गठनलाई तीव्रता दिएको छ भने रास्वपाले घरदैलो, सामाजिक सञ्जाल र युवा समूहको परिचालनमार्फत प्रभाव विस्तार गरिरहेको छ ।
दुवै उम्मेदवारले जित्ने दाबी गरिरहँदा झापा–५ का मतदाता भने ‘नयाँ’ र ‘पुरानो’ विकल्पबीच स्पष्ट रूपमा ध्रुवीकृत देखिन्छन् ।
जानकारका अनुसार झापा–५ को प्रतिस्पर्धा केवल दुई व्यक्तिबीचको होइन, राजनीतिक शैली र दृष्टिकोणबीचको टक्कर हो । एकातिर दशकौं लामो राजनीतिक अनुभव र पार्टी संरचना, अर्कोतिर नयाँ पुस्ताको ऊर्जा र वैकल्पिक राजनीतिक भाष्य—यी दुई धारबीच मतदाताले निर्णय गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
झापा–५ अहिले केवल निर्वाचन क्षेत्र मात्र होइन, राष्ट्रिय राजनीतिक दिशाको संकेत दिने ‘इपिसेन्टर’का रूपमा हेरिन थालेको छ । त्यसैले मतदाताको निर्णयले ‘अनुभव’लाई निरन्तरता दिने कि ‘परिवर्तन’लाई अवसर दिने भन्ने प्रश्नको जवाफ फागुन २१ गते दिने नै छन् ।
