News 24 Television
ओली, गगन, प्रचण्ड, बालेन को परिपक्क ?

काठमाडौं । मुलुकको वर्तमान राजनीतिक संकट समाधानको अचुक उपाय के हो ? भदौ २३  र २४ को जेनजी मुभमेन्ट र त्यसले खोजेको परिवर्तनमा राजनीतिक दलहरु कति सचेत भए र होलान् ? अनि भ्रष्ट्राचारको अन्त्य र सुशासन कायमको अचुक औषधि के हो ? गरिबी, व्यरोजगारी र विचौलीया अन्त्य गर्ने आधार के हुन् ? नागरिकले यी प्रश्नको उत्तर राजनीतिक दल र तीनका नेताहरुबाट खाजिरहेका छन् । तर दल र नेताहरु भने विकाश निर्माणको आश्वासन बाड्नमै व्यस्त छन् । 

राजनीतिक दलहरु स्वघोषित रुपमा प्रधानमन्त्री तोकेर फागुन २१ को चुनावी मैदानमा होमिएका छन् । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्दा नेपाली कांग्रेसले सभापति गगन थापा अघि सारेको छ । 

रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह “बालेन” र नेकपाले पुष्पकमल दाहाल “प्रचण्ड” भावि प्रधानमन्त्रीका क्यान्डिडेट मानेका छन् । ओली र प्रचण्ड तीन तीन पटक प्रधानमन्त्री भइसकेका पात्र हुन् भने बालेन र गगन पहिलो पटक प्रधानमन्त्रीको रेसमा छन् ।

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न हतारो गरेका दलहरुले चुनावको सम्मुखमा पुगिसक्दा पनि राजनीतिक घोषणा पत्र ल्याउन भने ढिलाई गरिरहेका छन् । 

बरु एकअर्का प्रति हल्का टिकाटिप्पणीमा व्यस्त हुँदा भिजन र एजेण्डाविहिन बनेका छन् । नयाँ अनुहार मानिएका बालेनको बोली फुटेको छैन । विषम् परिस्थितिमा मुलुकको संकट समाधानमा गम्भिर हुनुपर्ने नेताहरु झण्डा मुनिको राजनीतिमै रुमलिएको देखिन्छ । 

भदौ २३ र २४ को जेनजी आन्दोलन लगत्तै आफ्ना गल्तीको पश्चाताप गरेका कांग्रेस सभापति गगन थापा भावि प्रधानमन्त्रीका उम्मेदवार हुन् । पार्टीमा शेरबहादुर देउवालाई किनारामा पुर्याउनेदेखि पार्टी नेतृत्व कब्जा गर्न सफल भएका उनी मुलुकको वर्तमान संकट समाधानका लागि अन्य भन्दा चिन्तित देखिन्छन् । 

गगनले स्थायीत्व, सुशासन र रोजगारीको मुख्य एजेण्डा अघि सारेका छन् । गरिबी, बेरोजगारी र विचौलियाको अन्त्य गर्न नीतिगत सुधार आवश्यक रहेको र त्यसका लागि कानुन संशोधन गर्नुपर्ने उनको बुझाई छ । 

प्रतिनिनिधिसभा चुनावका लागि सर्लाही ४ रोजेका गगनले पार्टी घोषणापत्र माघ अन्तिम साता आउने दाबी गरेका छन् । यद्यपी अहिलेसम्म कुनै सुरसार छैन् । 

माघको पहिलो साता जनपुरधामको सभालाई सम्बोधन गरेका रास्वपा बरिष्ठ नेता बालेन शाहले त्यसयता मुख खोलेका छैनन् । आम नेपाली मतदाता र उनका शुभेच्क्षुक देशप्रति उनको सोच र विचार सुन्न आतुर छन् । तर उनी मौन विद्रोहमा छन् । जेनजी आन्दोलनको स्टेक होल्डर र त्यसयताको राजनीतिक परिवर्तनको अदृश्य कमाण्डर बालेनले मुलुकको वर्तमान समस्या समाधानको बाटो अर्थात् रोडम्यापबारे स्पष्ट पार्न ढिलाई गरिरहेका हुन् । 

उसो त उनले चुनावी प्रचारका लागि देशदौडाहामा पुग्दा सामाजिक संजाल माफर्त सांकेतिक प्रतिक्रिया दिने गरेका छन् । बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको रास्वपाले पनि अहिलेसम्म चुनावी घोषणापत्र तयार गरिसकेको छैन । उसले फागुन पहिलो साता घोषणापत्र ल्याउने बताएको छ ।  

पुरानै ढर्राका ओली 

तत्कालिन भदौ २३ र २४ को जेनजी आन्दोलनको बलमा सत्ताच्युत हुन पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली युवा आन्दोलनलाई प्रतिगमन भनिरहेका छन् । 

आन्दोलनमा विद्यार्थी बालबालिकासहित ७६ जनाले ज्यान गुमाए पनि अहिलेसम्म पश्चाताप गरेका छैनन् । बरु आगामी चुनाव देश जलाउनेहरु र देश बनाउनेहरुबीचको लडाई भनिरहेका छन् । 

११ औँ महाधिवेसन मार्फत तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका ओलीले देश र जनताका लागि नयाँ कार्यक्रम र नीतिमा चासो दिएका छैनन् । तर सार्वजनिक कार्यक्रममा आफैलाई  पिरोल्ने घरघरमा ग्याँसका पाइप लाइन र रेलमार्गको चर्चा गर्न भने छाडेका छैनन् । 

प्रचण्ड पनि आरोप प्रत्यारोपमै ब्यस्त 

जेनजी आन्दोलन लगत्तै पार्टी एकिकरण र धु्रवीकरण गरेर नयाँ शिराबाट अघि बढेको बताउने गरेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल “प्रचण्ड” पनि राजनीतिक आरोपप्रत्यारोपमा व्यस्त छन् । 

नेपाली विशेषताको समाजवाद ल्याउने भनेर होमिएका प्रचण्ड पछिल्लो समय नयाँ दलप्रति आक्रमक देखिन्छन् । जेनजी आन्दोलनलाई स्वागत गरेका प्रचण्डले नयाँ प्रति कटाक्ष गर्नु बाहेक अन्य कुनै रोडम्याप पेस गर्न सकेका छैनन् । 

आम चुनावको सम्मुखमा पुग्दा समेत स्वघोषित प्रधानमन्त्रीका उम्मेदवारहरु भ्रष्ट्राचार नियन्त्रण, सुशासन कायम, गरिबी, व्यरोजगारी तथा विचौलियाको अन्त्य गर्ने विषयमा गम्भिर देखिएका छैनन् । 

केवल चुनाव कसरी जित्न सकिन्छ भन्ने ध्याउन्नमा रहेका नेताहरु मुलुकका वर्तमान संकट समाधानको स्पष्ट चित्र कोरेर अघि बढ्दा नै बुद्धिमानी हुनेछ, अन्यथा भदौ २३ र २४ को विद्रोह भन्दा ठुलो विस्फोट नहोला भन्न सकिन्न ।

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update