News 24 Television
प्रचण्डको ३ हप्ते अल्टिमेटम र कडा चेतावनी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आशन्न निर्वाचनलाई लक्षित गर्दै देशभरका नेता तथा कार्यकर्तालाई कम्तिमा ३ हप्ता आफ्नो निर्वाचन क्षेत्रमा खटिन निर्देशन दिएका छन् ।

बुधबार पोखरामा आयोजित पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संयोजक दाहालले निर्वाचन हुँदैन की भन्ने द्विविधाबाट मुक्त भई अबको तीन हप्ता पार्टीलाई दिन अपिल गरेका छन् । 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको माहोल आफ्नो पार्टीतिर बढदै गएको दाबी गरेका छन् । बुधवार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले विपक्षी राजनीतिक दलहरुले समेत निर्वाचनको माहौला नेकपाको पक्षतिर गएको भन्ने निष्कर्षमा पुगेको दाबी गरे । 

संयोजक दाहालले नेकपाले प्रत्यक्षतर्फको निर्वाचनमा राम्रो नतिजा आउने देखिएको उल्लेख गर्दै सबैभन्दा उत्कृष्ट पार्टी बनाउने गरी मेहनतका साथ निर्वाचनको प्रचार अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । नयाँ भनिएका राजनीतिक दलहरुको नयाँ ठाउँमा निर्वाचनको केही माहौल देखिएपनि पुराना ठाउँहरुमा त्यस्तो नभएको उनको दाबी छ । 

संयोजक दाहालले नेकपा, काँग्रेस, एमाले र रास्वपाबीच निर्वाचनमा कडा प्रतिष्पर्धा हुने पनि बताए । आगामी १०, १५ दिनभित्रै नेकपाले अन्य सबै पार्टीहरुलाई जितेर निर्वाचनको माहोलमा आफ्नो तर्फ बनाउने पनि उनको भनाइ छ । 

पोखरामा सम्बोधनमा क्रममा उनले आफ्नो पार्टी नयाँ र सबैभन्दा भिजन भएको पार्टी भएको दोहो¥याए । नेकपामा हजारौँ युवाहरुको साथ रहेको पनि उनले जिकिर गरेका छन् । 

प्रचण्डको आशंका 

आशन्न निर्वाचनका क्रममा प्रचण्डले आशंका पनि व्यक्त गरेका छन् । उनले मतगणनाको क्रममा हुन सक्ने सम्भावित घुसपैठप्रति सतर्क रहन पनि निर्देशन दिएका छन् । निर्वाचन बुथहरुमा खटिने स्वयमसेवकहरुलाई आवश्यक प्रशिक्षण र अभिमुखिकरण, मतदान अघि र पछि एवम् मतगणनाको क्रममा सचेत रहन पनि उनले अनुरोध गरेका छन् । पोखराकै सभालाई सम्बोधन गर्दै उनले विगतका सभा समारोहमा हुने लाखौँ रुपैयाँ खर्चलाई अहिले डिजिटल प्रचारमा लगाएको उनले बताए । 

ठूला सभा सम्मेलन गरेर मत माग्ने जमाना गइसकेको भन्दै उनले टोलटोलमा गएर आफ्ना कुरा भन्न पनि कार्यकर्ता तथा नेताहरुलाई निर्देशन दिएका छन् । 

प्रतिविधिमा साम्राज्यवादीसँग प्रतिष्पर्धा गर्न नकिने उनी स्वीकार्छन् । तर गलत सूचनालाई काउन्टर दिन भने सहजै सकिने प्रचण्ड बताउँछन् । रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई आफ्ना पछिल्ला अभिव्यक्तिहरुमा उनले विदेशी दलालको आरोप लगाउँदै आएका छन् । 

बालेनलाई अघि बढाउन विदेशी शक्तिहरूले ठूलो लगानी गरेको उनको दाबी छ । त्यस्तै रास्वपाका रवि लामिछाने र बालेन शाहलाई लक्षित गर्दै उनले पपुलिस्ट र प्रतिगामी दलहरूसँग गठबन्धन नगर्ने स्पष्ट पारेका छन् । निर्वाचनको अन्तिम क्षणतिर नेकपाले अन्य चुनावी तालमेल ग¥यो भन्द अफवाह फैलाउन सक्ने प्रति सचेत रहन पनि प्रचण्डको आग्रह छ । 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update