News 24 Television
दोलखामा जिरी नगरपालिका कार्यसम्पादनमा पहिलो

काठमाडौं । दोलखा जिल्लाका स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकनमा जिरी नगरपालिका पहिलो स्थानमा परेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजाअनुसार जिरी नगरपालिकाले ७२.०९ अंक प्राप्त गर्दै जिल्लाका ९ वटै पालिकामध्ये उत्कृष्ट प्रदर्शन गरेको हो।

आयोगले वित्तीय अनुशासन, बजेट व्यवस्थापन, सेवा प्रवाह लगायत १७ वटा सूचकका आधारमा मूल्यांकन गरेको थियो। जिरी नगरपालिका जिल्लामा ७० अंकको सीमा पार गर्ने एकमात्र पालिका बनेको छ।

मूल्यांकनमा मेलुङ गाउँपालिका ६६.१० अंकसहित दोस्रो स्थानमा रह्यो भने शैलुङ गाउँपालिका ५९.५० अंकसहित तेस्रो स्थानमा परेको छ। त्यसैगरी भीमेश्वर नगरपालिकाले ५८.९४ अंक र गौरीशंकर गाउँपालिकाले ५५.३० अंक प्राप्त गरेका छन्।

वैतेश्वर गाउँपालिका र कालिन्चोक गाउँपालिकाले समान ५३.३० अंक ल्याएका छन्। तामाकोशी गाउँपालिकाले ४७.५३ अंक प्राप्त गर्दै ५० अंकको सीमा पार गर्न सकेन भने विगु गाउँपालिका ४१.०८ अंकसहित जिल्लाको अन्तिम स्थानमा रहेको छ।

पालिकाहरूको बजेट सार्वजनिक गर्ने समयसीमा, आन्तरिक राजस्व संकलन, बेरुजु फछ्र्यौट, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भएको प्रगति लगायतका सूचकहरूलाई आधार मानेर मूल्यांकन गरिएको आयोगले जनाएको छ। समग्रमा जिल्लाका पालिकाहरूको कार्यसम्पादन मिश्रित देखिएको छ भने अन्य पालिकाहरूले सुधार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update