काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि उम्मेदवारहरुले चुनावी प्रचारप्रसार गर्न पाउने निर्वाचन आयोगको कार्यतालिका छ । तर उम्मेदवार तथा राजनीतिक दलका नेताहरु चुनावी दौडाहामा मतदाताको घरघरमा पुगिसकेका छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि हुन लागेको यो निर्वाचनमा पुराना राजनीतिक दलहरु भन्दा नयाँ दलप्रति आकर्षण बढि देखिएको छ । त्यसैले प्रमुख तीन दलका शीर्ष नेताहरु नयाँ दलप्रति सशंकित छन् ।
राजनीतिक दलहरु आगामी ८४ सालको निर्वाचनलाई लक्षित गर्दै मिसन ८४ अभियान नै चलाइरहेका थिए । तर भदौ २३ र २४ को युवा पुस्ताको आन्दोलनले कांग्रेस सम्मिलित एमाले नेतृत्वको सरकारलाई नै सत्ताच्यूत गरेपछि नयाँ परिस्थितिकाबीच आगामी फागून २१ गते प्रतिनिधिसभा सदस्यको लागि निर्वाचन हुन लागेको हो । युवा पुस्ताको आन्दोलनपछि हुन लागेको यो निर्वाचनमा ७९ सालको निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको आकर्षण देखिएको छ ।
खासगरी काठमाडौं महानगरपालिकाको मेयर छाडेर रास्वपा प्रवेश गरेका बालेन्द्र साह (बालेन) रास्वपामा प्रवेश गरी भावी प्रधानमन्त्रीको रुपमा अघि सारिएपछि युवा पुस्तामा नयाँ दलप्रतिको आकर्षण झनै बढी देखिएको हो । रास्वपाले बालेनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीकै क्षेत्रबाट उम्मेदवार बनाएपछि झनै टकरावको स्थिति बनेको छ । बालेन आफू उठेको झापा क्षेत्र नम्बर ५ मात्र नभई तराई मधेस पहाड सवै ठाउँ पुग्दा उनलाई हेर्ने र समर्थन गर्ने युवाहरुको भीँड उत्तिकै देखिएको छ ।
त्यसैले विघटित प्रतिनिधिसभाका प्रमुख दलहरु नयाँ दलप्रति झस्किरहेका छन् । कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले भदौ २४ मा भएको विध्वंसको आरोप नयाँ दलप्रति लगाइरहेका छन् । जेनजी आन्दोलनलाई प्रतिगमनको संज्ञा दिँदै आएका एमाले अध्यक्ष केपी ओलीले चुनावमा भोट माग्ने जाने क्रममा पनि नयाँ दललाई विध्वंसकारीको आरोप लगाइरहेका छन् ।
एमालेलाई मात्र होइन, सबै राजनीतिक दलहरुको जग हल्लाएको जेनजी आन्दोलनपछि विशेष महाधिवेशनबाट कांग्रेस सभापति बनेका गगन थापाले पनि भदौ २४ को विध्वंसको भण्डाफोर गरिरहेका छन् । उनले फेरि पनि सिंह दरबार जल्दैन भन्ने ग्यारेन्टी कांग्रेसले मात्रै गर्न सक्ने भन्दै मत आकर्षित गर्ने प्रयत्नमा छन् ।
भदौ २४ पछि एकता र ध्रुवीकरणको प्रक्रिया अघि बढाउँदै नेपाली कम्युनिस्ट पार्टीका संयोजक बनेका पुष्पकमल दाहाल प्रचण्ड विशेष परिस्थितिकाबीच हुन लागेको निर्वाचन अर्थपूर्ण रहेको बताइरहेका छन् । एउटा निर्वाचन अभियानका रूपमा मात्रै नसोचेर यो राष्ट्रको रक्षा गर्ने र राष्ट्रलाई गुलाम बनाउने प्रवृत्तिका बीचमा लडाइँ भएको प्रचण्डको भनाई छ । राष्ट्रलाई जलाएर ध्वस्त पार्न चाहने र यो राष्ट्रलाई जसरी पनि सुदृढ र समृद्ध बनाउन चाहने प्रवृत्तिका बीचको लडाईका रूपमा यो निर्वाचनलाई लिनुपर्ने प्रचण्डले बताइरहेका छन् ।
७९ सालको निर्वाचन भन्दा ६ महिना अघि मात्रै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने भदौ २३ र २४ को आन्दोलनलाई परिवर्तनकारी युवा शक्तिको आन्दोलनको रुपमा अथ्र्याइरहेको छ ।
बालेन लगायत चर्चित अनुहारलाई आफ्नो पार्टीमा भित्राएर चुनावको टिकट नै दिएको रास्वपाले अहिले आफूलाई वैकल्पिक शक्ति बताइरहेको छ । नयाँ दलले पुरानालाई बढार्ने रणनीति बनाइरहँदा नयाँ दललाई विध्वंसकारीको विल्ला भिराउने प्रमुख राजनीतिक दलहरुको अस्त्रले कस्तो काम गर्ला प्रतिक्षा गर्नुपर्नेछ ।
