News 24 Television
त्रिभूवन विमानस्थल वरपर निषेधाज्ञा, सुरक्षा व्यवस्था कडा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार झापाबाट काठमाडौँ आउँदैछन् । पूर्वराजा काठमाडौँ आउँदै गर्दा राजावादी समूहहरुले त्रिभूवन विमानस्थलमा स्वागतको तयारी गरेका छन् । राजावादी समूहको यो तयारीपछि सरकार झस्किएको छ । स्वागतमा गरिने तयारीलाई मध्यनजर गर्दै काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सुरक्षा चुनौति महशुष गर्दै विमानस्थल वरपर फागुन १ गतेदेखि लागु हुनेगरी एकमहिनासम्मका लागि निषेधाज्ञा जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले विमानस्थल वरपर निषेधाज्ञा जारी गरेपनि दुर्गा प्रसाई लगायतका राजावादी समूहले अटेर गर्ने तयारी गरेका छन् । 

राजावादी समुहले पूर्वराजाको स्वागत कार्यक्रमलाई शक्ति प्रदर्शनको रुपमा लिएका छन् । निर्वाचनको मिति नजिकिदै जाँदा सुरक्षा निकायले भने यसलाई सम्भावित भिडन्तको रुपमा बुझेको छ । त्यसैले बिहिवार जिल्ला सुरक्षा परिषदको बैठक राख्दै सुरक्षाकर्मीलाई हाइ अलर्टमा राखिएको छ ।

जिल्ला प्रशासनले विमानस्थल वरपर र आसपासका क्षेत्रहरुमा ५ जनाभन्दा बढि भेला भएर प्रदर्शन, जुलुस, ¥याली र सभा नगर्न भन्दै सूचना जारि भइसकेको छ । तर यो सूचनालाई दुर्गा प्रसाईले चुनौति दिएका छन् । पत्रकार सम्मेलन गर्दै पूर्वराजाको स्वागतका लागि उपत्यका आसपासमा रहेको समर्थकलाई विमानस्थल पुग्न आह्वान गरेका छन् । 

निषेधाज्ञाको विरोध

पूर्वराजा काठमाडौ फर्किदा गरिन लागिएको स्वागत कार्यक्रमलाई प्रशासनले लगाएको रोकप्रति राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आपत्ति जनाएका छन् । 

प्रशासनको यो निषेधाज्ञाले चुनावको माहोल समेत बिथोलिन सक्ने उनको चेतावनी छ । यता, प्रशासनले निषेधाज्ञाको पालना नभएका कानूनी कारबाही हुन सक्ने चेतावनी दिएको छ । 

राजावादी समूह र प्रशासनबीच मुठभेड हुन सक्ने अवस्था सिर्जना भएको छ । पूर्वराजाको स्वागतमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, दुर्गा प्रसाईं नेतृत्वको महाभियान, नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिसहितका राजावादी संघसंस्थाहरूको सहभागिता रहने बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update