News 24 Television
डिजिटल रणनीतिमा केन्द्रीत रास्वपा, स्टन्ट र पपुलिस्टको आरोप

काठमाडौं । २०७९ सालको निर्वाचनबाट नेपाली राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफुलाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने होडमा छ ।

आशन्न निर्वाचनका लागि जोडतोडले अभियान चलाइरहेको रास्वपा विशेष गरी डिजिटल माध्यम र सामाजिक सञ्जाललाई आफ्नो मुख्य चुनावी हतियार बनाउन केन्द्रीत छ । अघिल्लो निर्वाचनमा पनि  सामाजिक सञ्जालको प्रभावकारी प्रयोग र सभापति रवि लामिछानेको क्रेजका कारण संसदमा चौथो शक्ति बनेको रास्वपाले आगामी निर्वाचनमा पनि डिजिटल रणनीतिलाई प्राथमिकता दिएको देखिन्छ । 

रास्वपाको डिजिटल रणनीति मुख्य रूपमा फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युव र एक्सजस्ता प्लेटफर्ममा केन्द्रित छ । रास्वपाले स्पोन्सर्ड पोस्ट, भाइरल भिडियो, मिम्स, लाइभ स्ट्रिमिङ र टार्गेटेड विज्ञापनमार्फत गाउँदेखि शहरसम्मका मतदातालाई लक्षित गर्दै चुनावी अभियान गरिरहेको छ । 

रास्वपाको डिजिटल प्रचारको रणनीतमिा धेरै अप्रत्यक्षरुपमा जोडिएका छन् । उनीहरुले विभिन्न माध्यमहरुकमार्फत् आउने समाचार वा अन्य कन्टेन्टहरुमा रास्वपाको चुनाव चिन्ह घण्टी पोस्ट गर्दै र विभिन्न प्रतिक्रिया दिदै सहभागि भइरहेका छन् । रास्वपा समर्थकहरूले मोबाइलमा डिजिटल घण्टी बजाएर प्रचार गर्ने ट्रेन्ड नै चलाएका छन् । रास्वपाले एआई र डिजिटल कन्टेन्ट क्रिएशनमा पनि जोड दिएको छ । 

रास्वपामा काठमाडौँमा निवर्तमान मेयर बालेन शाह समेत जोडिएपछि डिजिटल प्रचारबाजी झन बढेको देखिन्छ । झापा ५ बाट एमाले अध्यक्ष ओलीसँग प्रतिष्पर्धा गरिरहेका बालेनको देश दौडाहालाई पनि रास्वपाले प्रचारप्रसारको मुख्य आधार बनाएको छ । नबोलिकनै बालेन झापा हुँदै पूर्वी नेपाल सहित पश्चिम नेपाल समेत गरेर देशभरी नै पुगिसकेका छन् । रास्वपाको यस्तो शैलीलाई राजनीतिक दलका शीर्ष नेताहरुले स्टन्ट र पपुलिस्टको उपमा दिएका छन् । 

त्यसो त रास्वपाले डिजिटल प्रचारमा ठूलो रकम खर्च गरेको देखिन्छ । बुधवार पोखराका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेकपा संयोजक प्रचण्डले रास्वपाको यो शैलीलाई इंगित गर्दै चुनावमा परम्परागत घरदैलो, सभा सम्मेलनको स्वरुप फेरिएको बताएका थिए ।

डिजिटल प्रविधि र पहुँच बढ्दै जाँदा यो पटक फागुन २१ को निर्वाचन डिजिटल प्रतिष्पर्धामा करिब करिब परिणत भइसकेको छ । पुराना दलहरुले समेत यही शैलीलाई महत्व दिइरहेका छन् । 

कांग्रेस सभापति थापाले आफ्नो एजेण्डा हरेक दैनिकजसो सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेकका छन् । चुनावी प्रचारप्रसार डिजिटल मैत्री बन्दा आगामी निर्वाचनमा यसको प्रभाव कस्तो पर्छ, त्यो हेर्न बाँकी छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update