News 24 Television
जेनजी आन्दोलनलाई चुनावी मुद्दा बनाउँदै रास्वपा र एमाले

काठमाडौं । समाजिक सञ्जालमा केपी ओली र एमाले माथि हत्याराको आरोप लगाउने र त्यसको प्रतिरक्षा गर्दै देश जलाउने र गोलि हान्न बाध्य पार्नेहरु माथि कार्वाही हुनुपर्ने भन्दै जुहारी नै चल्ने गरेको छ । यो जुहारीमा विशेषगरी रास्वपा र एमाले समर्थकहरु आम्नेसाम्ने छन् ।

बिगतमा एमाले नेताहरुले सरकारको गल्ति नभएको हठ देखाउने गरेता पनि एमाले उम्मेदवारहरुले भने अहिले मतदाताहरुसँग एमालेले सरकारको नेतृत्व गरेको हुनाले गल्ति भए स्विकार गर्न तयार हुने तर शान्तिपूर्ण आन्दोलनमा आएका विद्यार्थीहरुलाई संसद भवनमा आक्रमण गर्न आगो बोकेर पठाउने समुह र ब्यक्तिहरु पनि छनबिनको दायरामा आउनु पर्ने बताइ रहेका छन् ।

फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा  १ सय ६५ निर्वाचन क्षेत्रमै दलसंगै स्वतन्त्र उम्मेदवारहरु निर्वाचन केन्द्रीत गतिविधि गरी रहेका छन् । पुराना दलले नयाँ र स्वतन्त्र उम्मेदवारहरु माथि आगो ओकलिरहेका छन् भने नयाँ र स्वतन्त्र उम्मेदवारहरुले पुराना दलहरु माथि धावा बोलिरहेका छन् । 

निर्वाचन क्षेत्रमा अहिलेसम्म झुलो झडप नभए पनि सामाजिक सञ्जालमा एकले अर्काे बिरुद्ध धाबा बोलिरहेका छन् । राजनीतिक महोल गरमागरम बनेको छ । जेनजी आन्दोलनमा निहत्था नागरिकको हत्या भएको भन्दै रास्वपा समर्थक तथा उम्मेदवारहरु तत्कालिन सरकार प्रमुख केपी ओली र उनको दल नेकपा एमाले माथि खनिएका छन् । 

यता एमाले नेताहरुले भने सरकारलाई गोलि चलाउन बाध्य पार्ने गरी आन्दोलन माथि घुसपैठ गर्ने काम भएको र नियोजित रुपमा एमाले माथि आरोप प्रत्यारोप लगाउने काम भएको भन्दै उक्त आरोपको खण्डन गर्ने गरेका छन् । 

आन्दोलनका बेलामा सरकारकातर्फबाट भएको गल्ति स्विकार गर्ने तर आन्दोलनमा घुसपैठ गरेर संसद भवनको गेटमा विद्यार्थीहरु लैजाने र गोलि चल्ने वातावरण सिर्जना गराउनेहरु माथि पनि छानबिन हुनुपर्ने तर्क एमाले नेता कार्यकर्ताको छ ।  

जेनजीहरुले राखेको माग पुरा हुनुपर्ने र त्यसमा एमालेको समेत ऐक्यद्धता रहेको नेता भट्टराई बताउँछन् । जनताले खोजेको सुशासनको क्षेत्रमा काम गर्न जुनसुकै दल वा समुह संग एमाले सहकार्य गर्न तयार रहेको उनको भनाई छ । तर पछिल्लो समय मुलुकमा जनताहरुमा छाएको निराशालाई प्रयोग माथि भुराजनीतिक प्रभाव परेको भन्दै नेपाललाई शान्तिको बाटोमा लैजानु पर्ने सबैको दायित्व रहेको भट्टराईको तर्क छ ।  

एमालेका केही नेताहरुले विपक्षी उम्मेदवार र दलका बिरुद्धमा बोल्दा अहिले एमाले माथि नै ब्याग फायर भइरहेको छ । त्यसैले गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि पछिल्लो समय आफ्ना अभिव्यक्तिहरुमा नियन्त्रण गर्दै लगेको देखिन्छ । पछिल्लो समय एमाले उम्मेदवारहरु पनि जनताको घरदैलोमै पुग्ने र मतदाताका कुरा सुन्ने र आफ्नो कुराहरु पनि धैर्यताका साथ राख्ने गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update