कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा पनि चुनावी सरगर्मी बढ्दै गएको छ । कैलाली ४ मा एमाले उपमहासचिव लेखराज भट्टसहित नयाँ अनुहारहरू चुनावी मैदानमा छन् ।
कैलाली–४ यस्तो निर्वाचन क्षेत्र हो, जहाँ हरेक निर्वाचनमा मतदाताले आफ्नो मत परिवर्तन गर्दै फरक फरक दल र नेतालाई जिताउँदै आएका छन् । २०४८ सालदेखि २०७९ सम्म भएका सबै संसदीय निर्वाचनमा यहाँ हरेक पटक मतदाताको छनोट परिवर्तन भएको छ । त्यसैले यसपटक मतदाताको छनोटमा कुन दल र उम्मेदवार छन्, सर्वत्र चासो देखिएको छ ।
एमाले, कांग्रेस, नेकपा, रास्वपा र नागरिक उन्मुक्ती पार्टीसहितका उम्मेदवारबीचको बहुपक्षीय प्रतिस्पर्धाले कैलाली–४ को निर्वाचन थप चासोपूर्ण बनेको छ । यसपटक एमाले उपमहासचिव तथा पुर्वमन्त्री लेखराज भट्ट फेरि संसदीय यात्रा तय गर्न यही क्षेत्रबाट चुनावी मैदानमा छन् । तर यसपटक उनका प्रतिस्पर्धी भने सबै नयाँ रहेका छन् ।
त्यसैले सहजै चुनाव जित्ने दावी उनको रहेको छ । नेपाली कांग्रेसबाट गोरखबहादुर विष्ट, नेकपाबाट हरिराम चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट खेमराज कोइराला, नागरिक उन्मुक्ती पार्टी नेपालबाट धनबहादुर सुनार डिबि लगायत १६ जना पहिलो पटक संसदीय चुनाव लड्दैछन् । राष्ट्र र राष्ट्रियताको रक्षा गर्दै देशलाई समृद्ध बनाउन आफ्नो उम्मेदवारी रहेको लेखराज भट्टले बताए ।
भट्ट विगतमा उद्योगमन्त्री रहँदा अघि बढाएका तर अधुरा रहेका योजना पूरा गर्ने दाबी गरिरहेका छन् । कृषि आधुनिकीकरण र व्यवस्थित शहरीकरण पनि मुख्य एजेन्डा रहेको उनले बताएका छन् । कांग्रेस उम्मेदवार गोरख बहादुर विष्ट लामो समय अमेरिकामा बसेर फर्किएका नेता हुन् भने हरिराम चौधरी उत्सव (नेकपा) सुदूरपश्चिम प्रदेशका अध्यक्ष समेत हुन् ।
उनले भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी र भूमिहीन तथा मुक्त कमैयाका समस्या समाधान गर्ने मुख्य एजेन्डा रहेको बताएका छन् । पूर्व माओवादी पृष्ठभूमिका हरिराम चौधरी यसपटक आफ्नै पूर्व सहकर्मी लेखराजसँग प्रतिस्पर्धामा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खेमराज कोइराला पनि पहिलो पटक चुनावी मैदानमा छन् । संघीय सांसदको जिम्मेवारी इमानदारीपूर्वक निभाउँने र शिक्षा, कृषि, पूर्वाधार र बेरोजगारी समाधानमा केन्द्रित रहने उनको भनाई छ । अहिले देशले नयाँ खोजेकोले आफ्नो जित निश्चित रहेको उनको दाबी छ ।
यस निर्वाचनमा नागरिक उन्मुक्ती पार्टी पनि बलियो दाबेदारका रूपमा देखिएको छ । पार्टीले धनबहादुर सुनार ‘डिबी’ लाई उम्मेदवार बनाएको छ । उत्पीडित, सीमान्तकृत र आवाज नपुगेका समुदायका हकअधिकारका लागि चुनावी मैदानमा उत्रिएको र यसपटक आफ्नो जित सुनिश्चित रहेको उनको दावी छ ।
यसरी एमाले, कांग्रेस, नेकपा, रास्वपा र नागरिक उन्मुक्ती पार्टीका उम्मेदवारबीचको प्रतिस्पर्धाले कैलाली–४ को निर्वाचनलाई चासोको रुपमा हेरिएको छ । यस क्षेत्रका मतदाताले पनि यसपटकको निर्वाचनमा स्वविके प्रयोग गर्दै हाम्रालाई भन्दापनि राम्रालाई मत दिने बताइरहेका छन् ।
इतिहास दोहो¥याउने दाउमा रहेका लेखराज भट्ट र नयाँ अनुहारहरूबीचको प्रतिस्पर्धाले कैलाली–४ को निर्वाचन सुदूरपश्चिमकै चासोपूर्ण निर्वाचन क्षेत्र बनेको छ ।
