काठमाडौं । मधेस केन्द्रित दुई दलले घोषणापत्र सार्वजनिक गरेका छन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र प्रभु साह नेतृत्वको आम जनता पार्टीले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रअनुसार शिक्षा स्वास्थ्यलाई निःशुल्क बनाउने प्रतिबद्धता व्यक्त गरेपनि अन्य विषयमा भने केहि फरक देखिन्छन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले घोषणापत्र सार्वजनिक गरेको छ । जसपाले घोषणापत्रमै संविधान संशोधनको मुद्दालाई अघि सारेका उपेन्द्रले अन्तराष्ट्रिय सम्बन्धलाई औपचारिकता दिन खोजेका छन भने वैदेशिक रोजगारीमा जानेलाई निशुल्क भीसा र टिकट दिने विवादास्पद विषय राखेका छन् ।
यता, प्रभु साह नेतृत्वको आम जनता पार्टीले पनि घोषणापत्रमा आइटी हब निर्माणदेखि शिक्षा स्वास्थ्यको आधारभूत सेवा निशुल्क गर्ने भनेको छ । जसमा जसपा नेपालको घोषणापत्रका विशेषता के छन त ?
१. शिक्षा र स्वास्थ्य सेवा निःशुल्क
२. वैदेशिक रोजगारीमा फ्रि भिसा, फ्रि टिकट
३. भ्रष्टाचार नियन्त्रणका लागि जनलोकपाल गठन
४. ५ वर्षमा ५० लाख रोजगारी सिर्जना
५. महिला, दलित, युवा र सीमान्तकृत समुदायलाई विशेष आरक्षण
६. सविधान पुनर्लेखनमार्फत हक स्थापित गर्ने
७. न्याय तथा कानूनी सेवालाई सहज र सुलभ बनाउन पहल गर्ने
८. वैज्ञानिक भू–उपयोग, भूमिसुधार र भू–व्यवस्थापनका निम्ति विशेष पहल गर्ने जस्ता विषय समावेश भएका छन् ।
जसपा नेपालले जस्तै आम जनता पार्टीले पनि घोषणापत्र सार्वजनिक गरेको छ। जसमा आजपाले अघि सारेका केहि बुँदाहरु यस्ता छन्ः
१. प्रत्यक्ष कार्यकारी र पूर्णसमानुपातिक निर्वाचन प्रणाली
२. भ्रष्टाचार नियन्त्रणका लागि विशेष कानूनी संरचना र न्यायालयको पूर्ण डिजिटलीकरण
३. रोजगारीको ग्यारेन्टीअन्तर्गत युवालाई १० देखि २५ लाखसम्म उपलब्ध गराएर आइटी हब निर्माण गर्ने
४. शिक्षा, स्वास्थ्य र आधारभुत सेवा निःशुल्क
५. पूर्वाधार, ऊर्जा र आवासमा हिमालयन पानीको ब्राण्डिङसम्मका विषय समेटिएका छन् ।
मधेस केन्द्रित दुई दलले घोषणापत्रमा यस्ता बाँचा गरेपनि केहि विषय भने अझैं अनुत्तरित नै देखिन्छन् । निर्वाचन आयोगले दलहरुलाई फागुन ३ गतेसम्म घोषणापत्र सार्वजनिक गरि आयोगमा बुझाउन निर्देशन दिइसकेको छ ।
दलहरुले घोषणापत्र धमाधम सार्वजनिक गरिरहेका छन भने केहि दलहरुले अझैं पनि घोषणापत्र कहिले सार्वजनिक गर्छन भन्ने सूचना समेत दिन सकिरहेका छैनन् ।
