News 24 Television
रवि बालेनलाई पपुलिस्ट भन्ने एमाले ओलीलाई किन देख्दैन ? ओली किन पपुलिस्ट ?

काठमाडौं । एमाले पपुलिजमको खतरामा देश परेको दाबी गर्दै आएको छ । राजनीतिक रुपमा विचार, सिद्धान्त र मार्गनिर्देशनबिना पात्र र प्रवृत्ति अनेक आवरणमा अघि आउने र उनीहरु नै निर्णायक बन्ने खतरालाई एमालेले पपुलिजम अर्थात लोकप्रियतावादको चरम रुप भन्ने गर्छ । किन एमाले यस्तो त्रासमा देखिन्छ ? 

लोकप्रियताद एकखाले फेनोमेना बन्न पुगेको छ । लोकप्रियतावादको उदय, विकास र विनास चरम खतरामा हुने अवस्था विश्व राजनीतिक परिवेशमा देखिने गरेको छ । लोकप्रियतावादले क्षणिक गति लिएपनि त्यसले सामाजिक द्वन्द्ध समाधान गर्न सक्दैन भने राजनीतिक रुपमा पनि यसको परीक्षा असफलप्राय बन्ने गर्छ । यहि कुरालाई लोकप्रियतावाद भन्दै एमालेले प्रतिरोध गर्ने भन्दै आएको छ । 

यस्तो स्थितिमा एमालेले आफू र नेपाली कांग्रेसबाहेकलाई यहि बास्केटमा राख्ने गर्छ । एमालेको प्रतिष्पर्धी कांग्रेसबाहेक नहुने दाबी गर्छ । अन्यलाई पपुलिस्टहरुको झुण्ड भन्ने गर्छ । तर, राजनीतिक जोखिमसंगै लोकप्रियतावादको प्रमुख केन्द्र यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी बनेको छ । एमालेले भ्रमबाट मुक्त बन्न र मतदाताले लोकप्रियतावादलाई अस्वीकार गर्न अपिल गरिरहेको छ । 

एमालेले लोकप्रियतावादको राजनीतिक अर्थ समय परिवेशअनुसार लगाउने गर्छ । उसोतः अन्य दलका नेताहरु पनि लोकप्रियतावादले नेपाललाई संकटमा धकेल्ने खतरा भने देख्ने गर्छन् । 

लोकप्रियतावादलाई सामाजिक सञ्जालको स्टन्टको रुपमा समेत ब्याख्या गर्ने गरिन्छ । जुन विषयमा रास्वपा नै अग्रपंक्तिमा देखिन्छ । उनीहरुले सामाजिक सञ्जाल प्लेटफर्महरुको परिचालनलाई नै प्रमुख हतियार बनाउने गरेका छन् । जसले समाजलाई नै एकखाले प्रभावमा राख्न सफल पनि भएको देखिन्छ । तर, लोकप्रियतावादको अर्थ भने परिस्थिति र समयले नै निर्धारण गर्ने गरेको नेपालको राजनीतिले देखाइरहेको छ ।

ओली नै थिए, पपुलिस्ट नेता

२०७२ सालमा भारतले लगाएको अघोषित नाकाबन्दीको बेला केपी ओलीले त्यसको जमेर प्रतिवाद गरे । ओली एकाएक राष्ट्रवादी नेताको रुपमा उदाए । ओली आफूलाई सर्वमान्य नेताको रुपमा ब्याख्या गर्थे भने अन्य नेताहरुले ओलीलाई पपुलिस्ट भन्ने गर्थे । त्यसपछि ओलीको लोकप्रियतामा प्रश्न गर्न समेत कठिन बन्ने अवस्था सिर्जना हुन पुग्यो । 

तत्कालीन नेकपाको सकरारमा हुँदा पनि ओलीले सडकका भित्तामा पनि आफ्नो फोटोसहित सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारासहित आफूलाई स्थापित गर्ने प्रयास गरे । लोकप्रियतावादको भासमा ओली फसेपनि एमालेले यसलाई सम्पत्तिको रुपमा विकास गर्ने प्रयास ग¥यो ।

ओली एकछत्र नेता बने । तर, ओलीको देवत्वकरण गर्नेहरु अहिले दुत्कार्ने स्थितिमा आइपुगेका छन् । लोकप्रियतावादको आयु लामो नहुने र धेरै समय नटिक्ने विश्वव्यापी मान्यता ओलीमा नै लागू भएकाले यसलाई लोकप्रियतावादसंग जोडेर हेर्ने गरिन्छ । 

परीक्षण गर्न रुचाउने नेपाली समाज

नेपाली समाज पनि हरेक परीक्षण गर्न रुचाउछ । तत्कालीन माओवादीलाई दिएको अत्यधिक मत, तत्कालीन नेकपाले पाएको झण्डै दुई तिहाईको बहुमत, स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जितेको रेकर्डदेखि रास्वपाको उदयलाई हेर्दा नेपाली समाज छिटो परिवर्तन खोज्छ भन्ने संकेत गर्छ । 

हरेक १० वर्षमा ठूला आन्दोलन वा परिवर्तनका प्रयास देखेको नेपाली समाज अस्थिर र नेताहरुको चरित्र पनि यहि समाजवाद निर्देशित हुने हुनाले लोकप्रियतावादको प्रवद्र्धन, संवद्र्धन र पोषण समेत हुने गर्छ । तर, लामो समय यस्ता विषय टिकेको भने देखिन्न । आफैले निर्माण गरेको वातावरणको धरापमा आफै पर्ने नेपाली दृष्टान्त देखिन्छ । 

ओलीले कुनैबेला निर्माण गरेको राजनीतिक वातावरण जेनजी आन्दोलनको बेला हेलिकोप्टरबाट बाहिरिनुपर्ने स्थितिले पनि लोकप्रियतावादको अन्त्य दुखद् हुने गर्छ भन्ने संकेत देखिन्छन् । तर, परीक्षणमै समय विताएको नेपाली समाजले खोज्ने चमत्कार गर्ने नेता सम्भव छ ? के अस्थिर जनमतले स्थिर नेपाल निर्माण सम्भव छ ? प्रश्नहरु भने लोकप्रियतावादकै वरिपरी घुमिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update