News 24 Television
सर्लाही ४ः हाइप्रोफाइल क्षेत्र, गगन–अमरेशले जमाए अड्डा

रौतहट । फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा सर्लाही ४ को माहोल अझै गर्माएको छ । नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपा उम्मेदवार डा. अमरेश कुमार सिंहको प्रमुख प्रतिस्पर्धा रहने सर्लाही ४ लाई चासोको रुपमा हेरिरहँदा दुवै पक्ष अहिले मतदाताको मन जित्ने होडमा छन् । 

काठमाडौँको सुरक्षित मानिएको चुनावी क्षेत्र छोड्दै थापा सर्लाही ४ मा झरेका हुन् भने अमरेशले स्वतन्त्र उम्मेदवारकै रुपमा पछिल्लो निर्वाचन जितेका थिए । त्यसैले पनि यी दुईबीच हुने भिडन्तलाई रोचक तरिकाले हेरिएको छ । 

सर्लाही ४ नयाँ निर्वाचन क्षेत्र भएका कारण कांग्रेस सभापति गगन थापाले निकै मेहनत गरिरहेका छन् । अघिल्लो निर्वाचनमा कांग्रेस उम्मेदवारले गठबन्धनबाट लड्दा पनि स्वतन्त्र उम्मेदवार अमरेश विजयी भएका थिए ।

त्यसैले पनि गगनले सर्लाही ४ लाई सामान्य मानेका छैनन् । त्यसमा पनि यसपटक अमरेश रास्वपाबाट उम्मेदवार बनेका छन् । रास्वपामा देखिएको माहोल अमरेशका लागि प्लस प्वाइन्ट हो भने गगनका लागि सशंकित बन्ने स्थिति । 

कसको कस्तो तयारी ? 

सर्लाही ४ मा गगनको व्यस्तता बढि नै देखिन्छ । उम्मेदवारी मनोनयत गरेयता नै गगन दोस्रोपटक सर्लाही पुगिसकेका छन् । गगनले सर्लाहीबाट चुनाव जितेर सर्लाहीको मात्रै होइन मधेशको जनमतबाट देशकै समस्या समाधन गर्ने उद्घोष गरेका छन् । 

पछिल्लो पटक गगन विराटनगर हुँदै पूनः आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रीत भएका हुन् । उता रास्वपाका डा. अमरेश कुमार सिंहले भने आफ्नो निवाचन क्षेत्र सर्लाही ४ छोडेकै छैनन् । 

मधेशीका छोरा बालेनलाई रास्वपाले प्रधानमन्त्रीको प्रस्तावित उम्मेदवार बनाएकै कारण सर्लाही ४ बाट आफ्नो जित सुनिश्चित भएको अमरेश दाबी गर्छन् । 

सिंहले २०७० मा संविधानसभा, २०७४ र २०७९ मा प्रतिनिधिसभा गरी लगातार तीनपटक चुनाव जितिसकेका छन् । २०७० र २०७४ मा कांग्रेसबाटै चुनाव जितेको भएपनि २०७९ मा कांग्रेसको बागी उम्मेदवारको रूपमा स्वतन्त्र उम्मेदवारी दिएर उनले चुनाव जितेका थिए ।

आफू लगातार सर्लाहीको जनप्रतिनिधि हुनुका साथै जनताको सुख–दुःखमा सधैं साथमा रहेकाले बाहिरबाट आएका उम्मेदवारलाई मतदाताले नपत्याउने उनी तर्क गर्छन् । गगन र अमरेशबीचको चुनावी प्रतिष्पर्धाकै कारण यसपटक सर्लाही ४ राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ । 

दुवै नेताको प्रत्यक्ष भिडन्तले यस क्षेत्रलाई फागुन २१ को निर्वाचनकै ‘हाइ–प्रोफाइल’ निर्वाचन क्षेत्रमध्ये एक बनाएको छ । 

कांग्रेसले सर्लाहीमा संगठनात्मक संरचना सक्रिय बनाउँदै टोल स्तरसम्म चुनावी समिति गठन र घरदैलो अभियान तीव्र पारेको जनाएको छ । गगनले कार्यकर्तालाई एकताबद्ध भएर चुनावी तयारीमा जुट्न निर्देशन दिएका छन् । 

विश्लेषकहरूका अनुसार सर्लाही ४ को प्रतिस्पर्धा अनुभव र वैकल्पिक राजनीतिबीचको प्रत्यक्ष प्रतिष्पर्धाका रूपमा विकसित हुँदैछ । 

यसले मतदातालाई परम्परागत शक्ति र नयाँ राजनीतिक धारबीच स्पष्ट छनोटको अवसर दिएको छ । त्यसैले यस क्षेत्रका मतदाताले पनि निर्वाचनलाई नजिकबाट नियालीरहेको पाइन्छ । 

मतदाता संख्या 

सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत बरहथवा, गोडैता र बलरा नगरपालिका तथा बसबरिया, विष्णु, धनकौल र रामनगर गाउँपालिका पर्दछन् । जिल्ला निर्वाचन कार्यालय सर्लाहीको पछिल्लो तथ्यांक अनुसार २०७९ को तुलनामा यसपटक मतदाताको संख्या ७.५७ प्रतिशतले वृद्धि भएको छ । 

अर्थात्, ८ हजार ५ सय १८ नयाँ मतदाता थपिएसँगै अब सर्लाही ४ मा कुल मतदाता संख्या १ लाख २१ हजार १२ पुगेको छ । यस क्षेत्रमा कुल ५१ वडा रहेका छन् ।

मतदानका लागि ८१ मतदान स्थल र १ सय ५४ मतदान केन्द्र तोकिएका छन् । यहाँ रहेका ८१ वटै मतदान स्थल सुरक्षाको दृष्टिले ‘अति संवेदनशील’ सूचीमा परेका छन् । 

सीमावर्ती क्षेत्र, विगतका चुनावी अनुभव र बहुकोणीय प्रतिस्पर्धाका कारण सुरक्षालाई प्रमुख चुनौतीका रूपमा हेरिएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update