काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापामाथि रोचक वेबसाइट नै सार्वजनिक गरिएको छ ।
बाख्रा प्रकरणमा आरोप खेप्ने गरेका गगन थापा र सहकारी ठगीको आरोप झेलिरहेका रवि लामिछाने केन्द्रित छुट्टाछुट्टै वेबसाइट सञ्चालनमा आएपछि यसबारे अनेक तर्कहरु अघि सारिएका छन् ।
उसोतः गगनले आफूमाथि लाग्ने आरोपलाई नै चुनावी हतियार बनाउन मटन डट वल्र्ड ल्याएपछि यसको लहर कहावसम्म पुग्छ, स्थिति भयावह बन्न पुगेको छ ।
प्रविधिको प्रयोग र दुरुपयोग दुबै खतरामा संकेतहरु हुन् । इन्टरनेटमा अनेकथरी सामाग्री खोजिन्छन् । पढिन्छन् । तर, इन्टरनेटमा यस्ता कुराहरु पनि सहजै फैलिन्छन्, जसलाई रोक्न कठिन हुने गर्छ । यस्तै भएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र कांग्रेस सभापति गगन थापालाई ।
गगन थापामाथि लाग्ने गरेको आरोप बाख्रालाई लिएर गगनको समूहले चुनावी हतियार बनाउने रोचक निर्णय लियो । मटन डट वल्र्ड वेबसाइट सार्वजनिक गरिएसंगै गगनको जीवनीदेखि कांग्रेसमा जोडिन, समर्थन गर्न मिल्ने बनाइयो भने प्रतिनिधिसभाको उम्मेदवार चिन्न र सहजताका निम्ति उनीहरुको विवरण एकीकृत रुपमै सार्वजनिक गरियो ।
धेरैले गगनले रचनात्मक जुक्ति लगाएको भनिरहेको बेला जुक्ति नकारात्मक ढंगले फैलिने खतरा बढेको छ । जसमा सञ्चालनमा आएका छन्, रवि र गगनका नाममा दुई वेबसाइट ।
रविको फोटो राखेर सार्वजनिक गरिएको वेबसाइटमा रवि मुछिएका सहकारी, ठगी भएको दाबी गरिएको रकम, रविले थाहा छैन भन्दै भन्ने गरेको भाष्य अनुसन्धानका विवरण समेत राखिएका छन् ।
यो वेबसाइटको नाम छ, सहकारी डर मनी (www.sahakari.money) रविलाई लक्षित गरि सार्वजनिक गरिएको यो वेबसाइटले निर्वाचनको सम्मुखमा कस्तो प्रभाव पार्ला ? यसको विश्लेषण शुरु भएको छ। विस्तृत रुपमा तयार पारिएको यो वेबसाइटमा विवरण र प्रमाण भए गोप्यमा पठाउन समेत भनिएको छ ।
यता, कांग्रेस सभापति गगन थापालाई केन्द्रमा राख्दै मटनकाजी डट वल्र्ड ((www.muttonkaji.world)) सञ्चालनमा ल्याइएको छ ।
वेबसाइट खोल्दा वित्तिकै बाख्रा कराएको आवाज आउँछ । ’लोकतन्त्रको रक्षक भन्ने दाबी गर्ने नेपाली कांग्रेसका नेताहरूको भ्रष्टाचार र जवाफदेहिताको अभिलेख। बाख्रा फार्मदेखि ललिता निवाससम्म, हरेक काण्डको पूर्ण विवरण।’ भन्ने नारा दिएर सार्वजनिक गरिएको वेबसाइटमा लाउडा प्रकरणदेखि रिगल प्रकरणसम्म समावेश छन् ।
गगनले बाख्रा फारमका लागि लिएको रकम समेत उल्लेख गर्दै खुमबहाददुर खड्का, विजयकुमार गच्छदार, गिरिजाप्रसाद कोइरालादेखि बालकृष्ण खाँण मुछिएको ललिता निवाससम्मका प्रकरण राखिएको छ । यसले नेपाली कांग्रेसलाई कस्तो प्रभाव पार्ला ? बहस शुरु भएको छ ।
डोमेन कहिले दर्ता भए ?
गगन थापालाई लक्षित गरि बनाइएको मटनकाजी डट वल्र्ड आजभन्दा ८ दिन पहिले फेब्रुअरी ७ मा मात्रै दर्ता भएको देखिन्छ ।
दर्ता गर्दा प्रयोग गरिएको नम्बर अमेरिकामा रहेको देखाइएको छ भने डोमेन दर्ता गोड्याडीमार्फत गरिएको देखिन्छ । यता, रवि लामिछानेलाई लक्षित गरि बनाइएको सहकारी डट मनिको दर्ता फेब्रुअरी ११ अर्थात आजभन्दा ५ दिन पहिलेमात्रै दर्ता भएको देखिन्छ ।
डोमेन दर्ता आइसल्याण्डबाट गरिएको देखाइएको छ भने अमेरिकाको नम्बर समेत राखिएको छ । रविको डोमेन दर्ता स्पेसचिपबाट गरिएको छ । डोमेन दर्ताका निम्ति विभिन्न प्लेटफर्महरु सक्रिय छन् । जसले निश्चित रकम लिएर डोमेन दर्ता गरेर डोमेन सक्रिय गराउने काम गर्ने गरेका छन् ।
पारदर्शीता कि साइबर अपराध ?
दुई वेबसाइट सञ्चालनमा आएपछि वेबसाइटमा देखिएका तथ्यहरु अदालती प्रक्रियामा रहेको र केहि आरोपहरु अनुसन्धानमै नगएका देखिन्छन् ।
जसले नेपाली समाजमा लामो समयदेखि चल्दै आएको पारदर्शीताको बहसलाई मलजल गरिरहेको छ । तर, केहिले भने यसलाई साइबर अपराधको दृष्टीबाट समेत हेरेका छन् ।
प्रतिनिधिसभा चुनावको सम्मुखमा यस्तो विषय सार्वजनिक हुनु व्यक्ति केन्द्रित प्रहार भएको भन्न थालिएको छ । तर, यी तथ्यहरु लुकेका विषय भने होइनन् । इन्टरनेटमा खोज्दा सहजै भेटिने प्रमाण र आरोपहरुलाई व्यवस्थित गर्दै वेबसाइटमार्फत सार्वजनिक हुनु पारदर्शीता खोज्दै चलेको जेनजी आन्दोलनको मर्मलाई समेत आत्मसाथ गर्न सक्ने कामको रुपमा ब्याख्या गर्न थालिएको छ ।
क्लाउडफेयबाट होस्ट गरिएका यी वेबसाइट सहजै खुलिरहेका छन् । ट्राफिक व्यवस्थापनमा समेत खास समस्या झेल्न नपर्ने गरि निर्माण गरिएका यी वेबसाइट कसले कहाँ र किन ग¥यो भन्ने विषय भने खुलेको छैन् ।
