काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ का उम्मेरवार प्रबल थापाले घरदैलो अभियान सुरु गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको लागि नेपाली कांग्रेसका तर्फबाट यस पटक प्रबल थापा उम्मेदवारका रुपमा खडा भएका छन् ।
काठमाडौं क्षेत्र नम्बर १मा अवस्थित कात्यानी मन्दिरमा विहानै पूजा गरी आमाको हातबाट टिकार र माला लगाएर थापाले घरदैलो कार्यक्रम सुरु गरेका हुन् । कात्यानी मन्दिरदेखि सुरु गरेको घरदैलो कार्यक्रम उनले भिमसेनगोला, मिलनचोक हुँदै पुनः कात्यानी मन्दिरमा आइपुगी पहिलो दिनको घरदैलो कार्यक्रम समापन गरेका छन् ।
घरदैलो कार्यक्रममा प्रवल थापाका समर्थकसँगै बागमती प्रदेश सभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने पनि काँधमा काँध मिलाएर हिडेका छन् । घर ‘प्रवल जस्तो माटो बुझेको, राजनीति बुझेको, देश विदेश बुझेको, संघर्ष बुझेको मान्छेले नै यस ठाउँलाई अझै उत्कृष्ट बनाउन सक्छन् ।’ घरदैलो कार्यक्रमका क्रममा पूर्वमन्त्री सुरजचन्द्र लामिछानेले बताए ।
घरदैलोको क्रममा भेट भएका स्थानीयहरुले पनि प्रवलको आखाँमा आशा र विश्वास, उत्साह र नयाँ काम गर्ने हुटहुटी भएको बताएका छन् । ‘बुढाहरुले सबै देश विगारिसके अब युवाहरुकै हातमा छ अब देश बनाउने जिम्मा । तपाईँ मााथि आशा गरेका छौँ, रामोसँग काम गर्नु है, तपाईँलाई जिताउनु पर्छ ।’ घरदैलोका क्रममा प्रवल थापासँग कुरा गर्दै वृद्धले बताए ।
घरदैलोकै क्रममा अर्का एक जना स्थानीयले राम्रो काम गर्ने उम्मेदवारलाई जिलाउनु पर्ने बताएका छन् । ‘राम्रो काम गर्ने लाई जिताउनु पर्छ, तपाई यहीको मान्छे हो, रामो काम गर्नुहुन्छ भन्ने विश्वास छ ।’ उनले बताए ।
उनले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने, सार्वजनिक खर्चको विवरण खुला डेटा प्रणालीमार्फत नागरिकका लागि उपलब्ध गराउने तथा नागरिक निगरानीलाई संस्थागत गर्ने, योजनाका साथ चुनावी मैदानमा होमिएका छन् । साथै घरदैलोको क्रममा बोल्दै सांसद विकास कोषलाई स्थायी संरचनामा रूपान्तरण गर्ने, युवालाई स्टार्टअपतर्फ आकर्षित गर्ने, स्थानीय तहमा उद्यमशीलता प्रवद्र्धन गर्ने, महिलालाई सीप विकासमार्फत आर्थिक सशक्तीकरण गर्ने तथा रोजगारी सिर्जनामा जोड दिने लगायतका प्रतिवद्धता जनाएका छन् । सेवा प्रवाह सुधार र प्रशासनिक पारदर्शितालाई पनि आफ्नो प्राथमिकतामा राखेको उनले बताए ।
