News 24 Television
२०४८ देखि सत्ताको स्वाद नभुलेका नेताहरु को–को छन चुनावी मैदानमा ?

काठमाडौं । २०४८ सालदेखि नेपालको संसदीय राजनीतिमा निरन्तर देखिँदै आएका, पटक–पटक सांसद, मन्त्री र प्रधानमन्त्री बनेका केही अनुहारहरू अहिलेपनि चुनावि प्रतिष्पर्धामा छन् । दशकौँदेखि सत्ता र शक्तिको केन्द्रमा रहेका यी नेताहरु फेरिपनि खोक्रो आश्वाससहित चुनावी घरदैलोमा व्यस्त छन् । 

लामो समयदेखि सत्तामा रहेका नेताहरुबाट भएका परिवर्तन र देखाउन लायक काम के ? मतदाताले मत फेरि किन दिने ? यस्ता प्रश्नको जवाफ भने उनीहरुबाट खोज्न थालिएको छ ।

२०४८ सालपछि नेपालको संसदीय राजनीतिमा निरन्तर दोहोरिँदै आएका पुराना अनुहारहरू फेरि एकपटक चुनावी मैदानमा छन्। पटक–पटक सांसद, मन्त्री र प्रधानमन्त्री बनेर दशकौँ सत्ता केन्द्रमा रहेका यी नेताहरू फेरि जनताको घरदैलोमा उही र उस्तै प्रतिबद्धता बोकेर पुगेका छन् । तर यसपटक परिस्थिति फरक छ—मतदाता प्रश्न गरिरहेका छन्, असन्तुष्टि घटेको छैन र विकल्प खोज्ने संकेत पनि देखिन थालेको छ । यही परिवर्तित जनमतबीच २०४८ पछि चुनावी प्रतिस्पर्धामा उत्रिएका ‘हाईप्रोफाइल’ नेताहरू को–को हुन् त ?

केपी ओली 

२०४८ यताका सात निर्वाचनमध्ये ६ वटा निर्वाचन जितेका केपी ओली २०६४ को पहिलो संविधानसभा निर्वाचनमा मात्रै पराजित भएका थिए । २०७४ र २०७९ मा झापा ५ मा उनले कीर्तिमानी मतान्तर कायम गरे । 

६ पटक सांसद, २ पटक मन्त्री र ४ पटक प्रधानमन्त्री भइसकेका ओलीको सबै कार्यकाल शैली र विवादका कारण आलोचित बन्न पुगे । अघिल्लो निर्वाचनमा विजयी उत्सव मनाउन मात्रै झापा पुगेका उनी यसपटक भने हारको डरले झापामै केन्द्रित हुँदै घरदैलोमा सक्रिय छन्।

राजेन्द्र पाण्डे 

धादिङका जनताले ४१ वर्षदेखि चुनावी मैदानमा देख्दै आएका अर्का व्यक्ति हुन्, राजेन्द्र पाण्डे । यसपटक उनी माओवादी केन्द्रसहित एकता भएको नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार छन्। बागमती प्रदेशको मुख्यमन्त्री, ४ पटक संघीय सांसद र १ पटक बागमती प्रदेशसभा सदस्य बनेका पाण्डे फेरी पनि प्रतिनिधिसभामा छिर्ने दाउमा छन् । तर उनका लागि पनि यो निर्वाचनमा सोचेजति सजिलो छैन् । सँधै सत्ता र शक्तिको नजिक रहेका पाण्डेलाई यसपटक जनताले प्रश्नको घेरामा राखेका छन् । 

विजयकुमार गच्छदार

२०४८ देखि २०७४ सम्म निरन्तर संसदीय चुनाव जित्दै आएका गच्छदारले २०७९ मा पहिलो पटक हारको स्वाद चाखे ।

नेपालको संसदीय व्यवस्थामा सबैभन्दा बढी लाभ लिने नेतामध्ये मानिने उनी विभिन्न सरकारमा मन्त्री बन्दै आएका छन् । ६ पटक सांसद, १ पटक उपप्रधानमन्त्री र ४ पटक शक्तिशाली मन्त्रालयको मन्त्री बनेका गच्छदारमाथि ललिता निवास जग्गा प्रकरणको दाग लागेको थियो । यसपटक उनी त्यो दाग पन्छाउँदै र अघिल्लो हारको हिसाब मिलाउने लक्ष्यसहित चुनावी मैदानमा छन् ।

शरदसिंह भण्डारी 

०४८ यताका सात निर्वाचनमा दल बदल्दै संसद लड्दै आएका भण्डारी पञ्चायतदेखि गणतन्त्रसम्म आइपुग्दा २० पटक मन्त्री बनेका अनौठा व्यक्ति हुन् । 

४८ यता मात्रै ४ पटक सांसद बनेका उनी २०३८ र २०४३ को राष्ट्रिय पञ्चायत चुनाव पनि जितेका थिए । प्रायः सबैजसो सरकारमा मन्त्रि बनेका भण्डारीले सत्ताको स्वाद चाख्ने र अनुभव लिने भन्दा बढी केही गर्न सकेका छैनन् । तीनै भण्डारी अझै केही पटक मन्त्री भइहालिन्छ कि भन्दै चुनावी प्रतिष्पर्धामा होमिएका छन् । 

राजेन्द्र महतो 

२०४८ सालदेखि नेपाल सद्भावना पार्टीबाट संसदीय निर्वाचनमा भाग लिँदै आएका महतोले २०५१, २०५६ र २०६४ मा पनि सोही पार्टीबाट उम्मेदवारी दिएका थिए । 

उनको जितको यात्रा भने २०५६ बाट सुरु भयो । अहिले उनी राष्ट्रिय मुक्ति पार्टी नेपालको एकल चुनाव चिह्न ‘जाँतो’ लिएर सर्लाही–२ मा उम्मेदवार छन्। ८ औँ पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका महतो ३ पटक संसद, १ पटक उपप्रधानमन्त्री र ५ पटक मन्त्री भइसकेका छन्। सँधै जसो मधेशको मुद्दालाई सत्ताको भर्याङ बनाएका महतोका लागि पनि यो चुनाव सजिलो भने छैन् । 

कमल थापा

राजतन्त्रको मुद्दा बोकेर गणतन्त्रमा सबैभन्दा बढी सत्ताको स्वाद चाखेका पात्र हुन कमल थापा । १ पटक उपप्रधानमन्त्री र ५ पटक मन्त्री भइसकेका थापा नेपाली राजनीतिका एक चतुर खेलाडी हुन् । 

सिद्दान्त र विचार लत्याएर पद प्राप्तिका लागि भाग्ने थापाले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा त नेकपा एमालेको चुनाव चिन्ह् सूर्य बाट चुनाव समेत लडे । तर जित्न भने सकेनन् । 

अनेकन तिकडमपछि पनि संसदमा पुग्न नसकेपछि यसपटक उनी गृहजिल्ला छाडेर हलो चुनाव चिन्ह् सहित काठमाडौं ५ मा प्रतिष्पर्धामा छन् । 

पटक–पटक सत्ता र शक्तिमा पुगेका यी अनुहारप्रति मतदाताको भरोसा उस्तै रहने कि बदलिँदो जनमतले नयाँ विकल्प खोज्ने? यो प्रश्न अहिले गाउँदेखि सहरसम्म ब्याप्त छ । दशकौँदेखि सत्ता केन्द्रमा रहेका यी नेताहरूका लागि यसपटकको चुनाव प्रतिष्ठाको मात्रै होइन, जनमतको परीक्षण पनि हो । 

घरदैलोमा जनताले सोधिरहेका प्रश्नले स्पष्ट संकेत दिएको छ—अब मत केवल पुराना अनुहारका लागि होइन, काम र विश्वसनीयताको आधारमा खस्नेछ ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update