News 24 Television
इलेक्सन डिबेट : झापा ५ मा प्रतिष्पर्धी उम्मेदवारको पेलानमा ओली

झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा झापा–५ का प्रमुख उम्मेदवारहरूबीच टेलिभिजन बहसमा चर्काचर्की भएको छ । न्यूज २४ टेलिभिजनले आयोजना गरेको ‘इलेक्सन डिबेट’ कार्यक्रममा एमाले, नेकपा, राप्रपा, माओवादी लगायत दलका उम्मेदवारहरूले आ–आफ्ना एजेन्डा प्रस्तुत गर्दै एक अर्कामाथि तीखो प्रहार गरेका छन् । बहसमा रास्वपा उम्मेदवार बालेन शाह भने उपस्थिति भएनन् । 


आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा झापा–५ का प्रमुख उम्मेदवारहरूबीच  इलेक्सन डिबेट’ भएको छ । न्यूज २४ टेलिभिजनले आयोजना गरेको ‘इलेक्सन डिबेट’ कार्यक्रममा झापा ५ का उम्मेदवार तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसकी उम्मेदवार मंधरा चिमरिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी प्रसाद संग्रौला, नेपाल कम्युनिष्ट पार्टीका रन्जित तामाङ तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सञ्जय राई सहभागी थिए । बहसमा रास्वपाका वरिष्ठ नेता तथा उम्मेदवार बालेन शाह भने सहभागी भएनन् । उनको सचिवालयले बालेन अहिले कुनै पनि मिडिया बहसमा सहभागि नहुने प्रतिक्रिया दिएको छ । बहसमा सहभागि भएका झापा ५ का उम्मेदवारहरुको आफ्नो प्रतिक्रिया र तर्क यस्तो छ । 

प्रतिद्वन्दी उम्मेदवारको घेराबन्दीमा ओली  

बहस कार्यक्रममा झापाबाटै पटक पटक निर्वाचन जित्दै आएका एमाले अध्यक्ष ओली अन्य पार्टीका उम्मेदवारहरुको घेराबन्दीमा परेका छन् । पटक पटक प्रधानमन्त्री हुँदा पनि भ्रष्टाचार, सुशासन र समृद्धिका लागि ओलीले कुनै काम नगरेको कांग्रेस, माओवादी, राप्रपा लगायतका पार्टीका उम्मेदवारहरुको आरोप रहेको छ । 

नेकपा उम्मेदवार तामाङले भदौ २३ र २४ गतेको घटनाको दोषबाट ओली भाग्न नमिल्ने तर्क पेश गर्दै नैतिक जिम्मेवारी लिनु पर्ने बताए । 

कार्यक्रममा ठूलो संख्यामा स्थानीय सहभागि भएका थिए । उम्मेदवारहरुलाई एकै स्थानमा राखवेर गरिएको टेलिभिजन बहसले उनीहरुको सोच, प्राथमिकता र राजनीतिक शैली बुझ्न थप अवसर दिएको मतदाताहरुले बताएका छन् । 

पत्रकार बिजय पौडेलले सञ्चालन गरेको कार्यक्रममा सहभागी उम्मेदवारसंगै अनुपस्थित बालेन शाहका लागि छुट्याइएको कुर्सी खाली नै थियो । 

बालेन अनुपस्थित भएपनि उनलाई समेत प्रश्न गर्दै झापा–५ मा रोजगारी र पूर्वाधार माथि चासो राख्दै पूर्वाधार, रोजगार सिर्जना, कृषि आधुनिकीकरण र शिक्षा–स्वास्थ्य सेवाको गुणस्तरबारे मतदाताले प्रश्न उठाएका थिए । 

झापा–५ लामो समयदेखि एमालेको प्रभाव क्षेत्र मानिए पनि यसपटक विभिन्न दलबीच प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । निर्वाचन नजिकिँदै जाँदा झापा–५ मा घरदैलो, टोलसभा र सार्वजनिक बहसहरू तीव्र बन्दै गएका छन् । टेलिभिजन बहस चुनावी माहोललाई थप तताएको छ भने मतदातामा एजेन्डा–केन्द्रित छलफलको संस्कार विकास हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update