News 24 Television
स्थानीय तहका जनप्रतिनिधिले बोक्ने प्रश्नसहित उम्मेदवार मैदानमा, रुपन्देहीमा चुनावी चर्चा

रुपन्देही । चुनावी बाचा बोकेर अधिकांश उम्मेदवारहरुले घरदैलो यात्रामा छन् । २१ फागुनमा हुने निर्वाचनका लागि रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले घरदैलो सुरु गरेका छन् । आइतबारसम्म वडा, पालिका र क्षेत्रीय भेला गरेका उम्मेदवारहरु सोमबारदेखि घरदैलोमा निस्किएका हुन् । 

बुँदागत रुपमा क्षेत्र विकासमा आफूले पहल गर्नसक्ने योजना समेटर बनाइएको प्रतिबद्धता बोकेर रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले घरदैलोमा निस्किएका छन् । 

एमाले, कांग्रेस, रास्वपा, राप्रपा, जसपा नेपाल लगायत दलका र स्वतन्त्र उम्मेदवारले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन, खेलकुद लगायतका विषयलाई आफ्नो चुनावी मुद्दा बनाएर घरदैलो सुरु गरेका छन् । 

सोमबारदेखि सुरु घरदैलोलाई मंगलबारदेखि उम्मेदवारहरुले झनै बृहत् बनाउँदै लगेका छन् । कुनै दलले ग्रामीण क्षेत्रबाट घरदैलो सुरु गरेका छन् भने केहीले सहरी इलाकाबाट मतदाता भेटिरहेका छन् ।

रुपन्देही ३ का धेरै उम्मेदवारले पर्यटन, कृषि, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालन, खानेपानी र पूर्वाधार विकासलाई प्राथमिकता राखेका छन् । अन्य क्षेत्रका उम्मेदवारका प्राथमिकता पनि उस्तै छन् । 

उम्ेमदवारले सांसदले गर्नुपर्ने भूमिका विर्सेर पालिकास्तरका एजेन्डा समेत समेटेर आफ्ना प्रतिबद्धता पत्र बनाएका छन् । घरदैलो सुरु भइसक्दा समेत अधिकांश स्वतन्त्र र ठूला दलका उम्मेदवारले समेत प्रतिबद्धता पत्र ल्याउन सकेका छैनन् । प्रतिबद्धता पत्र विनै घरदैलोमा पुगिरहेका उम्मेदवारले मौखिक बाचा मतदातासमक्ष राख्ने गरेका छन् । 

टोलटोलमा पुगेर उम्मेदवारले घरदैलो सुरु गरेपछि चुनावी रौनक समेत बढेको छ । केही उम्मेदवारहरुले आचारसंहिता समेत बेवास्ता गरेर घरदैलो गरिरहेको आरोप समेत लागिरहेको छ । आइतबारसम्म वडा, पालिका र क्षेत्रीय भेला गरेका उम्मेदवारहरु सोमबारदेखि घरदैलोमा निस्किएका हुन् । जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरेर १ सय ५७ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update