News 24 Television
काठमाडौँ–८ को अंकगणितः विराजभक्त भर्सेस सायमी, कांग्रेस र एमाले विरासतको खोजी

काठमाडौं । काठमाडौँ ८ मा कसको पल्लाभारी होला ? ७९ को निर्वाचनमा रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित भएका थिए । श्रेष्ठ विरासत जोगाउने रणनीतिमा हुँदा कांग्रेस र एमालेका उम्मेदवार चुनौति बनेका छन् । नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमी पनि श्रेष्ठलाई भारी पर्ने आकलन भएका छन् । यस्तोमा कस्तो छ त काठमाडौँ ८ को अंकगणीत ? 

काठमाडौँ ८ का २२ जना उम्मेदवार मतदाता रुझानमा लागि परेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावी परिणाम आफ्ना पक्षमा पार्न उम्मेदवारलाई हतारो छ । टोलटोलमा झण्डासहितका नारा गुन्जिएका छन् । तर असली जितको गुन्जायमान ध्वनी कसको बज्ला प्रतिक्षामा छ । 

विरासत जोगाउने होडबाजी 

२०७९ मंसिर ४ मा भएको आम चुनावमा काठमाडौँ–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठले बाजी मारेका थिए । एमाले र कांग्रेसको किल्ला भत्काउँदै इतिहास रचेका श्रेष्ठले फागुन २१ को चुनावमा जित निकाल्न फलामको चिउरा चपाउनु पर्नेछ । किनभने एमाले र कांग्रेस विरासत जोगाउने गरी मैदानमा होमिएका छन् । 

श्रेष्ठलाई एमालेबाट राजेश शाक्य र कांग्रेसबाट सपनाराज भण्डारी विरासत सहितको काउन्टर दिनेछन् । उसो त ०७९ को चुनावमा तत्कालिन हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले प्रतिष्पर्धात्मक चुनौती नदिएका होइनन् । 

१० हजार १ सय १२ मतका साथ श्रेष्ठले बाजी मार्दा सायमीले ६ हजार १ सय ७९ मत ल्याँउदै दोस्रो हुन पुगेका थिए । यसपटक सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै उम्मेदवार बनेका छन् । 

अघिल्लो पटक भन्दा बलियो देखिएका सायमी श्रेष्ठलाई भारी पर्ने विश्लेषण उत्तिकै भइरहेको छ । तर विराजभक्त भने देशभर देखिएको रास्वपाको लहरले आफ्नो जित हुने विश्वास गरिरहेका छन् ।  

अन्य उम्मेदवार को–को छन् ? 

–राप्रपाबाट नवीन शाही

–आजपाबाट खगेश रञ्जितकार 

–राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट छत्रकुमार पाख्रिन

–नेपाल जनता संरक्षणबाट दिनेश शाही 

–नेमकिपाबाट वन्दना श्रेष्ठ 

–राष्ट्रिय मुक्ति पार्टी नेपाल मुक्तिनाथ शर्मा 

–उनेपाबाट राजन खड्गी ९

–नेपाल कम्युनिष्ट पाटी संयुक्तबाट राजेन्द्र शाह 

–संयुक्त नागरिक पार्टीबाट रेशमबहादुर सुनार 

–नेपाल संघीय समाजवादी पार्टीबाट विजय डंगोल 

–श्रम संस्कृति पार्टीबाट शिवसुन्दर कर्माचार्य 

–जसपाबाट सरोजराज वैद्य 

–नेकपा माओवादीबाट सलामसिंह लामा  

र स्वतन्त्र उम्मेदवारहरूमा सुनिता महर्जन, सुशीला नेपाली, विकास खड्गी, मुना न्यौपाने र तुलसा श्रेष्ठ महर्जन रहेका छन् । 

कति छन् मतदाता ? 

काठमाडौँ ८ मा कुल मतदाता संख्या ५७ हजार ८ सय ११ रहेका छन् । जसमा महिला २९ हजार ८ सय ९८ र पुरुष २७ हजार ९ सय १३ छन् । काठमाडौं महानगरपालिका वडा नं. १३, १५, १९, २०, २३ र २४ तथा नागार्जुन नगरपालिका वडा नं ४ र ५ का मतादाताको रोजाईमा पर्ने उम्मेदवारीले बाजी मार्नेछन् । उम्मेदवारले आफ्ना बाचा पत्रबारे पनि जनतालाई बुझाइरहेका छन् । 

एमाले–कांग्रेसका उम्मेदवार मतदातासँग परिचित 

फागनु २१ को चुनावमा दलीय गठबन्धन गरेका छैनन् । यसो हुँदा सबै उम्मेदवारलाई जितको ढोका खुल्ला रहन्छ । जसले जनमत बटुल्न सक्यो उसैको पल्लाभारी हुने सम्भावना रहन्छ ।

१२ बर्षपछि कांग्रेसकी सपनाराज भण्डारी पार्टीीको झण्डा गाड्ने धुनमा छिन् । ०६४ मा बाजी मारेका नवीन्द्रराज जोशी पत्नी समेत रहेकी भण्डारी इतिहास दोहो¥याउने रणनीतिमा छिन् । 

अर्काेतर्फ एमाले उम्मेदजार राजेश शाक्य पनि उत्तिकै बलिया मानिन्छन् । स्थानीय तहमा राम्रो पकड भएका शाक्य मतदाताको रोजाइमा पर्ने अनुमान गरिएको छ । उनी वागमती प्रदेशका पूर्वसदस्य समेत रहेको हुँदा स्थानीय मतदातसंग नजिक रहेको बताइन्छ । 

यहि आधारमा चुनाव जित्ने उनको तयारी छ । यसो हुँदा विराजभक्त र सुमनलाई पनि चुनौती बढ्ने देखिन्छ । 

अघिल्ला निर्वाचनको नतिजा कस्तो ? 

यस निर्वाचन क्षेत्रमा ०४८ देखि ०७९ सम्मको निर्वाचनमा आइपुग्दा कांग्रेस र एमालेको गढका रुपमा स्थापित हुँदा अघिल्लो पटक विराजभक्तले रोचक ढंगले बाजी मारेका हुन् । 

यहाँबाट ०६४ मा कांग्रेसका नवीन्द्रराज जोशीले जित हात पार्दा त्यसयताका ०७० र ०७४ सालमा तत्कालिन एमाले र त्यसपछिको नेकपा एसका जीवनराम श्रेष्ठले बाजी मारेको इतिहास छ । 

०७९ मा विराजभक्तले परम्परागत दलको किल्ला भत्काएका थिए । यस्तोमा काठमाडौँ ८ मा कसले बाजी मार्ला फागुन २१ को निर्वाचन परिणामले नै निक्र्याल गर्नेछ । 

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update