कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार कैलालीको धनगढीमा परिवर्तन उद्घोष सभा नाम दिएर चुनावी सभा गरेको छ । चुनावी सभामा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख नेता रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहले कुशसान र बेथितिका सटर सधैंका लागि बन्द गर्नेदेखि विकासको संकल्प गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिमबाट चुनावी सभाको प्रारम्भ गरेको छ । परिवर्तन उद्घोष सभा नाम दिएर गरिएको चुनावी सभामा रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र साह उपस्थित भएका थिए ।
आफूहरु बोल्नका लागि नभई काम गर्न लागि आएको भन्दै दुबै जनाले निकै छोटो भाषणा गरेका थिए । चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेथितिको सटर एकैपटक बन्द गर्ने गरी आफूहरू राजनीतिमा आएको बताए । मत पत्रमा फागुन २१ गते छाप लगाउने भए पनि अहिले नै मनपत्रमा छाप लगाइसकेको लामिछानेले बताए । सुदूरपश्चिमको अधिकारलाई माग बनाएर अल्झाएर राख्न काम बन्द हुनुपर्ने उनको भनाई छ ।
उनले अहिले पाँच वर्षको स्थायी सरकार माग गरेर जनतामाझ रास्वपा गएको भन्दै आफ्ना उम्मेदवारलाई भोट दिन पनि आह्वान गरे । राजनीतिक दलले चुनावमा गरेको बाचा पूरा नगर्दा जनताले दुःख पाउने अवस्था अन्त्य गर्न पनि रास्वपा अघि बढेको उनको भनाई छ । जनताले नभई बाचा जसले गरेको हो सजाय उसैले पाउने लामिछानेले बताए । भारतमा काम गर्ने सुदूरपश्चिमका सबैलाई छुट्टि मिलाएर भोट हाल्न आउन पनि उनले मञ्चवाट आह्वान गरे ।
बालेनको सम्बोधन– भोट नदिए हुन्छ, काम दिनुस्
रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूहरू भोट भन्दा पनि काम माग्न सुदूरपश्चिम आएको बताए । उनले सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्ने बताए । देशलाई स्वीटजरल्याण्ड बनाउने नभई यहाको मौलिकलाई विश्वसामु चिनाउनुपर्ने उनको भनाई छ । स्वीटजरल्याण्डको बाउ बडिमालिका यहि रहेको उनको भनाई थियो ।
वरिष्ठ नेता साहले मुलुकको समृद्धिका लागि आफ्नो पार्टीले मात्रै काम गर्ने बताए । आफ्नो पार्टी सरकारमा पुगे काँग्रेस, एमाले, माओवादी सबै हिँड्ने बाटो निर्माण गर्ने उनको भनाई थियो । देश बनाउने स्पष्ट दृष्टिकोण रास्वपामै मात्र रहेको पनि उनले दाबी गरे ।
शाहले रास्वपा भोट माग्न मात्रै नभई काम गर्ने प्रतिबद्धतासहित आएको उल्लेख गर्दै पार्टीका नेता तथा उम्मेदवारलाई अवसर दिन आग्रह समेत गरेका छन् । सुदूरपश्चिम प्रदेशका रास्वपाका सबै उम्मेदवारहरुले रास्वपाको चुनावी सभामा सम्बोधन गरेका थिए ।
