News 24 Television
चुनावमा कसलाई कसको डर, चुनावी रणनीति कस्ता ?

काठमाडौं । विगतका निर्वाचन भन्दा दल र उम्मेदवारहरुले निर्वाचनको प्रचार प्रसारमा फरक शैलि अपनाएका छन् । निर्वाचनको समयमा देशका मुख्य मुख्य सहरमा आम सभा गर्ने र निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न गाह्रो हुने उम्मेदवारहरुलाई निर्वाचन जिताउन दलका शिर्ष नेताहरुको देशभर चुनावी दौडधुप हुने गथ्र्याे । 

शीर्ष नेताहरु हेलिकोप्टरकै प्रयोग गरेर जिल्ला जिल्लामा जान्थे र फर्किन्थे । तर अहिले दलका शिर्ष नेताहरु आफ्नै निर्वाचन केन्द्रमा देखिएका छन् भने जिल्ला दौडाहामा रहेकाहरु पनि भाषण गर्ने भन्दा मुख मात्रै देखाउने गरेर मतदाताको घरदैलोमा पुगेका छन् । 

निर्वाचन आयोगले फागुन ४ गते देखि १८ गते सम्म चुनावी आमसभा गर्न पाउने व्यवस्था गरेको छ । त्यसअघि गत पुस ६ गते मनोनयन दर्ता लगत्तै दलहरुले आफ्ना उम्मेदवारहरुलाई गाउँ गाउँ पठाएका थिए । 

उनीहरु निर्वाचन केन्द्रीत मतदाता भेटघाट कार्यक्रममा व्यस्त देखिए । निर्वाचन आयोगले ठुलो जुलुस र सभा नगर्न भनेता पनि दलका शिर्ष नेताहरु जिल्ला जिल्ला दौडाहमा पुग्न सक्थे । तर उनीहरु आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रीत भएको देखिए । रास्वपाका बालेन्द्र साह मनोनयन लगत्तै देश दौडाहामा निस्किए । 

उनले भाषण र सम्बोधन गरेनन् अनुहार मात्रै देखाएर गाडीमा हुईंकिए । शिर्ष नेताहरु आफ्नै निर्वाचन क्षेत्रमा घरदैलो गरिरहेका छन् । फागुन २१ को निर्वाचनमा कसरी प्रचारप्रसार गर्दैछन् दलका शीर्ष नेताहरु ?  
गगन थापा के गर्दै छन् ? 

कांग्रेस सभापति गगन थापाले देशभर कांग्रेसले बहुमत सिटमा जित निकाल्ने बताउँदै बदल्यौं कांग्रेस बदल्छौं देश भन्ने नारा अगाडी बढाएका छन् । झट् हेर्दा यो नारा वाह् भन्ने लागेता पनि थापा नै अहिले आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ छाडेर देश दौडाहमा विगतका निर्वाचनमा झैं निस्किन सकेका छैनन् । 

कोर काठमाडौंको क्षेत्र छाडेर कोर मधेशमा निर्वाचन लड्न गएका गगन थापाले अहिले मत बढाउन र निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न कहिले म मधेश बुझ्न र मधेशलाई न्याय गर्न मधेशबाट उम्मेदवार बनेको हुँ भनिरहेका छन् त कहिले कांग्रेसको जननी नै मधेश भएको बताई रहेका छन् । 

बुधबार कांग्रेसले जनकपुरमा आम सभा गरेपछि देशभर सभा सम्मेलन गर्ने बताएको थियो । निर्वाचनका लागि १५ दिन बाँकी रहदाँ १२ दिन मात्रै प्रचारप्रसार गर्न सकिने अवस्था छ । तर गगनले मधेस बाहेक अन्य स्थानको तालिका बाहिर ल्याएका छैनन् ।  

झापामा ओली 

विगतका निर्वाचन झै हुन्थ्यो भने एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला देश दौडाहमा गर्दै धहरा पुन निर्माण, रानीपोखरी निर्माण, फास्ट ट्र«याकको गति, किक्रेट रंगशाला निर्माण, नागढुङ्गा सुरुङ्ग मार्ग निर्माण, मुग्लिन पोखरा सडकको स्तर उन्नति, दैलेखको पेट्रोलियम खानिको उत्खनन् लगायतका विकाशको कामको जस लिन खोज्दै अझै सपना बाडिरहेका हुन्थे । 

उनले चीनमा पुगेर नेपालको नक्शा र भुभागको बारेमा उठाएको आवाजको पनि ब्राण्डिङ्ग गरि नै रहेका हुन्थे । तर अहिले उनी झापा ५ मै बस्नु परेको छ । रास्वपा बरिष्ठ नेता बालेन्द्र साहले चुनौति दिएपछि ओलीले आफ्नो निर्वाचन क्षेत्र छाड्न सकेका छैनन् । एमालेले अहिलेसम्म चुनावी सभाको तालिका सार्वजनिक गरेको छैन । 

प्रचण्ड र माधव

नेकपा माओवादी केन्द्र र नेकपा एस सहित अन्य साना कम्युनिष्ट घटकहरु एक भएर बनेको नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड र सह–संयोजक माधव नेपाल पनि आ–आफ्नै निर्वाचन क्षेत्रमा चटक देखाएर हिड्नु परेको छ । नेकपाले पनि ठूला चुनावी सभाको कार्यक्रम तय गरेको छैन ।   

रास्वपा र बालेनको रणनीति

रास्वपा सभापति रवि लामिछाने भन्दा पनि बढी रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार घोषित बालेन्द्र देश दौडाहमा छन् । सहकारी प्रकरणले रवि विवादित हुँदा रास्वपाले बालेन कार्ड फालेको छ । 

निर्वाचन आयोगले निर्धारण गरेको प्रचारको समयअघि नै बालेन रोड शो गरेर पूर्व मेचीदेखि महाकाली पुगेका थिए । जनकपुरमा पौस ५ गते आमसभा गरेपछि ६ गते मनोनयनका लागि झापा पुगे । 

त्यसपछि उनी देश दोडाहामा निस्के । झापामा मनोनयनका दिनमा देखेको भीडपछि कांग्रेस सभापति गगन थापा मधेश र सर्लाही ४, ओली झापा केन्द्रीत हुनु पर्याे । अब ओली र गगन चुनावी सभामा केन्द्रित हुँदा बालेन झापामा चुनावी सभा केन्द्रीत गर्ने देखिन्छ ।

दल र उम्मेदवारमाथि एकले अर्काे पक्षलाई लगाउने आरोप कस्तो ? 

रास्वपा लगायतका दलहरुले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली माथि जेनजी आन्दोलनका बेला दमन गरेको र उनीहरुमाथि गोलि चलाउने आदेश दिएको भन्दै हत्याराको आरोप लगाइरहेका छन् । यता, कांग्रेस सभापति गगन थापा पार्टीकै आन्तरिक घेराबन्दीमै छन् । 

उनले पूर्व संस्थापन पक्षलार्य पेलेर अगाडी बढेको र कांग्रेसलार्य हाइज्याक गरेको आरोप कांग्रेस भित्र लाग्ने गरेको छ । 

नेपाली कम्युनिष्ट पार्टीका नेताहरु माथि पनि सत्तामा हुदाँ जनपक्षीय काम गर्न नसकेको भन्दै अलोचना भैरहेको छ । 
रास्वपाबाट उम्मेदवार रहेका बालेनमाथि जेनजी आन्दोलनका क्रममा ध्वंसलाई प्रश्रय दिएको आरोप छ भने रवि लामिछानेमाथि सहकारी ठगिको मुद्दाहरु छन् । 

फेरियो चुनावी प्रचार रणनीति 

गत निर्वाचनमा भन्दा यो निर्वाचनमा दल र उम्मेदवारहरुले चुनावको लागि आफ्ना एजेण्डाहरु जनता र मतदातामाझ पु¥याउन बिगतमा गर्ने गरेको प्रचार रणनीति परिर्वतन गरेको देखिन्छ । 

उनीहरुले ठूला चुनावी सभा भन्दा डिजिटल प्रचारलाई बढी महत्व दिएका छन् भने जनताको घर दैलोमा नै उम्मेदवारहरुलाई पठाउने र मतदाताहरुसँग प्रत्यक्ष भेटघाट गर्ने रणनीति अगाडी सारेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update