News 24 Television
टी–२० विश्वकपमा नेपालको प्रदर्शन कस्तो ? कहाँ चुके रोहित र स्टुअर्ट ल ?

काठमाडौं । भारत र श्रीलंकाको संयुक्त आयोजनामा जारी टि–२० विश्वकपबाट नेपाली बाहिरसकेको छ । समुह सी मा रहँदै चार खेल खेलेको नेपालले एक खेलमा मात्रै जित निकाल्न सक्यो । १२ बर्षपछि स्कटल्याण्डलाई ७ विकेटले पराजित गर्दा हारको खडेरी तोड्दै नेपाल घर फर्किएको छ । तेस्रो पटक टि–२० विश्वकप खेलेको नेपालले केहि सुनौला अवसर गुमाए पनि केही नयाँ इतिहास पनि रच्न सफल भएको छ । समग्रमा कमजोर प्रदर्शन रहेको नेपाली टोलीले सुधार गर्नुपर्ने पक्ष के के हुन् त ? 

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा मंगलबार राति नेपालले स्कटल्याण्डलाई ७ विकेटले पराजित गर्दै १० औँ संस्करणको टि–२० विश्वकपबाट बिदाइ लिएको छ । यद्यपी १२ बर्षपछिको सान्त्वना जितमै पनि नेपाली खेलाडी र समर्थक उत्साहित देखिए । 

सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा अफगानस्तानलाई ९ रनले पराजित गरेयता नेपालले जित निकाल्न सकेको थिएन् । यस हिसावले उक्त जित स्मरणीय बन्न पुगेको हो । तर यो सान्त्वना जितको स्वादलाई विर्सिने हो भने नेपाल विश्वकपमा सुपरफ्लप सावित भयो । सुरुमा टि–२० विश्वकपमा नेपालले गरेको प्रदर्र्शनबारे चर्चा गरौँ । 

टी–२० विश्वकपमा नेपालको प्रदर्शन कस्तो रह्यो ? 

नेपालले सन् २०१४, २०२४ र २०२६ गरी तीनपटक विश्वकपमा सहभागिता जनाएको छ । सबैगरी ११ खेल खेलेको नेपालले ७ खेलमा हार, तीन खेलमा जित र एक खेल रद्द भएका छन् । 

पछिल्लो सान्त्वना जित निकाल्न नेपाललाई १२ बर्ष पर्खिनु पर्याे । सन् २०१४ मा हाल क्यानका सचिव पारस खड्का कप्तान हुँदा नेपालले पहिलो विश्वकप खेलेको थियो । बंगलादेशमा भएको विश्वकपमा नेपालले हङकङ र अफगानस्तानलाई पराजित गरेपनि बंगलादेशसंग हार व्यहोर्दै समुह चरण बाटै बाहिरिएको थियो । दश वर्षछि सन् २०२४ मा विश्वकपमा पुग्दा जित विहिन बन्न पुग्यो । 

२०२६ को विश्वकपमा नेपालले चार खेलमा एक मात्रै जित निकाल्न सक्यो । समुहचरणबाटै बाहिरिएको नेपाल पहिलो खेलमा इंग्ल्याण्डसँग ४ रनको सम्मानजनक हार व्यहोर्दा इटाली सँग १० विकेट र वेस्ट इन्डिजसँग ९ विकेटको लज्जास्पद हार र स्कटल्याण्डसँग ७ विकेटको सान्त्वना जित निकाल्न सफल भयो । यो नतिजाले नेपाली टोलीको प्रदर्शन माथि प्रश्न चिन्ह उठ््छ । 

यसपटक नेपालले कम्तिमा सुपर ८ को आँकडा पार गर्नपर्ने हो । त्यो सम्भव भएन् यसको जड प्रशिक्षक, कप्तान र केहि स्टार खेलाडी फ्लप हुनु नै हो । 

सुधारका पक्ष के के ?

पहिलोः खेलाडी परिवर्तन

अहिलेको नेपाली टोलीका खेलाडी मध्य आधा खेलाडीलाई विश्राम दिनु नै उपयुक्त देखिन्छ । किनकी पटकपटक अवसर पाएर पनि प्रमाणीत गर्न नसक्ने तर टोलीमा स्थान बनाउने विषयले राम्रो रिजल्ट निकाल्न नेपाली टोलीलाई हम्मे भइरहेको छ । खेलाडी प्रदर्शन भन्दा भावनामा बगेर टोली घोषणा गर्ने ट्रेन्डको अन्त्य नगरी राम्रो नतिजाको अपेक्षा गर्न सकिदैन ।  

दोस्रोः टेस्ट राष्ट्रसँग सिरिज या प्रतिष्पर्धा

नेपालले क्रिकेट इतिहासमा बलियो टेस्ट राष्ट्रसंग सिरिज खेल्न सकेको छैन । भलै वेस्ट इन्डिजको ए टोलीसंग युएईमा सिरिजमा बाजी मारे पनि यतिले पुग्दैनथ्यो । यसपटकको विश्वकपमा नेपाली टोलीको प्रदर्शनले पनि त्यहि भन्छ । एशोसिएट राष्ट्रसंग नेपालले निरन्तर सिरिज वा प्रतियोगिता खेल्दैै आएको छ । स्कटल्याण्डलाई पराजित गर्नुमा पनि उक्त टोलीका खेलाडीसंग नेपाल चिरपरिचित छ । 

गत मंसिरमा सकिएको एनपीएल सिजन–२ मा स्कटिस खेलाडीको बाक्लो सहभागिता थियो । खेलाडीसंग घुलमिलले जित निकाल्न सहज भएको देखिन्छ । जहाँ नयाँ टोली इटाली, विश्वविजेता टोली इंग्ल्याण्ड र वेस्ट इन्डिज सामु नेपाली टोली निरिह बन्यो । 

तेस्रोः परपर चार जना ब्याट्म्यान

नेपाली टोलीमा अहिले परपर व्याट्सम्यानको कमी छ । ओपनर कुशल भुर्तेलले बलिङ गर्नुपर्ने अवस्था छ । अर्काेतर्फ विश्वकपको टोली हेर्न हो भने पनि परपर ब्याट्सम्यान थिएनन्, जसले टोलीको इनिङ समाल्न सकुन् । अब नेपाल विश्व क्रिकेटमा थप पृथक बन्न चाहन्छ भने कम्तिमा चार जना मुख्य ब्याट्सम्यान बनाउन आवश्यक देखिन्छ । 

चौथोः परपर बलिङ युनिट 

नेपाली टोलीमा परपर बलिङ युनिटको अभाव पनि देखिन्छ । चार जना जतिको खुङखार बलरलाई टोलीमा राख्नु उपयुक्त हुन्छ । सन्दीप लामिछाने बाहेक नेपाली टोलीले कुनै मुख्य हतियार मानेको देखिदैन । सोमपाल कामी र करण केसी अलराउन्डर बन्ने धुनमा नेपाली टोलीको प्रदर्शन सोचेजस्तो बन्न सकेको छैन । 

नेपालले कम्तिमा चार जना यस्ता बलर तयार गर्नुपर्छ की उनीहरुबाट रन होइन् विकेटको मात्रै अपेक्षा गर्न सकोस् र, पासा पल्टाउन सकोस् । नेपालले भारतीय टिमबाट पाठ सिक्न जरुरी छ । भारतीय टोलीले जस्प्रिट बुमराह, अर्शदीप सिंह, मोहमद सिरिराज, कुलदिप यादव र बरुण चक्रवनी सहितको बलिङ हतियार बनाएको छ । 

पाँचौः बलर, ब्याटर र अलराउन्डर भुमिका

अहिलेको नेपाली टोली हेर्न हो भने बलर, ब्याटर र अलराउन्डरको भुमिका अस्तव्यस्त देखिन्छ । विश्वकपमै प्रयोग गरिएको प्लेइङ–११ नियाल्दा मुख्य ब्याटर हतियार कुशल भुर्तेल बलिङ गर्न पुग्दा सन्दीप र अलराउन्डर गुल्शनले पुर्ण रुपमा बलिङ गर्न पाएनन् ।  खेलाडीलाई तन्काएर खेलाउँदा वास्तविक क्षमता हराउँदै गएको खेल विश्लेषकहरुको बुझाई छ ।  

सन्दीप सुपर फ्लप हुँदा दीपेन्द्र नायक

नेपाली टोलीका लागि उपकप्तान दिपेन्द्रंिसंह ऐरी यसपटक नायक सावित भए । रेकर्डधारी दुई अर्धशतक प्रहार गर्दै दिपेन्द्रले चार खेलमा १ सय ६९ रन प्रहारका साथ सर्वाधिक रन बनाउने शिर्ष खेलाडीको दुई नम्बरमा छन् । स्टकटल्याण्ड विरुद्धको जित निकाल्दा अनुभवी खेल पस्किएका दिपेन्द्रको प्रर्दशनबाट नेपाली समर्थक र क्रिकेटका जानकारहरुले मुक्तकण्ठले प्रशंशा पनि गरेका छन् ।

विश्वकपमा दिपेन्द्र नेपालको लागि हुकुमको एक्का सावित भए । दिपेन्द्रको अनभुवको भरपुर प्रदर्शनले विश्वका अन्य फ्रेन्जाइज क्रिकेटमा ढोका खुल्ने सम्भावना छ । तर अर्काेतर्फ नेपाली टोलीको प्रमुख बलिङ हतियार मानिएका सन्दीप लामिछानेका लागि यस पटकको विश्वकप विर्सनलायक रह्यो । 

उनको प्रदर्शनले भन्छ उनी पुर्ण रुपमा सुपर फ्लप सावित भए । उनले चार खेलमा १६ ओभर बलिङ गर्दै २ विकेट लिएर १ सय १२ रन खर्चिए । साथै इकोनोमी पनि धेरै नै रहेको छ । विश्वस्टार सन्दीपबाट यो खालको प्रदर्शनले उनका समर्थकलाई निरास बनायो ।  

मुख्य प्रशिक्षक स्टुअर्ट ल र कप्तान रोहित कहाँ चुके ?
 
विश्वकपमा नेपाल सुपर ८ पुग्ने लक्ष्यबाट वन्चित हुनुमा मुख्य प्रशिक्षक स्टुआर्ट ल र कप्तान रोहितकुमार पौडेलको कमजोरी देखिन्छ । विश्व क्रिकेट मञ्चमा अपनाउनुपर्ने रणनीति स्टुआर्ट र रोहितमा देखिएन् । विश्वकपका सबै खेल हेर्न हो भने खेलाडीको प्रयोगमा कुनै रणनीति देखिएन । 

मुख्य बलर मानिएका सन्दीप, नन्दन यादव र सोमपाल कामीलाई कुनै कुनै खेलमा पुरै ओभर खेलाइएन । टोलीमा सबैभन्दा अनुभवी बलर मानिएका सोमपाललाई ढिलो गरी प्लेइङ–११ मा समावेश गरियो । अनि एनपीएलको प्रदर्शनकै आधारमा विश्वकपमा स्थान बनाएका शेर मल्ललाई पहिलो खेलमा इंग्ल्याण्ड विरुद्ध प्रयोग गर्नु र त्यसपछिका खेलमा अवसर नदिनु पनि समस्या हो । किनकी टोलीमा एकतर्फबाट सन्दीप र करण केसीले कमजोर बलिङ गर्दा शेरलाई रणनीतिक रुपमा प्रयोग गर्न सकिन्थ्यो ।

शेरको बलिङ गर्ने शैलीमा केहि नौलोपन देखिन्छ । तर त्यो भएन । त्यसैले अहिलेदेखि नै नेपालले सिङ्गो नेपाली टिमको पुनसंरचना गर्न जरुरी छ । 

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update