News 24 Television
झापा–२ : एउटै मञ्चमा सबै उम्मेदवार, इन्दिरा रानामगर अनुपस्थिति

झापा । आशन्न निर्वाचन लक्षित न्यूज २४ टेलिभिजनको इलेक्सन डिबेट बिहिवार झापा २ मा सम्पन्न भएको छ । चुनावी बहस कार्यक्रममा एमाले, कांग्रेस, राप्रपा सहित स्वतन्त्र उम्मेदवारहरु सहभागि भए । उम्मेदवारहरूले एउटै मञ्चमा उभिएर आ–आफ्ना एजेन्डा सार्वजनिक गरेका छन् । 

आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा झापा–२ का प्रमुख उम्मेदवारहरूबीच   टेलिभिजन बहस भएको छ । कार्यक्रममा नेकपा एमालेबाट पुर्व सभामुख देवराज घिमिरे, नेपाली काँग्रेसबाट पुर्वराज्य मन्त्री सरिता प्रसाईं, नेपाली कम्युनिस्ट पार्टीबाट संविधानसभा सदस्य धर्मशिला चापागाईं, राप्रपाबाट अधिवक्ता स्वागत नेपाल, श्रम संस्कृत पार्टीबाट युवा अभियन्ता केशव भण्डारी, नेकपा माओवादीबाट अर्जुन पाण्डे, उज्यालो नेपालबाट क्याप्टेन सिके बेघा, जनता समाजवादी पार्टीबाट अभिषेक राई र स्वतन्त्र उम्मेदवार डा. युवराज संग्रौला सहभागी थिए ।

बहसका क्रममा उम्मेदवारहरूले विकास, रोजगारी, कृषि आधुनिकीकरण, सुशासन र युवा पलायनका विषयलाई प्राथमिकतामा राख्दै आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए । कार्यक्रममा उम्मेदवारहरुबीच नै आआफ्नो एजेन्डा र कार्य प्रस्तुतिप्रति शब्दवाणको घम्साघम्सी भएको थियो ।   

उम्मेदवार र मतदाताबीच प्रत्यक्ष प्रश्नोत्तर समेत भएको बहसमा मतदाताहरुले पूर्वाधार, उद्योग स्थापनाको सम्भावना र सामाजिक सुरक्षा सम्बन्धी जिज्ञासा राखेका थिए । 

कार्यक्रमका लागि निमन्त्रणा गरिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार पुर्व उपसभामुख इन्दिरा रानामगर भने अनुपस्थित भइन् । कार्यक्रममा सहभागी उम्मेदवारसंगै अनुपस्थित ा रानामगरको लागि छुट्याइएको कुर्सी खाली नै थियो । सहभागी उम्मेदवार र दर्शकहरूले उनको अनुपस्थितिलाई लिएर पनि प्रश्न उठाएका थिए । जनतासामु बहसमा आउन नसक्ने उम्मेदवारलाई किन मत दिने भन्दै कतिपयले कार्यक्रममै प्रश्न गरेका थिए । 

बहसको सञ्चालन पत्रकार विजय पौडेलले गरेका थिए । कार्यक्रममा सहभागी मतदाताले यस्ता खुला बहस कार्यक्रम झापा मात्र नभई देशव्यापी रूपमा नियमित हुनुपर्ने धारणा व्यक्त गरे । 

झापा–२ मा बढ्दो प्रतिस्पर्धाबीच आयोजित यस प्रकारको सार्वजनिक बहसले चुनावी माहोललाई थप तताएको छ भने मतदातालाई उम्मेदवारको दृष्टिकोण प्रत्यक्ष सुन्ने अवसर दिएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update