काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गरिरहेका छन् । सबैजसो राजनीतिक दलहरुले संघीय राजधानी काठमाडौंमा कार्यक्रम गरि घोषणा पत्र सार्वजनिक गर्ने गरेकोमा यसपटक दलहरुले फरक फरक ठाउँबाट घोषणापत्र सार्वजनिक सार्वजनिक गरेका छन् ।
कांग्रेसले मधेसको राजधानी जनकपुरधामबाट घोषणापत्र सार्वजनिक गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णालीको प्रदेशिक राजधानी सुर्खेतबाट घोषणापत्र सार्वजनिक गरेको छ । उसले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था लागू गर्ने घोषणा वाचापत्रमा गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि ‘वाचा पत्र २०८२’ नाम दिएर घोषणापत्र सार्वजनिक गरेको छ । बिहीवार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित चुनावी सभामा रास्वपाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
जसलाई उसले ‘थिति बसाल्ने संकल्प’ भनेको छ । रास्वपाले वाचा पत्र नाम दिएको घोषणापत्रमा रुपान्तरणका लागि नीतिगत प्रस्थानका सय आधारहरु प्रस्तुत गरेको छ । सुदूरपश्चिमको धनगढीबाट शुरु गरेको चुनावी सभा विहीबार कर्णालीको सुर्खेत पुगेको हो । चुनावी सभालाई परिवर्तन उद्घोष सभा नाम दिएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सभामा सम्बोधन गर्दै रास्वपा सभापति रवि लामिछानेले आगामी निर्वाचनलाई देशको भविष्य बदल्ने अवसरका रुपमा चित्रण गरे ।
नयाँ राजनीतिक दलहरुप्रति गरिएको आशंकाको पनि लामिछानेले प्रतिवाद गरेका छन् । उनले आफूहरु लोकतन्त्रमाथिको खतरा नभई लोकतन्त्रको असली पहरेदार भएको दाबी गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहले भने ठाउँ विशेषको बखान गर्ने गरेका छन् । सुदूरपश्चिमको धनगढी पुगेर सुदूरपश्चिमका बाडिमालिका लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुको बखान गरेका उनले कर्णालीमा त्यस्तै बखान गरेका छन् ।
उनले राजा महेन्द्रको शब्द सापटी लिएर रारा तालको प्रशंसा गरे । उनले डोल्पाको यार्सागुम्मा विश्वभरी पुग्दा कर्णालीको स्याउ र मार्सी चामल चितवन र झापा समेत पुग्न नसकेको बताए । बालेनले सिन्जा सभ्यताको पनि चर्चादेखि ‘कर्णालीको सुइना हाम्रा सुइना’ भनी आफूले सामाजिक सञ्जाल लेखेको स्टाटसको समेत चर्चा गरे ।
के छन् रास्वपाका चुनावी वाचा पत्र ?
- रास्वपाले सार्वजनिक गरेको वाचा पत्रमा राज्य संरचना, अर्थतन्त्र, डिजिटल रूपान्तरण, ऊर्जा, शिक्षा, स्वास्थ्य, कुटनीति र सुशासनका क्षेत्रमा व्यापक नीतिगत परिवर्तनको घोषणा गरेको छ । रास्वपाले रुपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधारहरु भनी बुँदागत रुपमा नै उल्लेख गरेको छ ।
- दलित तथा पछाडि पारिएका समुदायसँग क्षमायाचना गर्दै भविष्यमा त्यस्तो हुन नदिने प्रण गर्ने वाचा ।
- जेन–जी आन्दोलनका घटनाको छानबिन प्रतिवेदनको पूर्ण कार्यान्वयन गर्ने प्रतिवद्धता ।
- प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था लागू गर्नुका साथै पूर्ण सामानुपातिक संसदीय ब्यवस्था ।
- सांसद मन्त्री नहुने व्यवस्था र गैरदलीय स्थानीय सरकार गठन गर्ने बाचा ।
- सार्वजनिक पदमा रहेका सबैको सम्पती छानविन गरी अवैध सम्पती जफत तथा राष्ट्रियकरण गर्नेगरी कार्यविधि बनाउने घोषणा ।
- सरकारी सेवामा दलगत आवद्धता अन्त्य गर्ने, भ्रातृ संगठन नबनाउने ।
- सरकारी सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजानुका साथै राष्ट्रिय परिचयपत्रमार्फत एकीकृत डाटाबेस निर्माण ।
- ‘डिजिटल सर्भिस डेलिभरी’ समयबद्ध रूपमा लागू गर्ने योजना ।
- आगामी पाँच वर्षमा औसत ७ प्रतिशत वार्षिक आर्थिक वृद्धि हासिल गरी प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने घोषणा ।
- कर प्रणालीलाई सरलीकरण गर्दै व्यक्तिगत र संस्थागत करको बोझ हटाउने वाचा ।
- निजी क्षेत्रसँग उन्नत समझदारी गर्ने तथा करिब दुई दर्जन असान्दर्भिक कानून खारेज गर्ने ।
- सहकारी र लघुवित्त क्षेत्रलाई कडा नियमनमा ल्याउने, साना बचतकर्ताको रकम १०० दिनभित्र फिर्ता गर्ने प्रतिवद्धता ।
- सूचना प्रविधिको क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गरि हालको डेढ अर्ब डलर निर्यातलाई १० वर्षमा ३० अर्ब डलर पु¥याउने ।
- सातै प्रदेशमा ‘डिजिटल पार्क’ निर्माण गरी सूचना प्रविधिको क्षेत्रमा ५ लाख रोजगारी सिर्जना गर्ने ।
- क्रिप्टोकरेन्सी नियमन, डाटा सेन्टर विकास, एआई कम्प्युटिङ निर्यात तथा रिमोट वर्कलाई कानुनी मान्यता दिने ।
- ऊर्जा विकास दशक घोषणा गर्दैै ३० हजार मेगावाट जडित क्षमता हासिल गर्ने लक्ष्य ।
- रेलमार्ग विस्तारको ५० वर्षे गुरुयोजना, मेची–महाकाली विद्युतीय रेल, प्रमुख सहरसम्म शाखा मार्ग तथा चीन–भारत रेल सञ्जालसँग जोड्ने दीर्घकालीन योजना ।
- नेपाललाई बफर स्टेटबाट ‘भाइब्रेन्ट ब्रिजमा रूपान्तरण गर्ने ।
- प्रवासी नेपालीलाई दोहोरो नागरिकताको नीति
- विदेशबाट मतदानको अधिकार र राष्ट्रिय ज्ञान बैंक स्थापना गर्ने प्रतिवद्धता ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सुशासनमा जोड दिँदै आफ्नो चुनावी वाचा अघि सारेको छ । सत्ता पुगेपछि बिग्रिने राजनीतिक संस्कृतिबाट टाढा रहने प्रतिवद्धता जनाउँदै भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता अपनाउने र आन्तरिक अनुशासन संयन्त्र बलियो बनाउने वाचा पनि रास्वपाले गरेको छ ।
