काठमाडौं । अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १० दिने अल्टिमेटमसहित इरानमा सैन्य आक्रमणको चेतावनी दिएपछि रुस र चीनले संयुक्त सैन्य अभ्यास भन्दै स्टेट अफ हर्मुजमा आफ्ना नौसैनिक जहाज पठाएका छन् । यस्तो स्थितिले क्षेत्रिय शान्ति मात्रै नभई विश्वमा युद्धको खतरा त बढ्दैन भन्ने चासो बढाइदिएको छ।
इरानले आणविक शक्तिमा गरिरहेको लगानीका कारण अमेरिका र इजरायलले शक्ति प्रदर्शन गरेरै निस्तेज पार्ने योजना बनाइरहेका छन्।
इरानले आफ्नो आणविक कार्यक्रम शान्ति र ऊर्जाका निम्ति भएको दाबी गरेपनि अमेरिका–इजरायलले यसलाई विश्वास गर्न सकेका छैनन् । जसकारण अमेरिका इरानको तनाव उत्कर्षमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको आणविक वार्ताको नतिजा अबको १० दिनभित्रमा तय हुने भन्दै दबाबका साथै चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले आणविक कार्यक्रम बन्द नगरे सैन्य हमलाको चेतावनी दिदै आएका छन् । तर, विभिन्न क्षेत्रमा भएको वार्ताले प्रतिफल दिने संकेत नदेखिएपछि अमेरिकाले अरब सागरमा आफ्ना प्रविधिले सुसज्जित जहाजलाई तयारी अवस्थामा राखिरहेको देखिन्छ ।
यसले पनि अमेरिकाले इरानले वार्तामा आएर सहमति जनाउन नमानेमा आगामी १० दिनमा सैन्य हमला गर्ने प्रष्ट संकेत दिएका छन् ।
यसरी दुई देशबीच विवाद चलिरहेको बेला इरानले भने रुस र चीनसंगको सहकार्यलाई थप तीब्रता दिइरहेको छ । रुस–चीनले स्टेट अफ हर्मुजमा आफ्ना जहाजलाई तैनाथ गर्ने र संयुक्त सैन्य अभ्यास गर्ने भनिरहेका छन् ।
उसोतः इरानले बिहीबारदेखि नै रुससँग सैन्य युद्धाभ्यास गरिरहेको छ । यो युद्धाभ्यास अमेरिकी विमानवाहक पोत पश्चिम एसियानजिक पुगेको समयमा भएको हो ।
अमेरिका र इरान दुवैले तेहरानको परमाणु कार्यक्रममाथिको वार्ता विफल भए उनीहरू युद्धका लागि तयार छन् भन्ने संकेत दिएका छन् ।
विश्वको तेल सप्लाईमा ठूलो महत्व राख्ने स्टेट अफ हर्मुजमा रुस–इरानले गरेको सैन्य अभ्यास र चीनले पनि यसमा सहभागीता जनाउने देखिएपछि मध्यपूर्वको शान्तिमा खतरा देखिन थालेको विश्लेषण हुन थालेको छ ।
स्टेट अफ हर्मुजको खाडीमा ‘लाइभ–फायर’ युद्धाभ्यासले द्वन्द्धको खतरा पैदा गरिदिएको देखिन्छ । यो फारसको खाडीको एउटा साँघुरो मार्ग हो, जहाँबाट विश्वको व्यापारिक तेलको ठूलो हिस्सा ओसारपसार हुन्छ । अमेरिकाले ‘यूएसएस गेराल्ड आर फोर्ड’ नामको युद्धपोत भूमध्य सागरको मुहान नजिकै लैजानुले पनि युद्धको संकेत बढ्न थालेको देखिन्छ ।
एयर स्पेसको पेचिलो सवाल
अमेरिकाले इरानमा आक्रमण गर्ने खतरा देखिन थालेपछि विभिन्न देशहरुले आफ्नो एयरस्पेस प्रयोग गर्न दिने नदिने विषयमा प्रतिक्रिया जनाउन थालेका छन् ।
बेलायतले आफ्नो एयरस्पेस इरानविरुद्धको आक्रमणमा प्रयोग गर्न नदिने प्रष्ट पारेको छ भने अन्य युरोपेली देशहरुले पनि एयरस्पेसको प्रयोग गर्न नदिने निर्णय गर्ने अपेक्षा गरिएको छ।
भूमीको प्रयोग
अमेरिकाले खाडी क्षेत्रमा धेरै देशमा आफ्नो सैन्य तैनाथी गरेको छ । एयरबेससहित अमेरिकी सेना खाडीका विभिन्न देशमा रहेको बेला साउदी, कतार जस्ता देशहरुले इरानविरुद्ध आफ्नो भूमीको प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
जसले गर्दा ती देशमा रहेका सैन्य बेसबाट अमेरिकाले कारबाही गर्ने सम्भावना कम बनाउछ । तर, अमेरिकाले समुन्द्रमा अत्याधुनिक जहाजको तैनाथी बढाउदै लग्दा त्यस क्षेत्रका विभिन्न देशबाट सेना फिर्ता समेत गर्न थालेको छ ।
सिरियाबाट सेना फिर्ता लिने निर्णय गरिसकेको अमेरिकाले खाडीदेखि मध्यपू्र्वका विभिन्न देशबाट आफ्नो सेनाको संख्या कटौती गर्ने भनिरहेको छ । यसको अर्थ अमेरिकाले सम्भावित आक्रमणबाट सेनालाई टाढा राख्नका निम्ति लिइने निर्णय भन्ने हो ।
अमेरिकाले यसअघि पनि इरानको आणविक भट्टी नष्ट गर्ने भन्दै ठूलोमात्रामा हवाई कारबाही गरिसकेको छ । इरानले पनि जवाफ फर्काउने भन्दै कतारमा रहेको अमेरकी सैन्य बेसमा मिसाइल आक्रमण गरेको थियो । तर, मानवीय क्षति भने नभएको बताइन्छ । इरान मिसाइल कार्यक्रममा समेत अग्रपंक्तिमा छ ।
अमेरिकाले इरानले मिसाइल कार्यक्रम पनि सिमित वा बन्द गर्नुपर्ने भन्दै आएको छ । यसरी घटनाक्रम विकास तीब्र गतिमा हुँदा मध्यपूर्वमा द्वन्द्ध हुने र यसमा रुस–चीन जस्ता राष्ट्र पनि सहभागी बन्ने स्थिति बनेमा भने यसले विनाशकारी द्वन्द्ध सिर्जना गर्ने खतरा देखिन्छ ।
