काठमाडौं । फागुन २१ को चुनावमा प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमै उम्मेदवार उठाएको नेपाली कांग्रेसले बहुमतको सरकार बनाउने दाबी गरिरहेको छ । सभापति गगन थापा प्रस्तावित भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको कांग्रेसको यो दाबी सत्य सावित हुनेमा आशंका उब्जिएका छन् । तर पार्टीमा भने देउवा पक्षको आंशिक सक्रियताले महत्वकांक्षी योजना विफल हुने विश्लेषण भइरहेका छन् ।
नेपाली राजनीतिमा कांग्रेसको आफ्नै लिगेसी छ । पार्टी भित्रको लोकतान्त्रिक अभ्यास कांग्रेसको सुन्दर पक्ष पनि हो । तर कांग्रेस भित्रको अन्तर्घात मुख्य समस्या बन्ने गरेको छ ।
यसअघि संस्थापन र इतरका नाममा लुछाचुडी हुने यो पार्टीमा यसपटक अलि भिन्न कथा छ । काठमाडौँको भृकुटीमण्डपमा माघ पहिलो साता सम्पन्न विशेष महाधिवेसनबाट पार्टी नेतृत्व कब्जा गरेका सभापति गगन थापाले कांग्रेसमा कुनै गुट उपगुट नरहेको दाबी गर्छन् ।
सभापति थापाले कांग्रेसमा गुटउपगुट नरहेको दाबी गरेपनि निवर्तमान सभापति शेरबहादुर देउवा र शेखर कोइरालाको मौनताले उनलाई पिरोल्दै लगेको छ । आसन्न फागुन २१ को चुनावी सम्मुखमा देउवा पक्षका नेताहरु चुनावी प्रचारप्रसारदेखि पार्टी गतिविधिमा सक्रिय बनेका छैनन् ।
कांग्रेसका सार्वजनिक कार्यक्रममा देउवा पक्षका नेताहरुको कमजोर सहभागिताले ठुलै घाटा व्यहोर्नपर्ने सम्मका विश्लेषण सुरु भएका छन् ।
जनकपुरमा बाचापत्र सार्वजनिक देखि विहिबार राष्ट्रियसभा गृहमा भएको सभापति थापासंग पश्नोत्तर कार्यक्रममा देउवा पक्षका नेताहरु खुलेका छैनन् ।
यति मात्रै होइन् टिकटमा गगनले हस्ताक्षर गरेका कारण देशभरका कांग्रेस उम्मेदवारको चुनावी अभियानमा देउवा पक्षका नेताहरुको सहभागिता आंशिक देखिने गरेको बताइन्छ । तर नेताहरु यो मान्न तयार छैनन् ।
सार्वजनिक रुपमा बोल्न नचाहेपछि यतिबेला देउवाले पुर्णरुपमा गगन माथि बदलाभाव लिएको आशंका उत्पन्न भएका छन् । कांग्रेसको चुनावी प्रचारलाई निहाल्ने हो भने पनि त्यो देखिन्छ । तर कांग्रेस नेताहरु पार्टी भित्रको असहयोग स्वीकार गर्न तयार छैनन् । कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा भने कांग्रेस नेता कार्यकतालाई यसपटक कांग्रेस बदलिनुपर्ने प्रशिक्षण दिइरहेका छन् ।
उसो त नेपाली कांग्रेसले अब की वार गगन सरकार ! नारा लगाएको छ । के कांग्रेस सभापति गगन थापा नेतृत्वको सरकार बन्ला ? कांग्रेस भित्रका असहयोग र मौनता तोडिएलान् ? प्रश्न उठेका छन् ।
यस्तो अवस्थामा सभापति गगनलाई भाबी प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरेको कांग्रेसले चुनावमा कस्तो जनमत बटुल्छ, त्यसैले नै गगन र कांग्रेसको भविष्य निक्र्योल गर्नेछ । साथै कांग्रेसको भित्रको अन्तर्घात र असहयोगलाई गगन कत्तिको मिलाएर लैजान्छन् भन्ने विषय पनि प्रधान बन्ने देखिन्छ ।
