सिन्धुपाल्चोक । नेपाल–चीन व्यापारको ऐतिहासिक तातोपानी नाका स्थायी, नियमित र सहज सञ्चालनलाई यसपटक सीमावासी मतदाताले आफ्नो प्रमुख चुनावी मापदण्ड बनाएका छन् । पटक–पटक अवरुद्ध हुँदै आएको नाकाको व्यवस्थापन, पूर्वाधार सुधार र दिगो सञ्चालनका स्पष्ट एजेण्डा बोकेका उम्मेदवारलाई मात्र मत दिने उनीहरूको तयारी छ ।
सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत पर्ने तातोपानी नाका लामो समयदेखि जीर्ण सडक, बाढी–पहिरो, कमजोर पुल र कूटनीतिक सहजीकरणको अभावले भरपर्दो बन्न सकेको छैन । दूरीका हिसाबले काठमाडौंदेखि चीनको केरुङसम्मको दुरी मात्र १७४ किलोमिटर छ । तर बारम्बारको अवरोधका कारण समयमै आयात–निर्यात हुन नसक्दा व्यवसायी र सीमावासी मारमा परिरहेका छन् ।
कोदारी ईको र डाक्लाङ पहिरो प्रभावित क्षेत्रमा यस वर्ष अस्थायी व्यवस्थामार्फत व्यापार सञ्चालन भइरहेको छ ।
चालु आर्थिक वर्षमा पहिरो नियन्त्रण र सडक सुधारका लागि ठेक्का प्रक्रिया अघि बढे पनि बाह्रबिसे–तातोपानी सडकखण्डका अधिकांश भाग अझै जीर्ण अवस्थामा छन् ।
बाढीले पक्की पुल बगाएपछि राखिएका बेलिब्रिजहरूको भारवहन क्षमता कमजोर हुँदा ठूला कन्टेनरको आवतजावत प्रभावित हुदा सिजनल सामान ढिलो आइपुग्दा आर्थिक क्षति ब्यवसायिले बेहोर्नु परेको छ । गत आर्थिक वर्षमा तीन महिना बन्द रहेको तातोपानी नाका यस वर्ष दशैंपछि मात्र पूर्ण रूपमा सञ्चालनमा आएको थियो ।
हालै एक साता लामो डढेलोपछि खासा बजारको चहलपहल क्रमशः बढ्दै गएको छ । निर्वाचन नजिकिँदै जाँदा लिपिङ र तातोपानी क्षेत्रमा मत माग्न आउने उम्मेदवार, कार्यकर्ता र व्यापारिक गतिविधि बढेपछि स्थानीय उत्साहित देखिएका छन् ।
सिमावासी यसपटक नाकामा व्यापार व्यवसाय सहज बनाउन साथ दिने उम्मेदवारलाई मात्र मत दिने भन्दै उम्मेदवारलाई प्रश्न गरिरहेका छन् । भौगोलिक विकटता रहेको भोटेकोशी र बाह्रबिसे क्षेत्रका बासिन्दाका लागि तातोपानी नाका रोजीरोटीको मुख्य आधार हो । यहाँका झन्डै ३५ हजारभन्दा बढी जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नाकामै आश्रित छन् ।
लिपिङपारि चिनियाँ बजारमा दैनिक करिब एक हजार सीमावासी खुद्रा सामान खरिदका लागि जाने गरेका छन् भने लार्चा सुक्खा बन्दरगाहमा करिब सात सय मजदुर रोजगारीमा छन् ।
स्थानीयका अनुसार तातोपानी नाका सीमावासीको जीविकोपार्जन मात्र नभई राज्यको राजस्व स्रोत पनि हो । गत आर्थिक वर्षमा यो नाकाबाट २१ अर्ब रुपियाँभन्दा बढी राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।
२०७२ को विनाशकारी भूकम्पपछि चार वर्ष बन्द रहेको तातोपानी नाका २०७६ सालदेखि पुनः सञ्चालनमा आएको थियो । तर हरेक वर्ष बाढी–पहिरो, चीनतर्फको नीतिगत अनिश्चितता र नेपालको कमजोर पूर्वाधारका कारण नाका अझै पूर्ण रूपमा भरपर्दो बन्न सकेको छैन ।
ब्यवसायी र स्थानियको समस्या बुझेर समाधानमा भाषण नभएर काम गर्नै उम्मेदवारलाई मत दिने सिमावासी एकमत छन् । सीमावासीको रोजाईमा नाकाको आयात–निर्यात सहज बनाउने र साना व्यापारीको पक्षमा काम गर्ने उम्मेदवार नै यसपटकको रोजाइ हुनेछन् ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का उम्मेदवारहरूले पनि तातोपानी नाकालाई सिन्धुपाल्चोकको ‘लाइफलाइन’का रूपमा विकास गर्ने प्रतिबद्धता जनाउदै मतदाता रिझाईरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरतप्रसाद पराजुलीले तातोपानी नाकालाई सिन्धुपाल्चोकको ‘लाइफलाइन’का रूपमा विकास गर्ने घोषणासहित आफ्नो चुनावी अभियान नाकाबाटै सुरु गरेका थिए ।
नेकपा एमालेका उम्मेदवार सरेश नेपालले पहिलो प्रदेशसभा निर्वाचनमा प्रदेशसभा सदस्य रहँदा पहल गरे पनि नाका र राजमार्ग संघीय सरकारको मातहतमा रहेकाले अपेक्षित सफलता नपाएको उल्लेख गर्दै अबको निर्वाचनमा व्यवस्थित नाका सञ्चालन नै आफ्नो मूल उद्देश्य रहेको बताई रहेका छन् ।
नेकपाका उम्मेदवार माधव सापकोटाले आफ्नो कार्यकालमा तातोपानी नाका सञ्चालनका लागि निरन्तर प्रयास गरेको दाबी गर्दै । अब पनि यो मुद्दामा काम गर्ने बताउछन् ।
खासा बजारमा बसेका आफ्नो नागरिकलाई झन् बढी सुविधासहित स्थानान्तरण गरेर चीन सरकारले सो भूमिलाई राष्ट्रियकरण गरेको छ । अहिले खासामा ठुलाठुला भवन, चौडा सडक, लामो पुल र व्यवस्थित पार्किङसहित स्मार्टसिटी निर्माण भइरहेको छ ।
चीनपट्टि व्यवस्थित सहर बन्दै गएकोले नेपालपट्टि पनि तातोपानी नाकाको स्थायी र सहज सञ्चालन सुनिश्चित गर्ने एजेण्डा बोकेका उम्मेदवार नै मतदाताको प्राथमिक रोजाइ बन्ने लगभग तयजस्तै देखिन्छ ।
