News 24 Television
रास्वपा–एमाले किचलो, तातिदै सामाजिक सञ्जाल

काठमाडौं । दाङमा रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाए । त्यसपछि तुल्सीपुरमा राजा वीरेन्द्रको शालिकमाथि चढे । सर्लाहीमा बच्चाहरुलाई कांग्रेसको झण्डामा पिसाव फेर्न लगाए । यी घटनाक्रम लगत्तै कांग्रेसका कार्यकर्ताहरुले कांग्रेस माथिको अपमान भनपनि नेताहरुले भने यस बिषयमा केही बोलेका छैनन् ।

यता एमालेमा भातृ संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघले भने रास्वपा र बालेनको विरोध गर्दै काठमाडौं सहित देशका केही स्थानमा राँके जुलश नै निकाले । उता, एमाले निकट केही व्यक्तिहरुले दाङ क्षेत्र नम्बर ३ मा रहेको रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड गरे । यी घटनाक्रमले निर्वाचनका लागि बाँकी रहेको १२ दिनको सुरक्षाका लागि सुरक्षा निकायले सतर्कता र दलहरुले संयमता बढाउनु पर्ने देखाएको छ । 

फागुन ७ गते तुलसीपुर ५ स्थित विरेन्द्र चोकमा रास्वपाका कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएको भीडियो सामाजिक सञ्जालमा भाइरल छ । एमालेको झण्डा जलाएको लगत्तै राजा विरेन्द्रको शालिक माथि चढेको र सर्लाहीमा नेपाली कांग्रेसको झण्डा माथि रास्वपाका कार्यकर्ताले केही बच्चाहरुलाई पिसाब फेर्न लगाएको भनिएको भीडियो पनि सञ्जालमा भाइरल बनि रहेको छ । 

सामाजिक सञ्जालमा यी भीडियोहरु भाइरल बनेपछि एमाले र कांग्रेस सहित बाँकी दलका कार्यकर्ताहरु रास्वपा समर्थकको यो कार्य प्रति सञ्जालमै रुट देखिएका छन् । कांग्रेसका कार्यकर्ताहरुले सञ्जालबाट बिरोध गरेता पनि नेताहरुले भने यो बिषयमा अहिले सम्म कुनै प्रतिक्रिया दिएको देखिदैन । एमालेमा भने पार्टी निकट भातृ संस्था अनेरास्ववियु र राष्ट्रिय युवा संघले रास्वपा समर्थकको यो कार्यको बिरोध गर्दै शुक्रबार साँझ काठमाडौं सहित देशका विभिन्न जिल्लामा राँके झुलुस र विरोधको कार्यक्रमहरु गरे । 

रास्वपा समर्थकहरु पनि निर्वाचनको मिति नजिकिदैं जाँदा एमालेमाथि अझै आक्रमक बन्दै गएका छन् । रास्वपाको आक्रमणमा रक्षात्मक देखिएको एमालेले पनि पछिल्लो समय रास्वपा प्रतिको प्रहारलाई बढाउँदै लगेको देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रास्वपाले निर्वाचन हार्ने भएपछि एमालेको झण्डा जलाउने काम गरेको र निर्वाचन बिथोल्न खोजेको आरोप लगाएका छन् । 

एमाले प्रचार संयोजक मिनबहादुर शाहीले रास्वपाका समर्थकले पार्टीको झण्डा जलाएपछि भातृ संगठनले बिरोध जनाएको बताए । उनले कुनै पनि पार्टीको झण्डा जलाउने जस्तो राजनीतिक रुपमा अरु अपराध नहुने र बिचार र सिद्धान्त नबुझेकाहरुले यस्तो कार्य गर्ने बताए । 

एमालेको झण्डा जलाएपछि एमाले निकट केही युवाहरु पनि दाङको क्षेत्र नम्बर ३ मा रहेको रास्वपाको सम्पर्क कार्यालयमा तोडफोडका लागि पुगेको र प्रहरीले रोक्न खोजिरहेकोे अर्को भिडियो पनि अहिले सञ्जालमा भाइरल छ । रास्वपा माथि राजनीतिको संस्कार खोजेको एमालेले किन सम्पर्क कार्यालय तोडेको भन्दै फेरी एमाले माथि पनि प्रश्न तेर्सिएको छ । यस बिषयमा शाहिले यस्तो कार्य भएको भए गलत भएको र त्यो सुचना आफुसँग आइ नपुगेको बताए । 

रास्वपा समर्थकले एमालेको झण्डा जलाएको र एमालेका समर्थकले रास्वपाको कार्यालयमा तोडफोड गर्न खोजेको भिडियो सामाजिक सञ्जालमा भाइरल हुदाँपनि रास्वपाले यसमा कुनै प्रतिक्रिया जनाएको छैन । एमालेको झण्डा जलाएको आरोपमा अहिलेसम्म ३ जना पक्राउ परिसकेका छन् । 

रास्वपाको भैरहवा र पोखराको सभा स्थगित !

रास्वपाले भैरहवा र पोखरामा फागुन ९ र १० गते सभा गर्ने र सभालाई सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने भनिएको थियो । तर शुक्रबार दुवै सभा आकष्मिकरुपमा स्थगित गरिएको छ । स्थगित गर्नुको कारण वरिष्ठ नेताको स्वास्थ्य समस्या भनिएको छ । तर राजनीतिक वृतमा दाङको घटनापछि भैरहवा र पोखरामा कार्यक्रम गर्दा दुवै पक्षबीच झडप हुन सक्ने र त्यसले निर्वाचनका बेला सुरक्षा चुनौति बढ्न सक्ने भएपछि रास्वपा पछि हटेको चर्चा चलिरहेको छ । 

स्वास्थ्य समस्या भनिएका बालेन शनिवार नै झापातर्फ प्रस्थान गरेका छन् । एमाले र रास्वपाका समर्थक पछिल्लो समय एकअर्काप्रति आक्रमक बन्दै गइरहेका छन् । यसै विषयलाई लिएर एमालेले केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै आधिकारिक धारणा समेत सार्वजनिक गरेको छ । 

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update