News 24 Television
दंगा भड्काउन जममत पार्टीकै नेता सक्रिय

काठमाडौं । रौतहट सदरमुकाम गौरमा दुई समुदायबीच भएको विवाद अझै साम्य भएको छैन । शुक्रबार सहमति भएपछि पनि पुनः शनिवार दंगा भड्किएपछि स्थानीय प्रशासनले कफ्र्यू लगाएको छ । साम्प्रदायिक तनाव भड्काउने काम गरेको भन्दै प्रहरीले जनमत पार्टीका जिल्ला सभापति सहित डेढ दर्जन बढीलाई पक्राउ गरेको छ । 

रौतहट जिल्लाको सदरमुकाम गौरमा दुई समुदायबीचको विवाद सर्वपक्षीय सहमतिमा शुक्रबार टुंग्याइएको थियो । तर शनिवार विहानदेखि पुनः दंगा भड्कियो । सहमति भइसकेपछि पनि पुनः दंगा भड्किएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले कफ्र्यू आदेश जारी गरि स्थिति नियन्त्रणमा लिने प्रयास ग¥यो । 

दंगा भड्किन नदिन कफ्र्यू लगाएर सशस्त्र र जनपद प्रहरीका साथै सेना परिचालन गरिँदा समेत शनिवार दिनभरी नै विभिन्न ठाउँमा आगजनी र तोडफोडहरु भए । सदरमुकामबाट सुरु भएको विवाद अन्य स्थानमा समेत फैलिएर गौर नगरपालिकाका विभिन्न वडाहरुमा आक्रमणहरु भए । 

नगरपालिकाका विभिन्न वडामा धार्मिक स्थल र सवारी साधन लक्षित आक्रमण भएपछि सुरक्षा संवेदनशिलता बढ्यो । दंगाका क्रममा रौतहटको विभिन्न स्थानको मुस्लिम समूदायको धार्मिक स्थल मस्जिदमा आगजनी भयो । गौर नागरभित्रका विभिन्न मस्जिदहरुमा आगजनी गर्नुका साथै केही सवारी साधनहरु पनि जलाइयो ।

सोही दंगाका क्रममा हालसम्म ५ वटा मोटरसाइकल, २ वटा स्कुटर, १ वटा स्कार्पियो गाडी र १ वटा ई–रिक्सा गरी जम्मा ९ वटा सवारी साधन पूर्ण रूपमा जलेर नष्ट भएका छन् । 

दंगा भड्काउने राजनीतिक दलका नेता नै सक्रिय

मस्जिदमा प्रार्थना गरिहेका बेला डिजे बजाएको निहुँमा दुई समुदायबीच विवाद उत्पन्न भएको थियो । विवाद साम्यमा पार्न शुक्रबार नै सर्वपक्षीय छलफल गरि सहमति गरिए पनि अर्को दिन पुनः दंगा भड्कियो । 

दंगा भड्काउन विभिन्न समूहको सक्रियता रहेको भन्दै सुरक्षा निकायले अनुसन्धान गरिरहेको थियो । सोही क्रममा जनमत पार्टीका रौतहट जिल्ला संयोजक शेख जमशेदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जमशेदसहित डेढ दर्जन बढीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्मुखमा साम्प्रदायिक भड्काव सिर्जना गरि निर्वाचन विथोल्ने खेल भएको हुन सक्ने आशंकामा पनि सुरक्षा निकायले सतर्कता बढाएको छ ।

रौतहट तनावबारे शनिवार गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको समेत बैठक बसेको थियो । सुरक्षा निकायका साथै राजनीतिक दलका नेताहरुले पनि संयमता अपनाउन आग्रह गरिरहेका छन् ।घटनापछि गौर क्षेत्रमा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । संवेदनशील क्षेत्रमा अतिरिक्त प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ । गत ७ गतेदेखि सुरु भएको दंगा अहिलेसम्म् नियन्त्रणमा नआएपछि यसको असर आगामी निर्वाचनसम्म पर्ने देखिएको छ ।

 

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update