कैलाली । युवाहरुलाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाउने उद्देश्यले धनगढी उपमहानगरपालिकाले सुरु गरेको सिप तथा रोजगार मेला सञ्चालन भईरहेको छ । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ८३ स्थानीय तहबाट छनोट गरिएका करिब ६ सय प्रशिक्षार्थी मेलामा सहभागी छन् ।
सुदूरपश्चिमको प्रादेशिक राजधानी धनगढीमा माघ ५ गतेदेखि चलिरहेको रोजगार मेलामा युवाहरुलाई विभिन्न किसिमका तालिम प्रदान गरिएको छ । फागुन १३ गतेसम्म सञ्चालन हुने यो मेलामा ६ वटा मुख्य विधाअन्तर्गत २२ वटा उपविधामा तालिम प्रदान दिइरहेको छ ।
मेलामा अटोमोबाइल्स, निर्माण, आतिथ्य तथा सत्कार, इलेक्ट्रिकल तथा मेकानिकल, सूचना प्रविधि तथा शैक्षिक–सेवा, आर्ट क्राफ्ट र डिजाइनिङ विधामा तालिम सञ्चालन गरिएको छ । सीप तथा रोजगार मेलामा सहभागिहरुले निःशुल्क रुपमा सीप सिक्न पाएकोमा खुसी ब्यक्त गरेका छन् ।
धनगढी उपमहानगरपालिकाले गत वर्ष पनि रोजगार मेला सञ्चालन गरेको थियो । गत वर्ष तालिम लिएका धेरैले रोजगार पाएका छन् । यस वर्ष तालिम लिएकाहरू पनि रोजगार पाउने आशामा छन् भने कतिपय स्वरोजगार बन्न उत्साहित छन् । फाष्ट फुड तालिम लिएकी स्थानीय देबीका थापा कम लगानीमा राम्रो आम्दानी गर्न सकिने र तालिमपछि आफ्नै व्यवसाय सुरु गर्ने योजनामा छिन् भने तालिक निकै प्रभावकारी रहेको प्रशिक्षकहरु बताउँछन् ।
गत वर्ष सुदूरपश्चिम प्रदेशका ३९ वटा स्थानीय तहबाट सहभागी भएका १ हजार ४० जना युवालाई सीप तथा रोजगार मेला मार्फत तालिम दिइएको थियो । उपमहानगरपालिकाले यसपाली ६ सय जनालाई सीपमूलक तालिम दिने लक्ष्यका साथ दोस्रो संस्करणको सीप तथा रोजगार मेलाको आयोजना गरेको हो । कामको खोजीमा देश छोडिरहेका युवाहरूलाई लक्षित गर्दै धनगढी उपमहानगरपालिकाले यसपाली पनि मेला आयोजना गरिन तालिम सञ्चालन गरेको हो ।
कामको खोजीमा कुनै पनि सिप नभएका युवाहरु छिमेकी मुलुक भारत र तेस्रो मुलुक जाने गरेका छन् । सिप नहुँदा विदेशमा भनेजस्तो काम पाउन नै मुश्किल पर्छ । त्यसैले केही यस्ता सिपहरु सिकेर देशभित्रै रोजगारीको ढोका खुल्नुका साथै स्वरोजगार बन्न अवसर मिल्नेछ । वैदेशिक रोजगारमा जान चाहनेहरुका लागि पनि यस्ता तालिमहरु फलदायी हुनेछ ।
