काठमाडौं । नेपालको संविधानको धारा ३५ ले स्वास्थ्यलाई मौलिक हकको रुपमा ब्याख्या गरेको छ । आधारभुत स्वास्थ्य सेवाबाट नागरिक बञ्चित हुन नहुनेदेखि आकस्मिक उपचारबाट कसैलाई पनि बञ्चित नगरिने भनिएपनि सार्वजनिक स्वास्थ्यको अवस्था भयाबह देखिन्छ । स्वास्थ्य बीमा कार्यक्रम समेत घिटिघिटी चलिरहेको बेला आगामी चुनावका लागि दलहरुले कस्ता प्रतिबद्धता ल्याएका छन ?
नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकको रुपमा ग्रहण गरेपनि स्वास्थ्य सेवाबाट सबै नागरिक सहज पहुँचमा पुग्न सकिरहेका छैनन् । सार्वजनिक स्वास्थ्यलाई सुधार गर्न भन्दै ल्याइएको स्वास्थ्य बीमा कार्यक्रम पनि स्रोत अभाव भन्दै बन्दको स्थितिमा पुगेको छ । तर, ठूला दलका चुनावी बाँचापत्रले भने स्वास्थ्यलाई प्राथमिकिकरण गर्नेमा भने जोड दिएको देखिन्छ । तर, वास्तविक अवस्था भने सुधारन्मुख हुन नसक्दा यसप्रति जनताको भरोसा टुटेको देखिन्छ । जसकारण पनि स्वास्थ्यलाई केन्द्रमा राख्दै सर्वसाधारणले सहज पहुँचको खोजी गरिरहेका छन् ।
अब प्रमुख दलहरुले स्वास्थ्य क्षेत्रका लागि चुनावी प्रतिबद्धता कसरी ल्याएका छन ?
नेकपा एमाले
स्वस्थ खाना, योग व्यायम– निरोगी नेपालको महाअभियान भन्ने नारासहित एमालेले आधारभूत स्वास्थ्य सेवा निशुल्क गर्नेदेखि सबै तहमा अस्पताल पूर्वाधार निर्माण, आधुनिक उपकरण, सेवाको गुणस्तर, जनशक्ति व्यवस्थापनदेखि स्वास्थ्य बीमामा देखिएको समस्या समाधानका साथै विश्वस्तरीय स्वास्थ्य सेवा प्रदानमा जोड दिने भनेको छ । जसमा केहि बुँदाहरु यस्ता छन् ।
१. स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गर्ने
२. स्वास्थ्य सेवाको वर्गिकरण र वित्तिय व्यवस्थापनका लागि कानून निर्माण
३. तीन तहमै स्वास्थ्य सेवा गुणस्तरिय बनाउनुका साथै स्वास्थ्यकर्मीको वृत्ति विकासमा जोड
४. निजी अस्पतालको शुल्क र गुणस्तरका लागि मापदण्ड र क्यापिङ प्रणाली लागू
५. पोषण, व्यायमदेखि प्रदुषण नियन्त्रणमार्फत रोग नियन्त्रणको प्रयास
६. योग, ध्यान, आयुर्वेददेखि स्वास्थ्य सेवालाई विशिष्टीकरणका साथै आधुनिक र एआई प्रविधिको प्रयोगमा जोड
७. विदेशबाट नेपालमा स्वास्थ्य शिक्षा अध्ययन गर्न आउनेका लागि कोटा वृद्धि
८. सेवामुलक, सुशासित र उत्तरदायी बनाउदै सार्वजनिक, निजी र सहकारी मोडेलमा लगानी बृद्धि
नेपाली कांग्रेस
सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली भन्ने नाराका साथ कांग्रेसले स्वास्थ्य क्षेत्रका लागि अन्य दलको तुलनामा धेरे विषयलाई समेट्न खोजेको देखिन्छ । गोजीमा बीमा कार्ड छ, मलाई के को डर भन्ने नारासहित कांग्रेसले स्वास्थ्य क्षे्त्रका गर्ने कामको सूची १५ बुँदामा समेटेको छ ।
१. बीमाबाट स्वास्थ्य उपचार र बजेटको १० प्रतिशत रकमान्तर गर्ने
२. स्वास्थ्य प्रोफाइलको विकास र कमाउनेले तिर्ने र कमजोरको बीमा प्रिमियम राज्यले तिर्ने
३. ३ वर्षमूनिका बालबालिका र ७३ वर्षमाथिका सबैलाई निशुल्क उपचार
४. कडा रोग जस्तै, मृगौला, क्यान्सर जस्ता रोगको उपचारमा असिमित र पूर्ण दायरामा ल्याउने
५. जनशक्ति व्यवस्थापन, नसर्ने रोगका लागि अभियान सञ्चालन
६. महामारीको पूर्वतयारीका निम्ति आवश्यक कदम चाल्ने
७. आयुर्वेद, वैकल्पिक र प्राकृतिक चिकित्सा प्रणालीको विकास र सुधार
८. श्रमिक स्वास्थ्य, पोषण जस्ता कार्यक्रममा विशेष जोड
नेपाली कम्युनिस्ट पार्टी
गुणस्तरीय जनमुखी जनस्वास्थ्य भनेको नेकपाले जनस्वास्थ्य सेवा पूर्ण निशुल्क र संविधानले भनेको कुरामा प्रतिबद्ध रहने भनेको छ ।
१. नागरिकको खर्च ५४ बाट २०८८ सम्ममा ३५ प्रतिशतमा झार्ने
२. स्वास्थ्य बीमा २०८८ सम्म शतप्रतिशतमा पु¥याउने जसमा तोकिएको वर्गको प्रिमियम राज्यले तिर्ने
३. सरकारी अस्पतालको ओपीडी सेवा बिहान ७ देखि सांझ ७ बजेसम्म विस्तार गर्ने
४. स्वास्थ्य सेवामा डिजिटल प्रणालीमा लैजाने
५. तोकिएको वर्गलाई ग्रिन च्यानलमार्फत विशेष सहुलियत तथा प्राथमिकताका साथै जनशक्ति व्यवस्थापन
६. योग, ध्यान तथा पोषणमा जोड
७. मानसिक स्वास्थ्यमा आत्महत्याको घटनालाई २३.४ प्रति १ लाखमा रहेको स्थितिलाई २०८८ सम्म ४.७ मा झार्ने
८. स्वास्थ्यको बजेटलाई अहिले ५ प्रतिशत रहेकोमा ८ प्रतिशतमा पु¥याउनेदेखि तमाम विषयहरु समेटिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्य क्षेत्रमा स्वास्थ्य बजेटमा केहि नभनेपनि नसर्ने रोगको उपचारमाभन्दा लाग्न नदिनेमा जोड दिने भनेको छ ।
१. एकीकृत मोडेल लागू गर्ने
२. स्वास्थ्य बीमा कार्यक्रमलाई सुदृढ गर्ने
३. अपङ्गता रोक्न अर्लि स्क्रिनिङको व्यवस्थाए
४. प्रत्येक प्रदेशमा एक अपाङ्गता पुनस्र्थापना विशेष्टिकृत केन्द्र स्थापना
५. मानसिक स्वास्थ्यमा शिक्षादेखि सचेतना कार्यक्रम
६. जलन पीडितलाई निशुल्क र गुणस्तरीय सेवा प्रदान
७. सबै जिल्ला अस्पतालमा विशेषज्ञ सेवा
राष्ट्रिय प्रजातन्त्र पार्टी
सार्वजनिक स्वास्थ्यका लागि राप्रपाले वीर अस्पतालस्तरका अस्पताल सबै प्रदेशमा विस्तार गर्ने भनेको छ भने स्वास्थ्य बजेटको विषयमा भने केहि बोलेको देखिन्न ।
१. आधारभूत स्वास्थ्य सेवा निशुल्क र प्रभावकारी बनाउने
२. वडा स्वास्थ्य केन्द्रमार्फत सबै नागरिकको स्वास्थ्य प्रोफाइल निर्माण
३. क्यान्सर, मृगौला पीडित र अन्य आर्थिक सहायतालाई स्तरिय र बढावा दिने
४. औषधी लिमिटेडको स्तरोन्नतिका साथै औषधीको मूल्य निर्धारण र गुणस्तर कायम
५. स्वास्थ्य बीमाको पहुँच वृद्धिका साथै लक्षित वर्गका लागि विशेष व्यवस्था जस्ता विषय समावेश गरिएका छन् ।
यसरी समग्रमा ठूला दलका चुनावी घोषणापत्रमा स्वास्थ्य बीमा कार्यक्रम सबैमा परेपनि बजेट विनियोजनदेखि नागरिकलाई उपचारको पहुँच विस्तारमा भने कांग्रेस, नेकपा र एमालेले प्रष्ट रुपमा भनेका छन् । यता, रास्वपाले बजेटको कुरामा मौनता साँधेपनि जलनको उपचारमा भने विशेष जोड दिएको छ ।
