News 24 Television
सर्लाही १ मा रोचक चुनावी भिडन्त, के छन उम्मेदवारका एजेण्डा र भनाई ?

सर्लाही । फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा सर्लाही १ को माहोल अझै गर्माएको छ । पुराना दलका स्थापित अनुहार र नयाँ प्रतिस्पर्धीबीचको भिडन्तले यसपटकको चुनाव रोचक बन्ने देखिएको छ । अघिल्ला निर्वाचनहरूमा फरक–फरक प्रतिनिधि चयन गर्दै आएको यो क्षेत्रमा मत विभाजन नै निर्णायक बन्न सक्ने आकलन गरिएको छ । 

सर्लाही निर्वाचन क्षेत्र नं. १ मा आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि २८ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा नेपाली कांग्रेसले शम्भुलाल श्रेष्ठलाई उमेदवार बनाएको छ भने नेकपा (एमाले)बाट मनोजकुमार देवकोटालाई चुनावी मैदानमा उतारेको छ । 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट प्रमोद साह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नीतिमा भण्डारी कार्की र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामप्रकाश चौधरी उमेदवार छन् । 

चुरेको विकट बस्तीदेखि जिल्लाकै प्रमुख व्यापारिक केन्द्र लालबन्दी र बयलवास बजारसमेत पर्ने सर्लाही क्षेत्र नं. १ का अधिकांश मतदाता कृषि पेशामा आवद्ध छन् । सर्लाही १ मा १ लाख ३० हजार ८७१ मतदाता रहेका छन् । 

चुरेभेगको सिन्धुलीसँगको सीमादेखि मधेशको समथर भू–भागसम्म पर्ने सर्लाही १ मा चन्द्रनगर गाउँपालिका पुरै (१–७), लालबन्दी नगरपालिका पुरै (१–१७), ईश्वरपुर नगरपालिका १५ बाहेक सबै (१–१४), हरिपुर नगरपालिका १ बाहेक सबै (२–९), कविलासी नगरपालिका १, २ र ७ पर्छ । 

सर्लाही १ मा ४९ वडा रहेका छन । आगामी प्रतिनिधि सभा निर्वाचनमा सर्लाही १ मा उम्मेदवारहरुले सडक, खानेपानीको अभाव र सिँचाईको समस्या, शिक्षा, कृषि, रोजगार, स्वास्थ्य सुधारदेखि युवाको बेरोजगारीको समस्यालाई मुख्य एजेण्डा बनाएका छन् । 

सर्लाही–१ मा उम्मेदवारी दिएकामध्ये शम्भुलाल श्रेष्ठ, प्रमोद साह र रामप्रकाश चौधरी यस क्षेत्रको पूर्वप्रतिनिधि सभा सदस्य हुन्  । २०७९ को निर्वाचनमा गठबन्धनका तर्फबाट तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका रामप्रकाश चौधरी २४ हजार ८३८ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् थिए । 

त्यसबेला स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले १८ हजार ४०४ र एमालेसँगको गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी नेपालका प्रमोद साहले १४ हजार २५५ मत प्राप्त गरेका थिए । 

निवर्तमान प्रतिनिधिसभा सदस्य रामप्रकाश चौधरीलाई केन्द्रमा भएको गठबन्धन अनुसार नेपाली कांग्रेस र माधवकुमार नेपाल नेतृत्वको तत्कालीन नेकपा समाजवादीको समर्थन थियो ।  यस पटक कांग्रेसले आफ्नै उम्मेदवार खडा गरेको छ भने तत्कालीन समाजवादी पार्टी अहिले माओवादी केन्द्रसँग एकीकरण भई नेपाली कम्युनिस्ट पार्टी बनिसकेको छ । 

अहिले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रमोद साह २०७४ को निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को उम्मेदवार भई २२ हजार ३६ मत ल्याएर विजयी भएका थिए ।  

२०७९ को निर्वाचनमा गठबन्धनका तर्फबाट तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका रामप्रकाश चौधरी २४ हजार ८३८ मत प्राप्त गरी विजयी भएका थिए । त्यसबेला स्वतन्त्र उमेदवार मानबहादुर खड्काले १८ हजार ४०४ मत ल्याएका थिए भने जसपा नेपालका प्रमोद साहले १४ हजार २५५ मत प्राप्त गरेका थिए ।  २०७४ सालको निर्वाचनमा भने प्रमोद तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट २२ हजार ३६ मतसहित विजयी भएका थिए । 

त्यसबेला एमालेका ध्रुवप्रसाद गौतमले २१ हजार ४६४ मत प्राप्त गरेका थिए भने कांग्रेसका शम्भुलाले १७ हजार ९४६ मत ल्याएका थिए । प्रत्येक निर्वाचनमा फरक प्रतिनिधि चयन गर्ने प्रवृत्ति देखिएको सर्लाही–१ मा यसपटक पनि मत विभाजन नै निर्णायक बन्न सक्नेछ । 

सर्लाही १ मा कृषि विश्व विद्यालय स्थापना, सुनकोशी–मरिण सिँचाई आयोजनाको पानी ल्याउने, लालबन्दी–मरिण–नेपालथोक सडक सञ्जाल निर्माण लगायतका मुद्दा केही समयदेखि उठ्दै आइरहेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update