काठमाडौं । तनहुँ क्षेत्र नं १ एसपटक पनि चर्चाको शिखरमा छ । उम्मेदवारको व्यक्तित्वका कारण यो क्षेत्र चर्चामा रहेको हो । रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि गत बैशाखमा भएको उपनिर्वाचनमा रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेले जित हासिल गरेका थिए ।
वाग्ले उपनिर्वाचनको जित जोगाउन लागिरहँदा कांग्रेसका गोविन्द भट्टराई कांग्रेसको पुरानो विरासत जोगाउन लागिपरेका छन् । एमालेकी भगवती न्यौपाने र नेपाली कम्युनिस्ट पार्टीका विद्यानाथ ढकाल पनि बलियो प्रतिस्पर्धी मानिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल ७९ सालको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको ठाउँमा गत वर्षको उपचुनावमा कांग्रेस छाडेर रास्वपा गएका स्वर्णिम वाग्लेले बाजी मारेका थिए ।
उनै वाग्ले अहिले पनि यहि क्षेत्रबाट प्रतिष्पर्धामा उत्रिएका छन् भने कांग्रेसका प्रभावशाली पुराना नेता नेता गोविन्द भट्टराई कांग्रेसको पुरानै विरासत फर्काउने दाउमा छन् ।
सधैभरि राष्ट्रिय राजनीतिको मियो बन्दै आएको यस क्षेत्रमा आमनेसामने उभिएका प्रभावशाली उम्मेदवार र बदलिएको राजनीतिक समिकरणका कारण पनि यसपटकको प्रतिस्पर्धा झनै पेचिलो बनेको हो ।
उपचुनावमा भट्टराइलाई नै हराउदै वाग्ले रास्वपाबाट संसदीय यात्रा सुरु गरेका थिए । कांग्रेसको रुष्ट मत बटुलेर उपचुनावमा बाजी मारेका वाग्लेसँग यसपटक एमालेकी भगवती न्यौपाने र नेपाली कम्युनिस्ट पार्टीका विद्यानाथ ढकाल पनि बलियो प्रतिष्पर्धीका देखिएका छन् ।
सुरुमा, अघिल्लो चुनाव र उपचुनावको मतपरिणम हेरौैं
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा कांग्रेसबाट रामचन्द्र पौडेल विजयी भएका थिए । पौडेल २५ हजार ३६१ मत प्राप्त गरि विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाले १९ हजार ९८१ प्राप्त गरेका थिए । पौडेलविरुद्ध बागी उम्मेदवार दिएका गोविन्दराज जोशीले ६ हजार ८८६ मत प्राप्त गरेका थिए ।
जातिबेला जोशीले बागी उम्मेदवारी दिएर कांग्रेसकै भोट काट्दा पनि रास्वपा चौथो पोजिसनमा थियो । रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए । उक्त चुनावमा समानुपातिकतर्फ पनि नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो र रास्वपा तेस्रो स्थानमा थियो । कांग्रेसले २० हजार १५८, एमालेले १६ हजार ६८३, रास्वपाले १२ हजार ७ सय ७३ र नेकपाले सात हजार ३२६ मत प्राप्त गरेको थियो ।
पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि २०८० वैशाख १० मा उपनिर्वाचन भयो । त्यतीबेला रास्वपाका उपसभापति वाग्लेले ३४ हजार ९११ मत प्राप्त गर्दै विजयी भए । कांग्रेसका भट्टराईले २० हजार १२२ मत र एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मात्रै प्राप्त गरे । वाग्लेले १४ हजार ७९६ मतले जितेका थिए ।
उपनिर्वाचनमा रास्वपाले एमालेको मत करिब ११ हजार तानेको थियो भने रास्वपाले नेकपा, स्वतन्त्र उम्मेदवारको मत आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
उपनिर्वाचनमा गठबन्धन र दलहरूको रणनीतिक अवस्थाले वाग्लेलाई फाइदा पुगेको विश्लेषण गरिँदै आएको छ । त्यतिबेला एमाले र माओवादीका केही परम्परागत मत, कांग्रेसभित्रको असन्तुष्ट समूह तथा स्वतन्त्र मतदाताको समर्थनले वाग्लेको मतभार बढेको आँकलन छ ।
चुनावी समीकरण फरक, एक्ला एक्लै मैदानमा
तनहुँ १ मा यसपटकको चुनावी समीकरण केही फरक छ । अहिले प्रमुख दलहरू आफ्नै उम्मेदवारसहित एकल प्रतिष्पर्धामा छन् । जसले मतविभाजनको नयाँ गणित सिर्जना गरेको छ । यहाँ तत्कालिन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत डेढ दर्जन बढी दल तथा समूहबीच एकता भइ बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का साथै कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी, हर्ष साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी लगायतका उम्मेदवार पनि रहेकाले उनीहरुको आफ्नै प्रभाव हुने देखिन्छ । नेकपाबाट विद्यानाथ ढकाल उम्मेदवार छन् ।
देवभूमि भनेर चिनिने तनहुँको १ नम्बर क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले रामदत्त जोशी अर्थात अभिषेक जोशीलाई उम्मेदवार बनाएको छ । जसले धर्मसंस्कृति र देवभूमि रक्षाको वकालत गरिहेका छन् ।
७९ को चुनावमा कांग्रेसको भोट काट्न गोविन्द राज जोशीले महत्वपूर्ण भूमिका खेलेका थिए । तर पनि पौडेलले सहज जित हात पारे । अहिले पुनः गोविन्दराज जोशीकै छोरा दीपकराज जोशी स्वतन्त्र उम्मेदवार बनेर मैदानमा छन् ।
यस्तै, श्रम संस्कृति पार्टीका काशिराम गुरुङ, उज्यालो नेपाल पार्टीका मञ्जिल रानालगायत दलका उम्मेदवार चुनावी मैदानमा छन् ।
यस क्षेत्रको हरेक ठाउँ र गाउँ विशेषको मत दल तथा उम्मेदवारको आ–आफ्नै प्रभाव छ । शहर केन्द्रित ठाउँमा रास्पाको प्रभाव हुँदा ग्रामीण बस्तीमा कांग्रेसकै प्रभाव देखिएको छ । भानु, आँबुखैरेनी, ब्यासका साथै डुम्रे बजार र देवघाटका बजार क्षेत्रमा रास्वपाको प्रभाव देखिँदा अधिकांस ग्रामीण बस्तीमा कांग्रेस बलियो मानिएको छ ।
तनहुँको मतदाताः कहाँ कति, कहाँ को बलियो ?
तनहुँ जिल्लामा कुल मतदाता २ लाख ५४ हजार ३७९ मध्ये महिला मतदाता एक लाख ३० हजार ९०६ र पुरुष एक लाख २३ हजार ४९१ रहेका छन ।
तनहुँ–१ क्षेत्रमा मात्रै १ लाख ३६ हजार ११८ मतदाता छन । तनहुँ–१ अन्तर्गत देवघाट, आँबुखैरेनी, बन्दीपुर, भानु नगरपालिका र व्यास नगरपालिकाका अधिकांश वडा पर्छन् । अघिल्लो पटक स्पष्ट रूपमा खुलेका मतदाता अहिले ‘पर्ख र हेर’को अवस्थामा छन् ।
यस क्षेत्रमा पूर्व मन्त्री भइसकेकी एमाले नेतृ न्यौपाने पनि बलियो प्रतिष्पर्धीका रुपमा खडा छिन् । न्यौपानेलाई पार्टीको स्थायी मत आधार जोगाउनुका साथै निराश मतदातालाई पुनः सक्रिय पार्ने चुनौती छ । एमालेले अघिल्ला दुई निर्वाचनमा अपेक्षित परिणाम नपाएकाले यसपटक प्रतिष्ठाको लडाइँका रूपमा हेरिएको छ ।
कांग्रेसका भट्टराई स्थानीय विकास र खानेपानी आयोजनामा सक्रिय नेताका रूपमा चिनिन्छन । उपनिर्वाचनमा पराजित भए पनि कांग्रेसको परम्परागत मत सुरक्षित रहेको तथ्यांकले देखाउँछ । कांग्रेसको आन्तरिक एकता, विशेष महाधिवेशनपछिको पुनर्गठन र सहानुभूतिको कारकले यसपटक भट्टराईलाई थप बल पु¥याउन सक्ने आँकलन गरिएको छ ।
रास्वपाका वाग्ले भने अघिल्लो जितलाई निरन्तरता दिने रणनीतिमा छन् । रास्वपा सभापति रवि लामिछानेले वाग्लेलाई भावी अर्थमन्त्री घोषणा गरि आगामी वर्षको बजेट लेख्दै गर्न समेत निर्देशन दिएका छन् ।
जसले गर्दा विकासमुखी भोट तान्न सकियोस् भन्ने रास्वपाको धेय छ । तर उपचुनाव जितेर पनि वाग्लेले उपस्थिति देखाउन नसकेको गुनासो मतदाताको छ । तनहुँ–१ले लामो समयदेखि कांग्रेसलाई समर्थन गर्दै आएको इतिहास छ ।
२०६४ मा माओवादी र २०७४ मा एमालेले जिते पनि अधिकांश चुनाव कांग्रेसकै पक्षमा गएका छन् । राष्ट्रपति पौडेलको राजनीतिक यात्रासँग जोडिएको क्षेत्र भएकाले यहाँको चुनावलाई प्रतीकात्मक अर्थमा पनि हेरिन्छ । अहिलेको प्रतिस्पर्धा केवल दलबीचको मात्र नभई विश्वास र अपेक्षाबीचको संघर्ष पनि हो । कांग्रेसले आफ्नो परम्परागत मत सुरक्षित राख्दै केही अतिरिक्त मत आकर्षित गर्न सके परिणाम बदलिन सक्छ । रास्वपाले एमाले र साना दलका मत पुनः तान्नसके अघिल्लो जित दोहो¥याउने सम्भावना रहन्छ । एमालेले आफ्नो आधार मत मजबुत राख्दै अरूको मत विभाजनको फाइदा लिन खोजिरहेको छ ।
स्थानीय स्तरमा सक्रिय नेकपा उम्मेदवार विद्यानाथ ढकाल वामपन्थी मतको ध्रुवीकरणको मत आफ्नो पक्षमा पार्ने योजनामा छन् ।
नयाँ मतदाता
यसपटक थपिएका नयाँ मतदाताले चुनावको नतिजामा अर्थपूर्ण प्रभाव पार्न सक्छन् । उमेर समूहका आधारमा यहाँ युवा मतदाताको संख्या निर्णायक छ । २६ देखि ४० वर्षका ४४ हजार ५७६ र १८ देखि २५ वर्षका ९ हजार ८१९ गरी करिब ४३ प्रतिशत मतदाता युवा छन् । ४१ देखि ६० वर्षका ४२ हजार ६८७ र ६१ वर्ष माथिका २९ हजार ७७३ मतदाता रहेका छन् ।
चुनावी आँकलनः कसको पल्ला भारी ?
तनहुँ–१ मा यसपटक रास्वपा, कांग्रेस र एमालेबीच कडा टक्कर हुने देखिन्छ । स्वर्णिम वाग्लेले उपनिर्वाचनमा पाएको मतलाई जोगाउन सक्छन् कि कांग्रेसका गोविन्द भट्टराईले आफ्नो ग्राउन्ड वर्कबाट नतिजा उल्ट्याउँछन् भन्ने चासोको विषय छ ।
एमालेकी भगवती न्यौपानेको इन्ट्रीले प्रतिस्पर्धालाई त्रिकोणात्मक बनाउने प्रयास गरेको छ । थपिएका नयाँ मतदाता र युवा वर्गको रोजाइ नै यस क्षेत्रको निर्णायक कडी बन्ने पक्का छ ।
