News 24 Television
चुनावी सभा छाडेर घरदैलो र प्रविधिको प्रयोग

काठमाडौं । निर्वाचनका लागि एक साता मात्रै बाँकी छ । मतदानको मिति नजिकिदैं गर्दा उम्मेदवार र दलका नेताहरुको पनि सक्रियतालाई बढाई रहेका छन् ।  विगतको निर्वाचनको भन्दा यो निर्वाचनमा उम्मेदवारहरुले मत माग्ने, सभा गर्ने परिपार्टीमा समेत परिवर्तन गरेका छन् । 

गत निर्वाचनमा भन्दा यो निर्वाचनमा उम्मेदवारहरुले मत माग्ने तरिका बदलिएको छ ।  विगतका निर्वाचनमा देशका मुख्य मुख्य सहरमा सभा सम्मेलन गर्ने गरेता पनि यो निर्वाचनमा सभा सम्मेलन भन्दा पनि जनताको घर घरमा उम्मेदवार आफै पुग्ने गरेको दृष्यहरु देखिएका छन् । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले यसपटक देशभर चुनावी सभा गरेनन् । 

कांग्रेसले जनकपुरमा एउटा चुनावी सभा गरे पनि एमाले र नेकपाले औपचारिक कुनै चुनावी सभा गरेनन् । रास्व्पाले जनकपुरमा सभा आयोजना गरेपछि रास्वपा बरिष्ठ नेता बालेन शाह रोड शो गर्दै देश दौडाहमा निश्किए । जनकपुरपछि रास्वपाले धनगढी, सुर्खेत र इटहरीमा परिवर्तन उद्घोष सभा नाम दिएर चुनावी सभा गर्यो । देशका सबै सहरमा सभा गर्ने भन्दा पनि कमजोर देखिएका क्षेत्रमा सभा गर्ने र जनमतलाई प्रभावमा रास्वपाको रणनीति देखिन्छ । 

निर्वाचनका लागि कांग्रेसको रणनीति कस्तो ? 

जनकपुरमा मात्रै आम सभा गरेको कांग्रेसले अरु स्थानमा सभा गर्ने कि गर्ने भन्ने बिषयमा अझै कुनै निर्णय गरेको छैन । उम्मेदवार र पार्टीका नेताहरुलाई सभा सम्मेलन गर्ने भन्दा पनि जनतासँग प्रत्यक्ष साक्षात्कार गरेर अगाडि बढ्ने र चुनाव प्रचारप्रसार गर्न सुझाईएको कांग्रेस नेताहरु बताउँछन् । 

जनताको घर घरमा पुग्दा आफ्नो उम्मेदवारलाई जनताले पनि चिन्ने उनीहरुले सोध्ने प्रश्नको समेत सम्बोधन हुने भएकाले यस्तो रणनीति अपनाईएको कांग्रेस नेताहरु बताउँछन् । कांग्रेस सभापति गगन थापा पनि अधिकांश समय सर्लाही ४ मा नै केन्द्रित छन् भने अन्य नेताहरु आ–आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित छन् । 

एमालेको रणनीति, ओलीको तस्विर राखिएन

आसन्न निर्वाचनमा एमालेको चुनावी प्रचारशैली पनि पूर्ण रुपमा बदलिएको छ । रास्वपाजस्तै एमाले पनि डिजिटल चुनावी अभियानमा देखिन थालेको छ । एमालेले पनि कुनै पनि प्रदेशमा चुनावी आमसभाको आयोजना गरेको छैन । 

उम्मेदवारहरु मतदाताको घरदैलो गरि मतदाताको कुरा धैर्यपूर्वक सुनेर प्रतिक्रिया दिइरहेका छन् । अहिले उनीहरुले आफ्नो प्रचार सामाग्रीमा चुनाव चिन्ह र उम्मेदवारहरुको फोटो मात्रै राखेका छन् । चुनावी प्रचार सामग्रीहरुमा पनि ओलीको फोटो नराखी चुनाव चिन्ह र उम्मेदवारको फोटो मात्रै राखिएका छन् । पछिल्लो समय ओली बढी आलोचित भएका कारण पनि उम्मेदवारहरुले ओलीको फोटो राख्न नचाहेको विश्लेषकहरुको बुझाइ छ । 

नेपाली कम्युनिष्ट पार्टीको रणनीति

नेपाली कम्युनिष्ट पार्टीले निर्वाचनको प्रचारमा अहिले युवाहरुलाई बढी प्रयोग गरेको देखिन्छ । उम्मेदवार छनोटदेखि निर्वाचन परिचालनसम्म पनि युवा नेता कार्यकर्तालाई समावेश गरिएको छ । नेकपाले पनि ठूला चुनावी सभाहरुको आयोजना गरेको छैन । नेताहरुले पनि विगतमा चुनावमा दिने अभिब्यक्तिहरु विवादीत हुने गरेकोमा यस पटक अड्कल गरेर मात्रै बोल्ने गरेका छन् । जसले गर्दा विवादमा नमुछियोस् ।  

रास्वपा 

निर्वाचन प्रचार प्रसारमा सबै भन्दा बढी आक्रमक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी लागेको देखिन्छ । पार्टी सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन शाह देश दौडाहामा छन् ।  उम्मेदवारहरुले पनि आफ्नो प्रचारप्रसारमा सेलिब्रेटीदेखि कन्टेन्ट क्रियटर सम्मलाई सक्रिय बनाइ रहेको देखिन्छ । रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा बालेनलाई घोषित रुपमा नै अघि सारेको छ । उम्मेदवारहरुको प्रचार सामग्रीमा पनि रविसँगै बालेनको तस्विर अंकित गरिएका छन् । 

के भन्छन् राजनीतिक बिश्लेषक ? 

जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक गतिविधिमा धेरै परिर्वतन भएको राजनीतिक विश्लेषकहरुको बुझाइ छ । उनीहरुले आन्दोलनपछि दलका उम्मेदवार र दलका नेताहरुले सभा सम्मेलन भन्दा पनि जनताको घर घरमा पुग्ने कार्यलाई प्राथमिकतामा राखेको देखिने राजनीतिक विश्लेषकहरु बताउँछन् । 

डिजिटल प्रविधिको विकाससँगै राजनीतिक दलहरुले प्रविधि र सामाजिक सञ्जालको उपयोग गरिरहेका छन् । सामाजिक सञ्जाल प्लेटफर्म चुनावी प्रचारको उपयुक्त माध्याम बनेको छ । यद्यपी कतिपयले भने एआईको प्रयोग गरि प्रविधिको दुरुपयोग गर्ने गरेको भन्दै आलोचना पनि भइरहेका छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update