News 24 Television
एमालेको लालकिल्लामा बालेन र हर्कको चुनौति

काठमाडौं । नेपालको बहुदलीय राजनीतिक इतिहासमा कोशी प्रदेशलाई लामो समयदेखि एमालेको गढ मानिन्छ । तर यसपटकको चुनावमा त्यो गढ कति सुरक्षित छ ? प्रश्न गम्भीर रूपमा उठ्न थालेको छ । एकातिर एमाले आफ्नो ऐतिहासिक प्रभाव जोगाउने प्रयासमा छ भने अर्कोतर्फ बालेन शाहको लोकप्रियता, हर्क साम्पाङको प्रभाव, पहिचानको राजनीति र दलभित्रको असन्तुष्टिले चुनावी समीकरणलाई निकै जटिल बनाएको छ । 

झापा–५ मा एमाले अध्यक्ष केपी ओली र रास्वपा बरिष्ठ नेता बालेन शाहबीचको प्रतिस्पर्धाले कोशी प्रदेशको निर्वाचन परिणामलाई निकै चासोका साथ हेरिन थालिएको छ । झापा ५ मात्र होइन, कोशी प्रदेश नै कुनै बेला एमालेको लाल किल्ला बनेको थियो । ६४ सालको निर्वाचनमा भने माओवादीले किल्ला जमायो । तर त्यो धेरै समय टिक्न सकेन । त्यसपछि पनि एमालेले कोशी प्रदेशमा राम्रै पकड राख्दै आएको छ । तर अहिले परिस्थिति बदलिएको छ । बदलिएको परिस्थितिमा कोशी प्रदेश होइन, एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्रमै जीत जोगाउँनै समस्या देखिएको छ । 

के नयाँ राजनीतिक शक्तिले कोशीको राजनीतिक नक्सा फेरिने संकेत देखाएको हो ? संसदीय राजनीतिमा केही ठाउँहरु यस्ता हुन्छन् जहाँ चुनाव केवल प्रतिष्पर्धा मात्रै हुँदैन । त्यो शक्ति, प्रतिष्ठा र प्रभावको लडाईँ हुन्छ । अहिलेको निर्वाचनमा कोशी प्रदेशलाई त्यसरी नै हेर्न थालिएको छ । दशकौँदेखि एमालेको बलियो किल्ला मानिएको कोशी यसपटक भने नयाँ चुनौतीहरूको घेरामा परेको छ । 

नेपालको बहुदलीय राजनीतिक इतिहास पल्टाएर हेर्दा कोशी प्रदेशलाई एमालेको मुख्य आधार क्षेत्र मानिन्छ । २०४८ सालको पहिलो संसदीय निर्वाचनदेखि नै एमालेले कोशीमा  बलियो प्रभाव कायम राख्दै आएको छ । 

त्यसबेला देशभर २०५ निर्वाचन क्षेत्र थिए । निर्वाचनमा नेपाली कांग्रेसले ११० सिट जितेर बहुमत प्राप्त गर्यो भने एमाले ६९ सिटसहित प्रमुख प्रतिपक्ष बन्यो । राज्य पुर्नसंरचनापछिको संरचनालाई हेर्दा त्यो बेला अहिलेको कोशी प्रदेशमा पर्ने जिल्लाहरूमा एमालेको प्रभाव बलियो थियो । त्यसबेला यहाँ रहेका ४१ सिटमध्ये एमालेले २७ सिट जितेको थियो । पहिलो शक्ति बनेको कांग्रेस १४ सिटमा सिमित भएको थियो ।  

पजः २०४८ सालको चुनावी परिणाम 

२०५१ सालको निर्वाचनमा पनि एमालेले कोशीमा आफ्नो पकड कायम राख्यो । देशभर एमाले ८८ सिटसहित पहिलो पार्टी बन्दा कोशी क्षेत्रका ३९ मध्ये २३ निर्वाचन क्षेत्रमा आफ्नो झण्डा गाड्न सफल भयो । त्यसबखत त्यो क्षेत्रमा कांग्रेसले १४ र राप्रपाले २ सिट जितेका थिए । 

२०५६ सालको निर्वाचनमा भने परिस्थिति केही फेरियो । एमाले विभाजनको असर कोशीमा पनि देखियो । त्यसबेला कोशीका ३७ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले २० सिट जित्यो । एमाले भने १६ सिटमा सीमित भयो । 

माओवादी उदय र राजनीतिक समीकरण

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनसँगै नेपाली राजनीतिमा ठूलो परिवर्तन आयो । माओवादी शक्तिशाली रूपमा उदायो । देशभरका नर्वाचन क्षेत्रमध्ये माओवादीले १२० सिट जित्यो । कांग्रेस ३७ र एमाले ३३ सिटमा खुम्चिन बाध्य भए । कोशीमा पनि यसको प्रत्यक्ष प्रभाव देखियो । 

कोशीमा माओवादीले २१ सिट जित्दा एमाले ८ सिटमा सिमित हुनुपर्ने स्थिति आयो । तर, २०७० सालको दोस्रो संविधानसभा निर्वाचनपछि एमालेले कोशीमा बलियो पुनरागमन गर्यो । त्यसबखत कोशीका ४१ सिटमध्ये करिब आधा क्षेत्रमा एमालेले जित्यो । 

२०७४ र २०७९ मा पनि कायम प्रभाव

२०७४ र २०७९ को निर्वाचनमा पनि एमालेले कोशीमा आफ्नो प्रभाव कायम राख्न सफल भयो । २०७९ मा कांग्रेस–माओवादी गठबन्धन भएपनि एमालेले त्यहाँका २८ मध्ये १३ सिटमा जित निकाल्दै आफ्नो उपस्थिति कायम राख्यो । 

यसपटक बदलिएको छ समीकरण 

तर यसपटकको निर्वाचनको समीकरण भने विगतभन्दा फरक छ । उम्मेदवार चयनलाई लिएर ताप्लेजुङ, सोलुखुम्बु, मोरङ, सुनसरी लगायतका क्षेत्रमा वरिष्ठ नेताहरूलाई टिकट नदिएको भन्दै एमालेमा आन्तरिक विवाद ब्याप्त छ । 

ताप्लेजुङमा दुई पटक चुनाव जितेका नेता योगेश भट्टराईलाई टिकट नदिएर युवा संघका अध्यक्ष क्षितिज थेवेलाई उम्मेदवार बनाइएको छ । ओखलढुङ्गामा वरिष्ठ नेताहरूलाई टिकट नदिएपछि सिंगो जिल्ला कमिटी नेकपामा प्रवेश गर्यो । 

पहिचान विरोधी ट्याग 

कोशीमा एमालेको जनमत बढ्नुमा नेपालको कम्यनिस्ट आन्दोलनको पहलमा पूर्वका नेताहरुको सक्रियता पनि हो । अरुण तरेर नाना तमोस तरेर भन्ने गितले नै वामपन्थी रुझान पूर्वमा कस्तो थियो भन्ने रुपरेखालाई प्रष्ट पार्छ । तर, कोशीमा एमालेलाई अप्ठ्यारो पार्ने अर्को एउटा बिषय भनेको पहिचान विरोधी ट्याग पनि हो । प्रदेशको नामाकरण गर्ने बेला पहिचानवादीहरुको विरोधकै बाबजुद एमालेले जबरजस्ती प्रदेशको नाम कोशी राखेको आरोप छ । त्यसै बिषयलाई लिएर एमाले नेता र पहिचानवादी बीच एकताका वाकयुद्ध नै चलेको थियो । 

पहिचानको मुद्दाले कोशी महिनौँ दिनसम्म पनि शान्त बन्न सकेको थिएन । एमाले नेता योगेश भट्टराई आफ्नै गृहजिल्लामा झण्डै ३ घण्टा ट्वाइलेटमा थुनिनु परेको थियो । त्यसलगतै लिम्बु समुदायको आस्थाको केन्द्र मुकुम्लुङ पाथीभरा देवी दर्शन केवलकार योजनाले पनि एमालेलाई त्यस क्षेत्रमा ब्याक फायर गरेको छ ।

पाथिभरालाई ब्यापारिक केन्द्र बनाउन खोजेको, लिम्बु समुदायको आस्थामा प्रहार गरेको, स्थानियको रोजिरोटि खोस्ने प्रयत्न गरेको जस्ता आरोपहरु एमालेमाथि छ । यस्तै तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सप्तकोशीमा स्टिमर चलाउन किराँत समूदायको आस्थाको केन्द्र खुवालुङ ढुंगा हटाउने बिषय कोट्टाए । जसले किराँत समूदायमा ठूलो असर गर्यो । त्यसले पनि एमालेलाई ठूलो असर गर्ने देखिन्छ । 

बालेन र हर्कको चुनौती

यसपटकको चुनावमा एमालेका लागि सबैभन्दा ठूलो चुनौती भनेको राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ देखिन्छन् । बालेन एमाले अध्यक्ष ओलीविरुद्ध झापा–५ बाट भिडिरहेका छन् तर सक्रियता र प्रभाव कोशी प्रदेशभर नै देखिन्छ । यस्तै, धरानको मेयरबाट संसदीय राजनीतिमा प्रवेश गरेका हर्क साम्पाङ राईले स्थापना गरेको श्रम संस्कृति पार्टीले पनि कोशीमा राम्रो प्रभाव पार्ने देखिन्छ । विशेष गरी सुनसरी, मोरङ र भोजपुर लगायतका क्षेत्रमा हर्क साम्पाङको पार्टीको राम्रो जनाधार रहेको विश्लेषण भइरहेको छ । 

कसको कति दाबी ?

यसपटकको चुनावमा कोशीमा एमाले, कांग्रेस, नेकपा, रास्वपा र श्रम संस्कृतिबीच नै कडा टक्कर हुने देखिन्छ । अघिल्लो निर्वाचनमा भन्दा तुलनात्मक रुपमा केही कमजोर देखिएपनि आफ्नो १४ सिट सुनिश्चित रहेको एमालेको दाबी छ । यता, कोशीका निकै कमजोर मानिएको रास्वपाले फेरीएको राजनीतिक परिवेशलाई आधार मानेर कम्तिमा १९ सिट आफुले जित्ने दाबी गरेको छ । 

कांग्रेसले पनि सुनसरी, मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, झापा १ र ३, ओखलढुङ्गा, तेह्रथुम गरि १० सिट जति जित्ने दाबी गरेको छ । श्रम संस्कृति र नेकपाको पनि आ–आफ्नै दाबीहरु छन् ।

यसरी हेर्दा यसपटकको निर्वाचन कोशी प्रदेशमा निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ । एकातिर एमाले आफ्नो ऐतिहासिक गढ जोगाउने प्रयासमा छ भने अर्कोतर्फ बालेन शाहको लोकप्रियता तथा रास्वपाको लहर, हर्क साम्पाङको प्रभाव र अन्य दलहरूको चुनौतीले चुनावी समीकरण झन् रोचक बन्ने देखिन्छ । फागुन २१ को मतपरिणामले एमालेको गढ जोगिन्छ कि नयाँ राजनीतिक शक्तिले कोशीको राजनीतिक नक्शाा बदल्छ भन्ने प्रश्नको जवाफ दिनेछ । 

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update